आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमतीमा प्रदेशसभा गठनको ९ महिनापछि संसदीय समितिको बैठक

मङ्गलबार, १९ भदौ २०८०, १९ : ५६
मङ्गलबार, १९ भदौ २०८०

मकवानपुर । बागमती प्रदेशसभा गठन भएको ९ महिनापछि बल्ल संसदीय समितिहरुको बैठक बसेको छ । गत २०७९ पुस १८ मा गठित प्रदेशसभा अन्तर्गत संसदीय समितिको पहिलो बैठक मंगलबार बसेको हो ।

मंगलबार प्रदेशसभाका ५ वटा समितिको बैठक सञ्चालन गरिएको थियो ।

बागमती प्रदेशसभा अन्तरगत प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छन् ।

समितिका सदस्यहरुमध्येबाट ज्येष्ठताको आधारमा सभापति तोकेर मंगलबार बैठक सञ्चालन गरिएको हो । प्रदेश मामिला समितिको सभापतित्व कांग्रेसका शिवराज अधिकारीले गरेका थिए भने अर्थ तथा विकास समितिको सभापतित्व माओवादी केन्द्रका रामप्रसाद ढुंगानाले गरेका थिए ।

यस्तै सार्वजनिक लेखा समितिको सभापतित्व माओवादी केन्द्रका ठाकुर प्रसाद ढकालले गरेका थिए भने शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापतित्व कांग्रेसकी मिना कुमारी पराजुली पोखरेल र उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतित्व कांग्रेसकी याङकिला शेर्पाले गरेकी थिइन् ।

लामो समयको खिचातानी पश्चातः गत असारमा संसदीय समिति गठन तथा सदस्यहरु अनुमोदित भएपछि बैठकका लागि बाटो खुलेको थियो । संसदीय समितिको नेतृत्व चयन भने अझै अनिश्चित छ ।

प्रदेशसभा अन्तर्गत रहेका ५ वटै समितिको बैठक बसेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । सो बैठकमा प्रदेशसभाका सभामुख भुवनकुमार पाठक र उपसभामुख अप्सरा चापागाईँले सम्बोधन गरेका थिए ।

बैठकलाई सम्बोधन गर्दै सभामुख पाठकले मिनी पार्लियामेन्टको रुपमा रहेको संसदीय समितिलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आग्रह गरे । संसद् र सरकारलाई रचनात्मक रुपमा सल्लाह, सुझाव र निर्देशन दिनुको साथै सचिवालयको कामलाई समेत व्यवस्थित बनाउन संसदीय समितिको भूमिका रहने उनले बताए ।

त्यस्तै उपसभामुख चापागाईँले संसदीय समितिमा विषयगत मुद्दाहरुलाई छलफलमा ल्याएर सरकारलाई जिम्मेवार बनाउनुपर्ने बताइन् । उनले प्रदेशमा भएका गलत गतिविधिहरुलाई निरुत्साहित बनाउन संसदीय समितिको भूमिका महत्त्वपूर्ण हुने भएकाले सबै सदस्यहरुले ध्यान दिनुपर्नेमा जोड दिइन् ।

संसदीय समितिका सदस्यहरुले सदनमा प्राप्त भएका विधेयकहरुलाई अध्ययन गरी परिमार्जन गर्ने अधिकार राख्ने भएकाले त्यसको सही ढंगबाट प्रयोग गर्न पनि उपसभामुख चापागाईँले आग्रह गरिन् ।

उक्त बैठकले सम्बन्धित समितिको काम कारबाही सञ्चालनका लागि कार्यविधि निर्माण गर्ने निर्णय गरेको छ भने सो कार्यविधि निर्माणका लागि उपसमिति गठन गरिएको छ ।

सो समितिले कार्यविधिको ड्राफ्टलाई अन्तिम रुप दिएर समितिको अर्को बैठकमा पेस गर्नेछ । बैठकले कार्यविधिलाई अनुमोदन गरेसँगै लागू हुन्छ ।

४ वटा समितिमा १९ जनाका दरले सदस्य र एक समितिमा २० सदस्य रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप