आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

आइतबार, १७ भदौ २०८०, १२ : ४२
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ पाँच किलोस्थित सडकमा बा.१५ च ९३७० नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक काठमाडौँ नागार्जुन नगरपालिका-४ घर भएका ३६ वर्षीय उत्तम महर्जन र स्कार्पियोमा सवार बाह्रबिसे नगरपालिका-७ घुम्थाङ बस्ने ४१ वर्षीय बल बहादुर खत्री रहेका छन् । गम्भीर घाइते भएका उनीहरूको सिन्धु सदाबाहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका स्कार्पियोमा सवार ४ जनालाई उपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको छ । 

उता जुम्लाको कनकासुन्दरी गाउँपालिका-४ स्थित सडकमा भे.१ ज १०९९ नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा जीपमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । उनीहरूको हाल सनाखत हुन सकेको  छैन । 

यता नुवाकोटको बिदुर नगरपालिका-१० बेत्रावतीस्थित उत्तरगया हार्डवयरको बालुवा डिपोमा बा.४ ख ४३४२ नम्बरको टिपर बालुवा लोड गर्दा ब्याक गर्ने क्रममा टिपरको टायरले किच्चिएर रसुवा उत्तरगया गाउँपालिका-१ गोगनी घर भएका ३७ वर्षीय कामी तामाङको शनिबार दिउँसो मृत्यु भएको छ । टिपरको टायरले किचिँदा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशूलीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस्तै नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका-२ नारायणी पुलस्थित सडकमा बाग्मती प्रदेश ०६-०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा चालक चितवन भरतपुर महानगरपालिका-२८ बस्ने २८ वर्षीय नारायण ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप