आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वर्ल्ड प्रिमियरका लागि गोर्खा वारियर बेलायतबाट सेन्सर पास

शुक्रबार, २२ भदौ २०८०, १६ : ४७
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’ हलिउडको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिने वर्ल्डमा यही भदौ २४ गते अर्थात् १० सेप्टेम्बरमा रेड कार्पेट प्रिमियर हुँदै छ ।

 सो रेड कार्पेट प्रिमियरको लागि यो चलचित्र बेलायतमा सेन्सर पास भएको छ । यो चलचित्रले बेलायतमा प्रदर्शन गर्दा १५ वर्ष वा सो भन्दा माथिका उमेर समूहले हेर्न पाउने सेन्सर सर्टिफिकेट बेलायतको फिल्म सेन्सर बोर्डबाट पाएको छ ।

सेन्सरबारे यो चलचित्रका निर्माता निर्देशक मिलन चाम्सले भने,‘गोर्खालीको वीरताको गाथा प्रस्तुत गरिएको यो चलचित्रमा गोर्खालीहरूले मलाया युद्धमा सफलता हाँसिल गरेका दृश्यहरू समेटिएका छन् । द्वन्द्वयुक्त ती युद्ध दृष्यहरुलाई मध्यनजर राख्दै यहाँको सेन्सर बोर्डले यसलाई १५ वर्ष भन्दा माथिका दर्शकले हेर्न मिल्ने गरी सेन्सर सर्टिफिकेट प्रदान गरेको हो ।’

यो रेड कार्पेट प्रिमियरको लागि विगत दुई साता देखि बेलायतमा तयारी गरिरहेका निर्माता निर्देशक चाम्सले भने,‘हामी १० सेप्टेम्बरमा यहाँको आइम्याक्स सिनेवर्ल्डमा गोर्खा वारियरको प्रिमियरको पूर्ण तयारीमा छौँ । यो प्रिमियरमा सहभागी हुन हामीले बोलाएका पाहुनाहरु देश बिदेशबाट धमाधम यहाँ आईरहनु भएको छ र भोली बिहानसम्म उहाँहरु सबै आईपुग्नु हुनेछ’ उनले अगाडि थपे,‘यो प्रिमियरका लागि नेपालबाट यस चलचित्रका कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा सम्बन्धित संघ संस्थाका पदाधिकारी एवम् डिप्लोम्याट्सहरु पनि बेलायत तर्फ उडिसक्नु भएको छ ।’

बेलायतमा हुने यो अन्तर्राष्ट्रिय रेड कार्पेट प्रिमियरले नेपाली चलचित्रलाई विश्वमा चिनाउने र नेपाली चलचित्रको बजार विश्वव्यापी रुपमा विस्तार हुनेमा आफूहरू विश्वस्त रहेको पनि उनले बताएका छन् ।

 प्रिमियरमा यसपटक हलिउडका सेलिब्रेटी देखि बेलायत तथा नेपालका सेलिब्रेटी समेत सहभागी हुँदैछन् । बेलायतका राजपरिवार, सरकारी तथा कुटनीतिक नियोगका विशिष्ट व्यक्तित्वहरु, ब्रिटिस सेनाका अफिसरहरु, त्यहाँ रहेका विभिन्न नेपाली नियोग तथा संघ संस्थाका पदाधिकारीहरु पनि रेड कार्पेट प्रिमियरमा विशिष्ट अतिथिका रुपमा सहभागी हुने आयोजकको भनाइ छ । 

 चलचित्र गोर्खा वारियर नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ । लन्डनको यो ऐतिहासिक प्रिमियर पछि फिल्मको विश्वव्यापी रिलिज मिति घोषणा गरिने भएको छ । यो चलचित्रमा रितेश चाम्सले अभिनेताको रुपमा डेब्यु गरेका छन् । उनीसँगै यसमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।

गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रँग सँयोजन रहेको छ । यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप