आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालगन्जमा रहेको प्रहरी विशेष सुरक्षा गण कर्णालीमा स्थानान्तरण गर्न १ करोड ९१ लाख बजेट स्वीकृत

मङ्गलबार, १९ भदौ २०८०, १७ : ४३
मङ्गलबार, १९ भदौ २०८०

सुर्खेत । हालसम्म लुम्बिनी प्रदेशको नेपालगन्जमै रहेको कर्णाली प्रदेशको प्रहरी विशेष सुरक्षा गण स्थानान्तरण गर्न प्रक्रिया थालिएको छ । त्यसका लागि कर्णाली प्रदेश सरकारले आवश्यक बजेट स्वीकृत गरेको छ । 

सङ्घीयताको एक कार्यकाल बितिसक्दा पनि कर्णालीका प्रहरी संरचनाहरु अझै लुम्बिनीमै रहेका हुन् ।  जस अन्तर्गत निकै महत्त्वपूर्ण मानिएको सुरक्षा गणलाई कर्णालीमा स्थानान्तरणका लागि काम अघि बढाइएको हो । 

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी ‘जितेन्द्र’ का अनुसार १ करोड ९१ लाख २९ हजार ८६४ रुपैयाँ बराबरको बजेट स्वीकृत भएको छ ।

उक्त प्रहरी संरचनाका लागि सुर्खेतको गुर्भाकोट नगरपालिकामा–१३ र १४ मा जग्गा प्राप्त भइसकेको छ । २६ असारमा भएको सङ्घीय मन्त्रिपरिषद्ले जग्गाको स्वीकृत दिने निर्णय गरेको थियो । सोही अनुसार साबिक गुमी गाविस–३ (हाल गुर्भाकोट १३,१४) ग कित्ता नम्बर ४०, क्षेत्रफल ३.५.१ विगाह मध्ये क्षेत्रफल १.८.० विगाह र सोही गाविस–५ च कित्ता नं २ को क्षेत्रफल २.२ .१९.५ विगाह जग्गा प्रहरी विशेष सुरक्षा गण कर्णाली प्रदेशलाई प्रदान गर्न स्वीकृत भइसकेको छ । 

१२ साउनमा कर्णाली प्रदेश प्रहरी कार्यालयको पत्रानुसार बाँकेमा रहेको उक्त प्रहरी संरचनालाई गुर्भाकोटमा स्थानान्तरण गरिने तय भएको उनको भनाइ छ । 

उक्त ठाउँमा तत्कालीन अवस्थामा रहेका भवनहरू उपयोगविहीन भई जीर्ण अवस्थामा रहेका छन् । ती भवनहरूको मर्मत सम्भार र पुन निर्माणको लागि सरकारले बजेट स्वीकृत गरेको मन्त्री जिसीले रातोपाटीलाई जानकारी दिए । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट खर्च व्यहोर्ने गरी रकम विनियोजन गर्न स्वीकृत दिइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप