मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

८० विपन्न  परिवारलाई घर हस्तान्तरण

मङ्गलबार, १९ भदौ २०८०, ०८ : ४४
मङ्गलबार, १९ भदौ २०८०

इनरुवा । सुनसरी दुहबी नगरपालिकाले दलित, सीमान्तकृत र अतिविपन्न  समुदायका लागि बनाएको घर हस्तान्तरण गरेको छ । नगरपालिकाले दुई बिघा दुई कट्ठा क्षेत्रफलमा सात करोडको लगानीमा निर्माण गरेको बस्तीमा ८० परिवार बस्नेछन् । 

दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले ‘नगरप्रमुख आवास योजना’अन्तर्गत दुहबी- ११ तनबुनामा निर्माण गरिएका घर सोमबार हस्तान्तरण गरिएको बताए । उनका अनुसार साढे चार धुर क्षेत्रफलमा निर्माण गरिएको प्रत्येक घरमा शौचालयसहित खानेपानी, बिजुली जडान गरिएका छन् । आवासीय बस्तीमा विवाह, व्रतबन्धलगायत विभिन्न उत्सवका लागि सामुदायिक भवनको समेत व्यवस्था गरिएको छ ।

घरका लागि नगरपालिकामा परेको दुई सय बढी आवेदनबाट छनोट भएका ८० घरपरिवारलाई घर हस्तान्तरण गर्न सकिएको र बाँकी परिवारलाई पनि चाँडै घर निर्माण गरी हस्तान्तरण गरिने योजना रहेको नगरप्रमुख गच्छदारले जानकारी दिए ।
 
नगरपालिकाले घर पाएका परिवारका बालबच्चाको शिक्षाका लागि नजिकैको विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइने र अभिभावकलाई पनि सीपमूलक तालिम प्रदान गरी स्वरोजगारको व्यवस्था मिलाउने जनाएको छ ।

आवासीय बस्तीको नियमित अनुगमन गरिने र घर ओगटेर अन्यत्र बसोबास गरे कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप