अल्फा बिटाका मालिक द्विराज शर्माको जीवन : ‘प्लिज’ मलाई सकेसम्म पशुपति नलगियोस्
‘नेपाल थाइल्यान्डजत्तिको भइदिए पुग्छ,’ सिंगापुरबाट ‘मार्केटिङ’ र ‘पब्लिक रिलेसन’ अध्ययन पूरा गरेका द्विराज शर्मा सिवाकोटीको मान्यता छ, ‘नेतृत्वचाहिँ सिंगापुरको जस्तो हुनुपर्छ ।’
व्यवसायी जहिल्यै अवसर खोजिरहेका हुन्छन् । उनीहरूलाई बाँध्ने नीति नियम बलियो हुनुपर्छ । नेता व्यवसायीसँग बिक्री हुनुहुँदैन । तर, नेता जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने अल्फा बिटा ग्रुप कार्यकारी अध्यक्ष द्विराज शर्मा सिवाकोटीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
म ‘क्यालोरी कन्सियस’ छु । जिम गएर शारीरिक अभ्यास गर्नुभन्दा खानेकुरामा सचेत हुनु फलदायी हुन्छ । त्यसैले ‘अर्गानिक ग्रीन भेजिटेबल’ पहिलो रोजाइमा पर्छ । नेपाली खाना दालभात पनि मन पर्छ । बेलुका कम खान्छु । खाजाका रूपमा दूध वा दहीसँग म्युज्ली खाने गरेको छु । फलफूल खाइन्छ । तर, काठमाडौंमा पाइने फलफूलको गुणस्तर ग्यारेन्टी छैन । इन्डियन खाना स्वादिलो भए पनि स्वास्थ्यलाई फाइदा गर्दैन । म चाइनिज र जापानी खाना खान रुचाउँछु ।
सकेसम्म चिल्लो र गुलियो खानेकुरा खान नपरे हुन्थ्योजस्तो लाग्छ । काठमाडौं उपत्यकाका सबै रेष्टुरेन्ट जान मन पर्छ । ‘फुड टेस्ट’ गरिरहन मन पर्छ । के–कस्ता रेष्टुरेन्ट खुलेको होला भनेर हेर्न मन लाग्छ । पाककलामा कमजोर छु ।
मेरो पोसाक
‘स्मार्ट’ भएर हिँड्न मन लाग्छ । ‘स्मार्ट क्याजुयल ड्रेस’ रोजाइमा पर्छन् । सर्टचाहिँ सेतो मन पर्छ । रेडिमेड कपडा बढी प्रयोग गर्दै आएको छु । कपडाको ब्रान्डप्रति सचेत छु । स्वास्थ्य बिगार्ने कपडा कहिल्यै लगाउँदिनँ । आर्थिक अवस्था ठिकै भएकाले खान, लगाउन र सुत्ने चीजमा प्राथमिकता दिनुपर्छ । कपडा नसिलाएको धेरै भइसकेको छ, पहिले सिलाउँदा रेमन्ड जान्थें ।
मेरो फिटनेस
जिम नियमित गर्छु । योगा गर्ने सोच बनाएको छु । सातामा दुई दिन ट्रेडमिलमा दौडिन्छु । साउना बस्छु ।
मेरो अध्ययन
संसारका सफल व्यक्तित्वका जीवनी पढ्न जाँगर चल्छ । राम्रा लेखकले लेखेका ‘मेनेजमेन्ट’ र ‘मार्केटिङ’ का किताब त्यत्तिकै पढ्छु । वसन्त चौधरी, रवीन्द्र अधिकारीले लेख्नुभएको किताब पढेको छु । मेरो निजी पुस्तकालयमा एक हजारजति किताब होलान् । सालिन्दा २० हजारको किताब किन्ने गरेको छु ।
मेरो घुमफिर
धेरै घुमिसकेकाले घुम्ने रहर छैन । कामविशेषले मात्रै घुमिन्छ । हाइकिङ, ट्रेकिङ जान मन लाग्छ । मानिस नपुगेको ठाउँ (अफ्रिकाको जंगल) घुम्ने रहर छ । अमेरिकाका गाउँगाउँ पुगेर त्यहाँको विकास हेर्न जाँगर चल्छ । नेपालका ४० जिल्ला पुगेको छु । ४० देश घुमेको छु । घुमेकामध्ये सिंगापुर, दुबई र अमेरिकाको न्युयोर्क असाध्यै मन पर्यो । नेपालमा सोलुखुम्बुको नाम्चे, लुक्ला मन पर्यो । साइबेरिया र अन्टार्टिका घुम्न असाध्यै मन छ ।
मेरो फुर्सद
व्यवसायी भएकाले व्यस्त नै छु । दौडधुप भएकाले थकाइ लाग्ने नै भयो । अत्यधिक थकाइ लाग्दा सुत्ने गरेको छु । तर, मोबाइल ‘स्वीचअफ’ गरेरै आराम गर्ने बानी छैन । फुर्सद भइहालेमा घरपरिवारसँग घुम्न जाने गर्छु । घरपरिवारलाई सक्दो घुमाउँदै आएको छु । घरपरिवारलाई राम्रै समय दिएको छु । वर्षमा एक÷दुई महिना परिवारसहित विदेश घुम्न जान्छु । परिवारसहित घुम्ने, खाने र चलचित्र हेर्ने गरेको छु ।
मेरो खेलकुद
मलाई फुटबल मन पर्छ । क्रिकेट र टेबलटेनिस पनि मन पर्छ । सानोछँदा फुटबल खेलेको थिएँ । हिजोआज पनि फुटसल जान्छु । बक्सिङ मन पर्दैन । नेपालको मनाङ–मस्र्याङ्दी मन पर्छ भने विदेशीमा रियल म्याड्रिडलगायत मन पर्छ ।
मेरो मोबाइल
दुई मोबाइल सेट प्रयोग गर्छु । दुवै आइफोन हुन् । एउटा आइफोन टेन अर्को सिक्स प्लस हो । मोबाइल फेरीफेरी बोक्ने गर्छु । आवश्यक पनि छ । नयाँ मोबाइल आउनसाथ किन्ने गरेको छु । किनकि ‘फिचर्स’ पनि नयाँ हुन्छ । आफूलाई ‘अपडेड’ गराउन त्यत्तिकै सहज हुन्छ । मोबाइलका एप्लिकेसन्समध्ये फेसबुक, ट्वीटरलगायत प्रयोग गर्छु ।
मेरो टीभी
घरमा दुई टेलिभिजन सेट छ । सामसुङको ७० इन्चको एलईडी हो भने सोनीको ४६ इन्चको छ । टीभीमा समाचार, ‘करेन्ट अफियर’ र ‘बिजनेस’ हेर्छु ।
मेरो चलचित्र
हलसम्मै पुगेर पछिल्लो समय चलचित्र ‘चन्द्रमुखी’ (चलचित्रको नाम कन्फ्युज) हेरेको थिएँ । घरमै बसेर नेट फिक्सबाट चलचित्र हेरिन्छ । यसबाट संसारका उत्कृष्ट चलचित्र हेर्न सकिन्छ । हेरेकामध्ये ब्रेभ हार्ट, हिन्दी सिन्डी मन पर्यो । ऋतिक रोशन, दीपिका पादुकोण, राजेश हमाल, प्रियंका कार्कीको अभिनय जीवन्त लाग्छ ।
मेरो रोग
स्वस्थ छु । अहिलेसम्म चारपटक ‘होलबडी चेकअप’ गराएको छु । शारीरिक अभ्यास, खानपानले स्वस्थ रहन सकिँदोरहेछ ।
मेरो भाषणशैली
व्यवसायी भएकाले व्यवसायसम्बन्धी भाषण गर्नैपर्छ । व्यवसायसँग सम्बन्धित भाषण चित्तबुझ्दो गर्न सक्छु । त्यसबाहेकको पनि कामचलाउ गर्न सकिन्छ । भाषण गरेकै आधारमा एकपटक विवादमा तानिएको थिएँ । मैले भन्न खोजेको विषय सुन्नेले अर्कै अर्थमा बुझिदिँदा त्यस्तो भएको थियो । भाषण गर्नअघि तयारी गर्छु ।
मेरो मापसे
मादक पदार्थअन्तर्गत ह्वीस्की र वाइन खान्छु । होमबार पनि छ । सामान्यतः दुई पेगसम्म लिन्छु ।
मेरो संगीत
गीत–संगीत असाध्यै सुन्छु । मन पर्छ । लतामंगेशकर, नारायणगोपाललगायत मन पर्छ । गाउनचाहिँ आउँदैन तर गुनगुनाउँछु ।
मेरो भूल
मानिस हो, जान–अन्जान जोकोहीबाट गल्ती हुन्छ । तर, पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन । गल्ती नगरीसमेत सजाय पाएको छु । सानो छँदा मैले गरेको गल्ती ढाकछोप गर्दा भाइले बुवाबाट सजाय पाएका थिए । सानो छँदा कुखुरा चोर्न गयौं । पोल खुल्यो । मैले होइन भन्दा बुवाले भाइलाई पिट्नुभएको थियो ।
मेरो घर
म बस्दै आएको घर बनेकै किनेको हुँ । आफ्नै आर्जन र बैंकको सहायताले घर बनाए ।
मेरो राशी
मेरो राशी मीन हो । ग्रहदशा कमै हेराइन्छ । केही वर्षअघि श्रीमतीको अनुरोधमा ग्रहशान्ति गराइएको थियो । ग्रह नक्षत्रको फलप्रति त्यति विश्वास लाग्दैन ।
मेरो सौन्दर्यचेत
कपालमा जेल लगाउँछु । कहिलेकाहीं नरिवलको तेल लगाउँछु । वर्षमा एकपटक फेसियल गर्छु । अनुहारमा हल्का क्रिम लगाउँछु । सातामा पाँच दिन साउना बस्छु । तीन महिनामा एकपटक बडी मसाज गराउँछु ।
मेरो प्रेम
हामीले प्रेमविवाह गरेका हौं । मैले नै प्रेम प्रस्ताव राखेको हुँ ।
मेरो सपना
नेपाल थाइल्यान्डजत्तिको भइदिए पुग्छ । नेतृत्वचाहिँ सिंगापुरको जस्तो हुनुपर्छ । व्यवसायी जहिल्यै अवसर खोजिरहेका हुन्छन् । उनीहरूलाई बाँध्ने नीति नियम बलियो हुनुपर्छ । नेता व्यवसायीसँग बिक्री हुनुहुँदैन । नेता जनताप्रति उत्तरदायी हुनुपर्छ ।
व्यवसायी भए पनि अवसर पाए राजनीतिमार्फत देशको सेवा गर्न पछि पर्ने छैन । मेरा छोराछोरीमध्ये कोही न कोही राजनीतिमा लागून् भन्ने लाग्छ ।
मैले विदेशमै पढें । धेरै देश हेरेको, घुमेको छु । विदेशमै ‘सेटल’ भएँ भने भारत वा चीनभन्दा पर जाने छैन ।
मेरो मृत्यु
मृत्यु स्वाभाविक प्रक्रिया हो । म भारतको आसाममा हुर्केको हुँ । वर्षायाम थियो । माछा मार्न जाँदा साथीले ठेलेपछि कल्भर्टमा परें । दुई मिनेटजति कलभर्टभित्रै बग्दैबग्दै निस्कें । मृत्यु स्वाभाविक होस् लाग्नु अस्वाभाविक होइन । मानिस मरेपछि काठमाडौंमा व्यवस्थित राख्ने ठाउँ छैन । तसर्थ, प्रदूषण बढ्दै गएको छ । क्रिश्चियनहरू मर्नअघि हैसियतअनुसार कास्केट किन्छन् । हिन्दु धर्मले मान्यता दिए मरेपछि क्रिश्चियनहरूको जस्तो आफूलाई पनि कास्केटमा राख्न पाए हुन्थ्यो भन्ने लागेको छ । मैले श्रीमतीलाई भनिसकेको छु, मलाई पशुुपतिचाहिँ नलगियोस् ।