आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

सुन तस्करसँग सुन गाल्ने साना–ठुला ७ वटा मेसिन

शुक्रबार, १५ भदौ २०८०, २० : १५
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ परेकाहरुसँग ७ वटा सुन गाल्ने मेसिन भेटिएको छ । पक्राउ गरिएका चिनियाँ, नेपाली र भारतीय नागरिकको बयानका आधारमा अहिलेसम्म ७ वटा सुन गाल्ने मेसिन फेला परेको केन्द्रीय अनुसन्धान ब्यूरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

ती अधिकृतका अनुसार ५ वटा मेसिन ठुलो आकारका र दुई वटा मेसिन सानो आकारको फेला परेको छ । ठुलो मेसिनले ५ केजी सुन एकै पटकमा गाल्छ । सानो मेसिनले दुई केजी सुन एक पटकमा गाल्ने आरोपितहरुले बयान दिएका छन् ।

बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरोले बाँसबारी र चावहिलबाट दुई वटा साना आकारका मेसिन बरामद गरेको थियो । ती साना मेसिनमार्फत एक पटकमा दुई केजी सुन गाल्न सकिने अनुसन्धान अधिकृतहरु बताउँछन् ।

सुन प्रकरणमा संलग्नहरुले ‘संगठित र व्यवस्थित’ रुपमा सुन ल्याएर काठमाडौँमा गलाउने र त्यसपछि बिस्कुट आकारको बनाएर भारत पठाउने गरेको सीआईबीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

राजस्व अनुसन्धान विभागले १४ साउनमा टोखास्थित सुन ‘रिफ्रेमिङ’ कारखानामा छापा मारेको थियो । सो कारखानाबाट ठुलो आकारको सुन गाल्ने मेसिन बरामद गरिएको थियो । भारतीय नागरिक थाप्तेन छिरिङको बयानको आधारमा टोखामा कारखाना भेटिएको राजस्व अनुसन्धान विभागका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

विभागले सुन पगाल्ने रसायन पनि बरामद गरेको थियो । गाल्ने मेसिन र रसायन विभागले सीआईबीको जिम्मा लगाएको छ ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको अनुसन्धान गर्ने जिम्मेवारी साउन २१ मा सीआईबीलाई सुम्पिएको थियो । हङकङबाट तस्करी गरेर ल्याएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा सुन बरामद गरेको थियो ।

सुन प्रकरणमा संलग्नहरु विरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोले ‘संगठित अपराध’ मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । असार ३० मा हङकङबाट काठमाडौँ ल्याइएको सो सुन ‘रेडी ट्रेड प्रालि’ ले मगाएको हो ।

सुन तस्करीमा संलग्न आरोपमा हालसम्म २५ जना पक्राउ परेका छन् ।

हालसम्म पक्राउ : राम कुमार भुजेल, दिलिप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मी, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, गणेश पौडेल र किशोर बस्नेत ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप