आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी विशेष रुपान्तरण अभियान : ललितपुरमा सरसफाइ कार्यक्रम आयोजना

शनिबार, १६ भदौ २०८०, १० : ३४
शनिबार, १६ भदौ २०८०

ललितपुर । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत ललितपुर महानगर वडा नम्बर २६ चिबहाल सुनाकोठीमा उद्घाटन तथा वडा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ । पार्टीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले अभियानको उद्घाटन गरेका हुन् । उद्घाटनसँगै शर्मा वडा सरसफाइ कार्यक्रममा सहभागी भएका छन् । 

नेकपा (माओवादी केन्द्र) ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु गरेको छ ।  पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गरेका हुन् ।  पार्टी अध्यक्ष दाहालले अभियान उद्घाटन गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्नेछ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ । 

माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तर जिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ । उनीहरुलाई अस्थायी बसोबासस्थलमा समेत कार्य क्षेत्र तोकी पठाइसकिएको छ । माओवादीले अध्यक्षसहित २२ केन्द्रीय पदाधिकारीलाई तीनमहिने अभियानको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकेको छ ।

माओवादीका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहालले काठमाडौँको चन्द्रागिरि–२ घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ललितपुरको ललितपुर महानगरपालिका १८ हरिसिद्धी, उपाध्यक्षत्रय कृष्णबहादुर महराले रोल्पाको सुनछहारी गाउँपालिका, अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका र पम्फा भुसालले ललितपुर महमानगरपालिका–२२ मा अभियानको नेतृत्व गर्नेछन् ।

 महासचिव देवप्रसाद गुरुङले लमजुङको सुन्दरबजार नगरपालिका–८ भोटेवडार, उपमहासचिव गिरिराजमणि पोखरेलले काठमाडौँको गोकर्णेश्वर नगरपालिका, वर्षमान पुनले काठमाडौँको गोङ्गबु, हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई नगरपालिका, जनार्दन शर्माले काठमाडौँको चन्द्रागिरि नगरपालिका, मात्रिकाप्रसाद यादवले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, सचिव दिनानाथ शर्माले बागलुङको बागलुङ नगरपालिका, चक्रपाणि खनालले मोरङको विराटनगर महानगरपालिकामा अभियानको नेृतत्व गर्दै छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप