आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सुरु हुँदा जुम्लावासी खुशी

बुधबार, २० भदौ २०८०, ०९ : २२
बुधबार, २० भदौ २०८०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको जुम्ला भ्रमणपछि त्यहाँका बासिन्दा खुशी भएका छन् । मन्त्री बस्नेतले कर्णाली प्रदेशको जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रमण गरेर त्यहाँको स्वास्थ्य सेवा सुधारका क्षेत्रमा पहल गरेका थिए । मन्त्री बस्नेतले भदौ १४ गते प्रतिष्ठानमा डायलासिस सेवाको सुभारम्भ गरेका थिए । डायलासिस सेवा सुरु भएपछि डायलासिस गर्न सुर्खेत वा नेपालगन्ज पुग्ने गरेका मिर्गौला फेल भएका विरामीलाई सहज भएको छ ।

मन्त्री बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र उपचार सेवा विस्तारका लागि आफूले पहिलो प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । स्थानीयवासीले मन्त्री बस्नेतको भ्रमणपछि प्रतिष्ठानमा स्वास्थ्य सुविधा थपिने र उपचार सेवा सहज हुने आशा गरेका छन् । चन्दननाथ ३ का स्थानीय मनमाया रोकायाले भनिन्, ‘ स्वास्थ्य मन्त्रीज्यूले जुम्लामा थप स्वास्थ्य सेवा विस्तार गर्ने बताउनु भएको छ । अहिले डायलासिस सेवा सुभारम्भ भयो । हामी जुम्लावासी खुशी भएका छौँ ।’

मन्त्री बस्नेतले बोलेको कुरा पुरा गर्ने भन्ने सुनेकोले उनप्रति आफूहरुले बढी विश्वास गरेको स्थानीय व्यापारी कमल सेजुवालले बताए । उनले भने, ‘अरु ठाउँको भन्दा जुम्लाको स्वास्थ्य सेवा प्राथमिकतामा राख्छु भन्नु भएको छ । बचन पुरा गर्नु हुनेछ भन्ने लागेको छ ।’

सोही अवसरमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा.राजेश पाण्डव संभाजीरावले स्वास्थ्य मन्त्री बस्नेतलाई स्कील ल्याव टेनिङ सेमुलेसन उपकरण हस्तान्तरण गरेका थिए । यी उपकरणले प्रतिष्ठानमा विभिन्न तालिम सञ्चालनका लागि सहज हुनेछ ।

मन्त्री बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावललाई उक्त सिमुलेशन स्किल ल्याबको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले स्वास्थ्य सेवा प्रदायकहरूलाई पर्याप्त उपकरण आवश्यक पर्ने ह्यान्ड–अन सीप तालिमका लागि सम्भावित स्रोत केन्द्र स्थापना गर्दै आएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अब नेपालमा आपतकालीन हेरचाह हस्तक्षेपसहित विभिन्न स्तरका तालिमहरूको लागि स्रोत केन्द्रहरू मध्ये एक मानिन्छ । पोर्टेबल सीप प्रयोगशाला उपकरणहरूले प्रशिक्षण मोडालिटीलाई बढावा दिनेछ । यो सीप प्रयोगशाला उपकरणको प्लेसमेन्टको लागि कर्णाली प्रदेश चयन गरेको छ ।

आवश्यक सीप प्रयोगशाला उपकरणहरू उपलब्ध गराएर, डब्ल्यूएचओले प्रान्तका स्वास्थ्यकर्मीहरूसँग उनीहरूको सीप र दक्षता अभिवृद्धि गर्न आवश्यक उपकरण र स्रोतहरू छन् भनी सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

हस्तान्तरण कार्यक्रममा प्रदेश र संघीय सरकारका सांसदहरुको सहभागिता रहेको थियो । मन्त्री बस्नेतले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा त्यस क्षेत्रका स्थानिय सरकारका प्रमुख , उपप्रमुख र स्वास्थ्य प्रमुखहरुसँग त्यस क्षेत्रको अवस्थाको वर्तमान अवस्था र स्वास्थ्य सुधारका लागि चाल्नु पर्ने सुधारका विषयमा अन्तरक्रिया गरेका थिए ।

जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा सार्वजनिक गर्दै प्रत्येक प्रदेशका जनप्रतिनिधि र स्वास्थ्य अधिकारीसँग छलफल र अन्तरक्रिया गर्न मन्त्री बस्नेतले हरेक प्रदेशमा जाने योजना नै बनाएका छन् । उनले मधेश प्रदेशको जनकपुर, बाग्मती प्रदेशको काभ्रे र कर्णाली प्रदेशको सुर्खेतमा अन्तरक्रिया सम्पन्न गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप