आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभाको काम व्यवस्थित गर्न कर्मचारीसँग कार्यसम्पादन सम्झौता

आइतबार, १७ भदौ २०८०, २० : १३
आइतबार, १७ भदौ २०८०

मकवानपुर । बागमती प्रदेशसभा सचिवालयले मातहतका कर्मचारीहरुसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । आइतबार प्रदेशसभाका सभामुख भुवन कुमार पाठक, उपसभामुख अप्सरा चापागाईं, प्रदेशसभाका सचिव कृष्णहरी खड्काको उपस्थितिमा प्रदेशसभा सचिवालयका सचिव चन्द्रप्रसाद लुइँटेलले कर्मचारीहरुसँग कार्य सम्पादन करार सम्झौता गरेका हुन् ।

प्रदेशसभा सचिवालयको कार्यक्षेत्र बमोजिम सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा (१९) र सोको नियमावली तथा प्रदेश निजामती ऐन २०७९ को दफा (६) अनुसार कार्य सम्पादन सम्झौता गरिएको हो ।

प्रदेशसभा सचिवालयको काम कारबाहीलाई थप व्यवस्थित बनाउन र मातहतका कर्मचारीहरुलाई जिम्मेवार बनाउन कार्य सम्पादन करार सम्झौता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिव लुइँटेलले प्रदेशसभा सचिवालयको विभिन्न महाशाखा तथा शाखाहरुमा कार्यरत कर्मचारीहरुसँग कार्य जिम्मेवारी, कार्य तालिकासहित कार्य सम्पादन करार सम्झौता गरेका छन् ।

कार्य सम्पादन करार सम्झौता अनुसार कर्मचारीहरुले प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा सचिवालयको क्षेत्राधिकारमा उल्लेख भएका कार्यक्रमहरुको कार्यान्वयन गर्ने, सचिवालयको संस्थागत सुदृढीकरण गरी प्रदेशसभा सञ्चालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन भूमिका खेल्ने जनाइएको छ ।

सम्झौतामा महाशाखा अन्तर्गतका कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कन गर्ने र पृष्ठपोषण दिने लगायतका विषयहरु समावेश छ ।

उक्त सम्झौता अनुसार कर्मचारीहरुले कार्य सम्पादन गर्दा सचिवालयले निर्धारण गरेको सूचकलाई आधार बनाउनु पर्नेछ । बागमती प्रदेशसभा र स्थानीय तहबिच कानुन कार्यान्वयनका सम्बन्धमा अन्तरक्रिया, युवाहरुलाई संसदीय अभ्यास सम्बन्धी कार्यक्रम सञ्चालन, सभामुख र उपसभामुखको सम्मेलन सञ्चालन, व्यवस्थापन, समिति सञ्चालन र समितिमा विधेयक छलफलमा संलग्न पदाधिकारीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्ने कार्य गर्ने लगायतका सूचकहरु समावेश गरिएको छ ।

शाखा अनुसार सचिवालयले फरक फरक सूचकहरु निर्धारण गरी सोही अनुसार कर्मचारीहरुसँग कार्य सम्पादन करार सम्झौता गरेको हो । करार सम्झौता अनुसार निर्धारित कार्यक्रमहरुको मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक प्रगति विवरण समेत तयार गरी पेस गर्न सम्बन्धित कर्मचारीलाई भनिएको छ ।

प्रदेशसभा सचिवालयका कर्मचारीसँग कार्य सम्पादन सम्झौता गरे पनि पदाधिकारीसँग भने करार सम्झौता भएको छैन । प्रदेशसभाका सचिव खड्काले पनि कार्य सम्पादन सम्झौता गरेका छैनन् ।

प्रदेशसभा सचिवालयमा विभिन्न ३५ कर्मचारीको दरबन्दी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप