सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

टी–२० महिला विश्वकप छनोट : लगातार चौथो जितसँगै नेपाल सेमिफाइनलमा

सोमबार, १८ भदौ २०८०, ११ : ५१
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । आईसीसी टी– २० महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले लगातार चौथो जित हासिल गरेको छ । लगातार चौथो जितसँगै नेपाली टोली मलेसियामा जारी उक्त प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणमा आफ्नो एक खेल खेल्न बाँकी रहँदै नेपाल सेमिफाइनलमा पुगेको हो । 

नेपालले सोमबार खेलिएको आफ्नो चौथो खेलमा कतारलाई नौ विकेटले पराजित गर्‍यो । त्यसअघि नेपालले आफ्नो पहिलो खेलमा आयोजक मलेसियालाई पाँच रनले हराएको थियो । नेपालले दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।

तेस्रो खेलमा नेपालले बहराइनलाई तीन विकेटले पराजित गरेको थियो ।  कतारविरुद्दकाे खेलमा टस जिती नेपालले पहिले बलिङ गर्ने निणर्य लिएको थियो । पहिलो ब्याटिङमा ओर्लिएको कतारले निर्धारित ओभरमा सात विकेट गुमाएर ७४ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १०.३ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । 

नेपाललाई सजिलो जित दिलाउन ओपनर काजल श्रेष्ठले ३२ रनको योगदान गरिन् । उनले २८ बलको सामना गरी चार चौका पनि हिर्काइन् । अर्की ओपनर सीता रानामगरले पनि २३ बलको सामना गरी अवितिज १७ रन बनाइन् ।  इन्दू बर्माले टोलीको जितमा अविजित २० रनको योगदान गरिन् । उनले केवल १२ बलको सामना गरी तीन चौका पनि हिर्काएकी थिइन् । नेपालले अतिरिक्त रुपमा ६ रन पाएको थियो । नेपालको एकमात्र विकेट कतारकी बलर सबिजा पानायानले लिइन् ।

त्यसअघि पहिलो ब्याटिङ गरेको कतारका लागि साची ढाडवलले सर्वाधिक २१ रन बनाएकी थिइन् । ओपनर एलिना खानले १५ रन बनाइन् । एन्जेलिना मारेले अविजित १४ रन जोडिन् । कप्तान आयषाले टोलीको खातामा १० रन थपिन ।  नेपाली टोलीकी बलर इन्दु बर्मा एक्लैले तीन विकेट लिइन् । उनले चार ओभरमा केवल १० रन खर्चिएकी थिइन् । कविता जोशी र पूजा महतोले पनि एक—एक विकेट हात पारे । नेपालले समूहगत चरणको अन्तिम खेल संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्नेछ । 

प्रतियोगिताको समूह ‘बी’ मा भने चीन, हङ्कङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन् । दुबै समूहको शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले टीट्वान्टी महिला विश्वकपका लागि विश्वस्तरीय छनोट प्रतियोगिता खेल्न पाउने छन् । टीट्वान्टी महिला विश्वकप सन् २०२४ मा बंगलादेशमा आयोजना हुँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप