सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीज्यू, धेरै बोले कि मन्त्रीहरु !

आइतबार, ११ चैत २०७४, १५ : ४४
आइतबार, ११ चैत २०७४

काठमाडौं–गत फागुन २७ गते व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘झण्डै दुई तिहाइ मत दिएर सरकारको हात बलियो बनेको छ । अब भ्रष्टाचार, अनियमिता गर्नेहरूविरुद्ध कठोर कदम चाल्न चाल्नुपर्छ । जनताले भाषण होइन, एक्सन खोजेका छन् ।’

अध्यक्ष प्रचण्डको यो अभिव्यक्तिको सार थियो, ‘अब सरकारले कुरा मात्रै हैन, काम नै गरेर देखाउनुपर्छ । जनताले भाषणमा विस्वास गर्दैनन् ।’ सरकारका मन्त्रीहरू र प्रधानमन्त्रीलक्षित प्रचण्डको यो भनाइ विपरीत पछिल्ला दिनमा सरकारका मन्त्रीहरूको कृयाकलाप भने भाषणमै केन्द्रित देखिन्छन् ।

त्यसपछि प्रधानमन्त्री केपी ओलीले एक पटक मन्त्रीहरूलाई निर्देशन दिए, एक पटक मन्त्री र सचिवलाई संयुक्त रूपमा । यी दुवै निर्देशनमा प्रधानमन्त्रीले कम बोल्न र धेरै काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।

कार्यभार सम्हालेको एक महिना पुगेको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई कडा चेतावनीसहित निर्देशन दिएका थिए । उनले मन्त्री र सचिवहरूलाई ‘एस्क्युज’को छुटसम्म नदिने चेतावनी दिएका थिए ।  

‘मन्त्री नियुक्त हुने वित्तिकै परिवारका सदस्यहरू चलमलाउने कुरा धेरै सुनिन्छन् । त्यस्ता व्यवहार बन्द गर्नुहोस् । तपाईंका काममाथि अनुगमन हुन्छ । त्यसमाथि अर्को अनुगमन हुन्छ । मैले पनि अनुगमन गरिरहेको हुन्छु । केही तलमाथि भेटिए ऐय्या आत्थु भन्ने मौका पाउनुहुने छैन’ ओलीको निर्देशनमा थियो, ‘हामीले अब पनि परम्परागत मानसिकता नै राखेर काम गर्यौं भने देश बन्दैन । किनकि यो असाधारण दायित्व बोकेको सरकार हो । हरेक क्षेत्रमा उपलब्धि हासिल गर्नका लागि मन्त्रालय मन्त्रालयकाबीच समन्वयात्मक ढङ्गले काम गर्नुहोस् । कसैको दबाब वा प्रभावमा कोही पनि नपर्नुहोस् र नियम र कानुन बमोजिम काम गरेर जनतालाई छिटो छरितो सेवा दिनुहोस् । हरेक कामका लागि लक्ष्य बनाउनुहोस्, त्यस अनुसार उपलब्धि हासिल गर्नुहास् । तर यस कारण, यदि यस्तो भएर भएन भन्ने छुट अब कसैलाई छैन ।’

प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डले नतिजा आउने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

तर, मन्त्रीहरू अहिले उद्घाटन गर्न र भाषण गर्नमै फुर्सद छैन । भाषण पनि यस्ता, धेरै मन्त्रीका कुरा त पत्याउन पनि गाह्रो ।

कहिलेकाही मन्त्री विषयगत सूचना समेत नराखी बोल्छन्, यसले उनीहरु विवादमा पर्छन । मन्त्रिमण्डलले पूर्णता पाएसँगै जनसरोरकारका विषयमा सरकारले परिणाममुखी कामको सुरुवात गर्नेछ भन्ने धेरैले अपेक्षा राखेका थिए ।

तर यो अपेक्षाविपरीत सरकारका मन्त्रीहरू  कामभन्दा बढी चर्काचर्का भाषण दिन थाले ।

पछिल्ला दिनमा केही मन्त्रीले दिएका चर्का भाषण रोचक छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित सवैभन्दा धेरै बोलेका छन् । धेरै जसो मिडियालाई अन्तर्वार्ता पनि दिन भ्याएका छन् ।

सार्वजनकि कार्यक्रममा पुगेर पनि उनले भाषणा दिईरहेका छन् । हरेकजसो निमन्त्रणलाई उनले स्वीकार गर्छन् ।

‘प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारीहरू कार्यक्षेत्र नगए तत्काल बर्खास्तीदेखि कडाभन्दा कडा कारबाही गरिन्छ । खटाइएका ठाउँमा कर्मचारीहरू अनिवार्य पुग्नैपर्छ, नपुगेको वा अन्यत्र काम गर्छु भन्नेलाई कुनै पनि सुविधा दिँदैनौं । उहाँहरूले तत्काल काम सुरु गर्नुपर्छ, कार्यक्षेत्रमा पुगेपछि यदि उहाँहरूको जायज मागहरू रैछन् भने म विचार गर्न तयार छु । तर पहिले उहाँहरू कार्यक्षेत्र अनिवार्य रूपमा पुग्नैपर्छ ।’ सामन्य प्रशासन मन्त्रालयको कमान्ड सम्माहलेपछि मन्त्री पण्डितले बोल्न शुरु गरे ।

त्यस अघि वातवरण मन्त्री हुँदा पनि एक बर्षभित्र काठमाडौंलाई ‘माक्समुक्त’ बनाउने भाषणा दिएर चर्चा कमाएका थिए । तेस्रो पटक मन्त्रिमण्डल विस्तार हुँदा लालबाबुको मन्त्रालय हेरफेर भएको थियो ।

‘नजानेहरूको बाटो एउटै हो, राष्ट्रसेवक भन्ने अनि २४ घण्टा नै राष्ट्रको सेवा गर्न तयार छु भनेर शपथ खाने तर सरकारले खटाएका ठाउँमा नजाने हो भने यो हामीलाई सह्य हुँदैन । सरकारभन्दा माथि आफूलाई कर्मचारीले सम्झनुहुँदैन । यदि आफू सरकारभन्दा माथि छु भनेर कुनै कर्मचारीले भूल गरे, सजाय भोग्नुपर्छ, जसले जुन मात्राको गल्ती गर्छ, उसलाई त्यही मात्राको सजाय दिन्छौं ।’ लालबाबुले यसो पनि भने ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट पनि चर्चामा छन् । ‘गलत काम गर्ने जोकसैलाई पनि छोड्दिनँ । वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउने सन्दर्भमा गलत काम गर्ने कसैसँग सम्झौता गर्दिनँ । इमानका साथ काम गर्नेलाई म प्रोमोट नै गर्छु, चाहे जुनसुकै पार्टीमा आस्था राख्नेहोस् । तर बेठीक गर्नेलाई छुट दिने छैन । म एक ठाउँमा पनि पत्रकारहरूले प्रश्न उठाउने गरी काम गर्ने छैन ।’ उनले चैत्र ५ मा सिंहदरवार कार्यक्षेत्रबाट आफ्नो भनाई राखे । उनी अहिले मन्त्रालयसम्बन्धी नीतिगत अध्धयन र भेटघाटमा व्यस्त छन् ।

गृहमन्त्री रामबहादुर थापा पनि दैनिकजसो कार्यक्रममा पुगेर भाषणा दिईरहेका छन् । उनको भाषण चाहिँ शान्ति सुरक्षामा भन्दा पनि भ्रष्टाचारीलाई उपचार गर्नेमा केन्द्रित छ ।

दोस्रो पटक मन्त्रिमण्डल बिस्तारमा उर्न गृहमन्त्री भएर आएका थिए । लगत्तै उनले भनेका थिए, ‘भ्रष्टचारमुक्त र सुशासनयुक्त प्रहरी मेरो प्राथमिकतामा छ । प्रहरी सङ्गठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनु पर्नेछ । साथै प्रहरीलाई स्रोत, साधनयुक्त बनाउने प्रयास छ । प्रहरीमा देखिएको सरुवा, बढुवाको समस्यालाई स्थायी ढङ्गले हल गर्ने मेरो चाहाना छ ।’

त्यसपछि फागुन २७ मा उनले भने, ‘नेपाली अर्थतन्त्र अहिले पनि तस्कर र भ्रष्टाचारीको हातमा छ । मुलुकको समृद्धि नै तस्कर र भ्रष्टाचारीहरूले हातमा लिएका छन् । अर्थतन्त्र तस्कर र भ्रष्टाचारीको हातमा छ, भ्रष्टको साम्राज्य छ, अब यसको अन्त्य गर्नु छ ।’

चैत ११ मा उनले नयाँ कुरा गरे । ‘देश आज बर्बाद भएको छ । यसको कारण यहाँका ठग, अपराधी, भ्रष्टाचारी र भ्रष्ट ठेकेदारका कारण हो । हामी देशमा बुद्धले भन्नुभए जस्तै शान्ति स्थापना गर्न र सभ्य समाज स्थापना गर्न चाहन्छौँ । यसका लागि देशका विकृति र विसङ्गतिलाई हटाउन कटिबद्ध छौं । अन्ततः बुद्धकै मार्गमा अहिलको सरकार अघि बढेको छ र बुद्धतन्त्र स्थापना गरेर नयाँ सन्देश हामी दिन चाहन्छौँ ।’ उनले भने ।

गृहमन्त्री थापाले कहिले जेल त कहिले अध्यागमन विभागको निरीक्षण गरेर चर्चा बटुलेका छन् । मन्त्री थापाले एक दिन प्रहरीको मेसमा गएर पनि खाना खाए ।

खानेपानी तथा सरसफाई मन्त्री विना मगर पनि चर्चामै रमाएकी छिन् । चैत ७ मा उनले भनिन्, ‘मेलम्चीको खानेपानी २५ दिनभित्र काठमाडौंको सुन्दरीजलमा आइपुग्छ । २५ दिनभित्र मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा आउने गरी पूर्वाधार निर्माणको काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएसकेकी छु । स्थलगत अध्ययन पनि गरेर भर्खरै फर्केकी छु । स्वच्छ पानी खान पाउने नागरिकको मौलिक अधिकारलाई कार्यान्वयनमा लैजाने मेरो प्रतिबद्धता छ ।’

चैत्र ५ मा मन्त्री मगरले आफ्नै मन्त्रालयमा छड्के गरिन् ।

पर्यटन मन्त्री रवीन्द्र अधिकारीले पनि नियमित भाषण दिईरहेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले कुल गार्हस्थ उत्पादन(जीडीपी) मा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउनेगरी आफूले कार्ययोजना तयार पारिरहेको बताएका छन् ।

पर्यटन पत्रकार संघ(जाट–नेपाल) का प्रतिनिधिमण्डलसँग चैत्र ८ गते मन्त्रालयमा भएको भेटमा पर्यटनमन्त्री अधिकारीले जीडिपीमा अहिले भइरहेको साढे तीन प्रतिशत हाराहारीको योगदानलाई २५ प्रतिशतमा पुर्याउने गरी काम थाल्ने कार्ययोजना बनाइहेको बताए । उनले सन् २०२० मा १५ लाख पर्यटक नेपाल भित्र्याउने पनि दावी गरेका छन् ।

त्यसको एक दिन अगाडि चन्द्रागिरी हिल हेर्न गए ।

त्यस्तै अधिकारीले त्रिभुवन विमानस्थललाई २४ सै घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका छन्  । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा मन्त्री अधिकारीले एयर ट्राफिक जाम कम गर्नका लागि विमानस्थलको क्षमता बढाएर सञ्चालन अवधि थपिने समेत बताएका छन् ।

यी पाँच जना मन्त्री उदारण मात्रै हुन् । 

यसरी चर्का भाषण गर्न प्रायजसो सबै मन्त्रीहरूको अहिले होडबाजी नै चलेको छ ।

आलोचना शुरु

काम गर्ने बेलामा सामान्यभन्दा सामान्य कार्यक्रममा पनि पुगेर भाषण गर्न थालेपछि उनीहरूको आलोचना समेत सुरु भएको छ ।

अघिल्लो सरकारमा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दा राम्रो कामको सुरुवात गरेका लालबाबु पण्डितले पुनः यो पटक पनि उही मन्त्रालय सम्हालेपछि कर्मचारी वृत्तमा सुधार हुने अपेक्षा धेरैले राखेका छन् । स्वेश्चिक अवकास मुद्दामा मन्त्री पण्डितमाथि दवाव बढ्दैछ ।

ओली नेतृत्वको मन्त्रिमण्डलामा रहेका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, पर्यटनमन्त्री रविन्द्र अधिकारी, अर्थमन्त्री युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा, कृषिमन्त्री चक्रपाणी खनाल राम्रो छवि भएका नेता मानिन्छन् ।

उनीहरुबाट जनअपेक्षापनि धेरै छ ।

यसै प्रसङ्गमा तीन दिनअघि मात्रै एकजना पत्रकारले चर्का भाषण गर्ने मन्त्रीलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकवालमा लेखेका छन्– ‘ए बूढा काम गर्छौं भनेर जिताएको हो, भाषण हैन, काम गर खुरुखुरु’ पत्रकार तिलक कोइरालाले आफ्नो फेसबुक वालमा लेखेको स्टाटस हो यो । यो स्टाटसबाट पनि मन्त्रीहरू कामभन्दा बढी भाषणमा केन्द्रित भएको सङ्केत गर्छ ।

पछिल्लो समय कर्मचारी समायोजनको विषय सरकार र मन्त्रीका लागि चुनौतीको विषय बनेको छ । खटाएका ठाउँमा कर्मचारी नगएपछि मन्त्री पण्डितले दैनिकजसो चर्का भाषण गर्ने गरेका छन् । तर कर्मचारी भने मन्त्री पण्डितको निर्देशनलाई हुकुमी शैलीको निर्देशन भन्दै आपत्ति जनाइरहेको छन् ।

चैत ९ गते काठमाडौंमा भएको एक साक्षात्कारमा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन र विभिन्न कर्मचारी सङ्गठनका नेताहरूले कर्मचारीको स्वेच्छिक अवकाश कार्यान्वयन नभए सरकारविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिए ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले मानसिक समस्या भएका बाहेक अन्य कर्मचारीलाई तोकिएको कार्य क्षेत्रमा नजाने छुट दिन नसकिने मन्त्री पण्डितको भनाइलार्ई संविधान विपरीत भएको दाबी गरे । ढकालले मात्रै होइन, नेपाल निजामती कर्मचारी सङ्गठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले पनि सरकारले कर्मचारी खटाउन नसकेपछि ट्रेड युनियनले जान दिएनन् भनेर आरोप लगाउनु गलत भएको बताए ।

जबकि मन्त्री पण्डितले कर्मचारी समायोजनका विषयमा जति बाहिर बोलेका छन् । उनको त्यो अभिव्यक्ति कर्मचारी समायोजन ऐन २०७४ विपरीत देखिएको छ ।

कर्मचारी समायोजनसम्बन्धी ऐन बनेर २०७४ असोज २९ गते प्रमाणीकरण भइसकेको छ ।

पूर्वमन्त्री तथा काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले पनि वर्तमान सरकारका मन्त्रीहरूले चर्का भाषणमा मात्रै ध्यान दिएर जनताको कामलाई पछि धकेलेको टिप्पणी गरे ।

‘यतिधेरै बहुमत सरकारको पक्षमा छ । यो बेला काम गरेर देखाउने  हो । तर मन्त्रीहरूका गतिविधि हेर्दा कामभन्दा बढी भाषण मात्रै देखिन थालेको छ । यसले उहाँहरूले भन्दै आएको ‘सुशासन र समृद्धि’को लक्ष्य कसरी पूरा होला र ?’  नेता रिजालले सरकारलाई शुभकामना दिँदै रातोपाटीसँग भने ‘हामी प्रतिपक्षमा छौँ, अहिल्यै सरकारको आलोचना गर्ने बेला भएको पनि छैन । तर नेताहरूले भनेको कुरा काममै गरेर देखाउनुस् । यसले देशलाई पनि राम्रो गर्छ, जनतालाई र उहाँहरूलाई पनि ।’

वरिष्ठ पत्रकार किशोर श्रेष्ठ मन्त्रीहरूले राष्ट्रिय राजनीतिका चर्का भाषणभन्दा विषयगत अध्ययन र अनुसन्धानपछि मात्रै बोल्न सुझाव दिन्छन् । उनका अनुसार राष्ट्रिय राजनीतिका बारेमा प्रधानमन्त्री आफैले बोलेका हुन्छन् ।

श्रेष्ठ भन्छन्– ‘मन्त्रीहरूले देशको चिन्ता गर्नु देशलाई राम्रो गर्छु भन्नु नराम्रो नभए पनि विषयगत ज्ञान अभावमा उनीहरूले जे मन लाग्यो त्यही बोल्ने गरेको पाइन्छ । जसले उनीहरूको ओज घटाइरहेको छ । विधिविधान, ऐन कानुनको अध्ययन गरेर बोल्ने बानी बसाल्ने हो भने समग्र देशको हित हुन्छ ।’

माधव नेपाल प्रधानमन्त्री हुँदा उनको प्रेस सल्लाहकार रहेका पत्रकार विष्णु रिजालको ट्विट छ, ‘पञ्चायतकालमा एक भाषणबाज मन्त्री थिए रे–हीरालाल विश्वकर्मा, हर कुनै विषयमा धाराप्रवाह बोल्ने । उनलाई देख्न–सुन्न नपाए पनि अहिलेका मन्त्रीहरू हेरेर चित्त बुझाइएको छ !

प्रधानमन्त्री पनि कम छैनन्

भाषणको मामिलामा प्रधानमन्त्री केपी ओली आफै पनि पछि छैनन् । गत चैत ९ गते प्रधानमन्त्रीको एक भाषणले खुबै चर्चा कमाएको थियो ।

काठमाडौंमा २९ औं राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दोहोराएको पानी जहाजको किस्सा सामाजिक सञ्जालमा बहसको विषय भएको थियो ।

कार्यक्रममा उनले पानी जहाजमा नेपालले समान ओसारपसार गरेको देखाएरै छोडने दृढता व्यक्त गरेका थिए । उनले २०७६ सालभित्र नेपाली झण्डाबाहक पानी जहाजले सामान ओसारपसार गर्ने महत्वकांक्षी योजना पनि सार्वजनिक गरे ।

उनले रेल सेवा सञ्चालन र पानी जहाज सञ्चालन गर्ने आफ्नो प्रतिबद्धतालाई विगतमा मजाकको विषय बनाइएको पनि स्मरण गरे । अब मजाक उडाउन नदिनेगरी काम गर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले आफू नेतृत्वको सरकार देश बनाउन आएको पनि दोहोर्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप