आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्यान्सेलो र फेलिक्सको ‘डेब्यू’ खेलमा बार्सिलोनाको संघर्षपूर्ण जित

सोमबार, १८ भदौ २०८०, १० : ३९
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको आइतबार राति खेलिएको खेलमा बार्सिलोनाले संघर्षपूर्ण जित हासिल गरेको छ । बार्सिलोनाले ओसासुनालाई उसैको मैदानमा २—१ गोलले हराएको हो । जितसँगै जारी सिजनको ला लिगामा बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । 

ओसासुनाविरुद्घ बार्सिलोनाका दुई खेलाडीले ‘डेब्यू’ गरेका थिए । २९ वर्षीय पोर्चुगिज खेलाडीले बार्सिलोनाका लागि पहिलो खेल खेले । यसका अतिरिक्त पोर्चुगलकै २३ वर्षीय स्ट्राइकरले पनि उक्त खेलमा ‘डेब्यू’ गरेका थिए । यी दुवै खेलाडी यसै सिजन ऋणमा बार्सिलोनामा आबद्ध भएका हुन् । 

बार्सिलोनाले दुवै हाफमा एक—एक गोल गरेको थियो । पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका लागि युलेस कुन्डेले पहिलो गोल गरेका थिए । ७६औं मिनेटमा ओसासुनाका एजाक्वेल एभिलाले जवाफी गोल गरेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । 

खेल संघर्षपूर्ण रुपमा अघि बढिरहँदा ८४औं मिनेटमा ओसासुनाका एलेज्यान्ड्रो क्याटेना रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसलगत्तै रोबर्ट लेवान्डोवस्कीले निणर्ायक गोल गर्दै बार्सिलोनालाई विजयी बनाएका थिए । 

चार खेलबाट १० अंक बटुल्दै बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा छ । बार्सिलोनाले तीन खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको छ । चारवटै खेलमा विजयी भएको रियल म्याड्रिड १२ अंकसहित पहिलो तथा तीन खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको जिरोना १० अंकसहित तेस्रो स्थानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप