आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नियात्रा

तीन किलोको त्यो घामट पहिरो

शनिबार, २३ भदौ २०८०, १३ : ५५
शनिबार, २३ भदौ २०८०

शीतल हावाको झोँका अनि हिउँ भन्दा ओसिलो वायु, मेरा हरेक इन्द्रियहरूमा प्रविष्ट गरिरहेकै थियो । नौलो अनुभूतिको प्रिय भाव, ओठभरी मन्द मुस्कान । अझ केटाकेटीपनको अनुपम चञ्चलता सुम्सुम्याउन तल्लीन थियो मेरो अन्तस्करण । 

परन्तु, अनायासै एउटा विनाशकारी प्रतिध्वनि चारैतिर गुञ्जायमान भयो। सुषुप्त रूपमै बसिरहेको चट्याङ्ग र मेघ गर्जन अकस्मात विस्फोट भयो। समस्त समुदाय नै एकदमसँग विचलित र चलायमान हुन पुग्यो। मानौँ, माहुरीको घारमा कसैले धुवाँ सल्काइदिएको छ। जताततै हलचल र खैलाबैला मच्चियो। 

बिजुलीको खम्बामा ओत लागेका भँगेरा चिर्बिराउँदै झ्वाम्म भुईँमा खसे। मानिसहरूको सातो पुत्लो उड्यो। गड्याङ गुडुङ र अतिवृष्टि एकैसाथ ठोक्किँदै, पछारिँदै पृथ्वीको समस्त मट्टीलाई छिन्न भिन्न गराइदियो।

गल्र्याम्म ढुङ्गा मुढासँगै भयङ्कर पहिरो नारायणगढ–मुग्लिन सडक खण्डको वक्षस्थलमै बजारियो। धन्न मेरा पाइला ३–४ सेकेन्ड छिटो चल्न भ्याएछन् र मेरो ज्यान जोगियो। भलै मेरो भाग्य र ग्रह बलिया निस्किए यसपालि। अनि मैले पुनः शाश्वत जिन्दगी उपहार पाएँ।

असार १४ गतेको दिन। बर्सात्को मौसम थियो। दाङ जिल्लाको सदरमुकाम घोराही सहरदेखि यात्रा प्रारम्भ गरेका थियौँ। हामी चितवनको नारायणगढ छिचोल्दै काठमाडौँतर्फ हुइँकिँदै थियौँ। दासढुङ्गातिरै ट्राफिक प्रहरीद्वारा ठुला गाडीहरू लामबद्ध रोकिएका थिए। साना गाडीहरूलाई भने पास हुन दिइएको थियो। 

सुनियो, अगाडि पहिरो खसेको छ। केही समयमा बाटो खुल्छ भन्ने गाइँगुइँ हल्ला थियो। भाइ र म दुई जना मोटरसाइकलको यात्रा गर्दै जलवीरे क्रस गरेर मुग्लिन पुग्नै आँटेका थियौँ। नभन्दै बीचमा गाडीहरूको एकतर्फी लामो जाम देखियो। जामलाई उछिन्दै हामी अग्रिम भागमा आइपुग्यौँ। 

ठ्याक्कै भन्नुपर्दा, जलवीरे र मुग्लिनको बीचतिर पर्ने ‘तीन किलो’ भन्ने ठाउँनेर ‘तीन नम्बर पुल’को छेवैमा बिहानैदेखि ढुङ्गामुढा सहितको सानोतिनो पहिरो निरन्तर खसिरहेको नै रहेछ। एकातिरको सडक पहिरोले छोपिएको थियो भने अर्कोतर्फ साना गाडी क्रस गर्न मिल्ने खालको थोरबहुत साँघुरो बाटो बचेको देखिन्थ्यो।

दिउँसोको लगभग ३ बज्न लागेको थियो। दुबैतिर गाडीको लावालस्कर, सबै जना बिचल्लीमा देखिन्थे। मानिसहरु आआफ्ना गाडी छेउ लगाएर यो लगातारको बज्रपात रोकिने र गन्तव्यतर्फ लागिने आसामा प्रतीक्षा गर्दै बसिरहेका देखिन्थे। एक खालको भिडमभाडको अवस्था सिर्जित थियो त्यहाँ। 

पहिरो खसिरहेको छ कि छैन भनी वारिपारिबाट होहल्लासहित हातले ईशारा गर्दै सबैजना साना गाडी र बाइक, स्कुटर एक एक गरी वारपार गराउन तल्लीन देखिन्थे । यिनै भिडमा हामी दुई पनि मिसियौँ । 

यसैबीच, कसरी यो पहिरो उछिनेर पारिपट्टि पुग्न सकिन्छ भनेर हामीले पनि जुिक्त लगाउन थाल्यौँ। म चाहिँ आँखा नझिम्क्याई माथितिर नियाल्दै सडकको डिलबाट दौडेर पारी जाने, अनि पहिरो खसे नखसेको मैले उतादेखि ईशारा गरिदिने र भाइले बाइक कटाउने निधोमा हामी पुग्यौँ। जुन जुक्ति हाम्रो निम्ति हर्ष न बिस्मातको चङ्गुल हुन पुग्यो।

माथिबाट ढुङ्गा नखसेको यकिन गरी एकोहोरो उँभोतिर हेर्दै म कुलेलम ठोकेँ । अनि, केही सेकेन्डमै त्यो खतराको फन्दा पार गर्न सफल भएँ। मेरा पाइला ठ्याक्क उतापट्टि के पुगेका थिए, जमिन थर्किने गरी गल्र्याम्म ठुलै आवाज रन्केको सुइँको पाएँ। 

डरले मेरो शरीरका जम्मै रौँ ठाडो भए। एकछिन त मेरो होसहवास उड्यो। लौ न के भयो ? भनी फर्केर हेर्छु त सिङ्गै पहाड मेरो पछाडि खस्न भ्याइ सकेछ । मानौँ, मेरो आँखै अगाडि बडेमानको उल्कापिण्ड झरेको छ। धन्य प्रभु, जय होस् प्रकृति, मलाई बचाएकोमा आभारी छु। आज ठूलै ग्रहदशा कटाइयो भन्ने लाग्यो । मात्र केही सेकेण्डको फरकमा म भगवान्को घर जानबाट जोगिएको थिएँ ।  

होस खुलेपछि पत्तो पाएँ, पहिरोले सडक पूर्ण रुपमा बन्द भएछ । एकदम ठप्प । लौ खत्तम, अब के गर्ने ? मेरो मनमा चस्का पस्यो। सँगसँगै मस्तिष्कमा एक हजार भोल्टको झट्का लाग्यो। लौ बरबाद भयो, भाइ उतापट्टी छुट्यो, म यतापट्टि पछारिएँ। बीचमा अजम्बरको थुप्रो छ। 

अझ यो भन्दा ठूलो पिर मनमा खट्कियो। न मेरो हातमा मोबाइल छ, न त पैसा नै छ। म त एकदम रित्तो, नितान्त एक्लो । लाग्यो, म हातखुट्टा नभएको घिस्रिने प्राणी हुँ यस दुनियाँको। यही बेला हो मलाई महसुस भएको, पैसा र सञ्चारको साधनले कति महत्त्व राख्दो रहेछ, हाम्रो जीवनमा। यी नहुँदा हुन् त कति निरर्थक हुँदो हो हाम्रो जिन्दगीको यात्रा, मनुष्यरूपी बुद्धि र विवेक नभरिएको चारखुट्टे पशु जस्तै। 

अझ मेरो छटपटी उल्कै थियो, पानी बिनाको तलाउमा माछा छटपटाए जस्तो। मैले यो फेहरिस्त टड्कारो अनुभव गर्ने मौका पाएँ। 

भाइसँगै सबै सामान पनि उतै छुटे। बाटोभरि सिमसिम पानी परिरहेकोले मोबाइल, घडी र पैसा सबै प्लास्टिकमा पोको पारी झोलाभित्र राखेका थियौँ। हामीसँग भरपर्दो रेनकोट नभएकोले आधाउधी रुझ्दै हिँड्नुपर्ने अवस्था थियो। दौडिन सजिलो होस् भनेर झोला उतैपट्टि भाइलाई नै बोक्न छोडेको थिएँ। 

यसरी हामी वारिपारिका दुई किनार त भयौँ भयौँ, त्योसँगै सम्पर्कविहीन पनि भयौँ। अब यताउता हिँड्न मिल्ने स्थितिसम्म थिएन। झन् यतापट्टि म बसेको ठाउँ माथिको डाँडोबाट समेत अलिअलि ससाना ढुङ्गा खस्न थाले। पहिरोको जोखिम अझ बढ्दै गएकोले प्रहरीले दुवैतिरको भिडलाई पर परसम्म धपाए। 

यो भीमकाय प्रलयले घरी हल्का आकार लिन्थ्यो त घरी बिघ्न रूप धारण गथ्र्यो । यो सिलसिला दिनभरमात्रै होइन, रातभरि पनि क्रमबद्ध रूपमा चलिरह्यो। दुई छेउमा पहिरो हटाउन दाउ कुरेर बसेका एक्स्काभेटर चल्न सक्ने स्थिति छँदै थिएन। झन् त्यसमाथि झमझम पानीको झरी बेतोडसँग दर्किन थाल्यो। त्योसँगै बलौटे माटो र ढुङ्गाका ठुल्ठुला जुर जोर खस्न थाले।

हाय रे, तीन किलो 

हाय रे, तुहिन खोला 

तेरो यो विचित्रको चर्तिकला,

यो चटकी आभूषण

कुन लहडले तरङ्गित छ ?

उफ, मौसमी बेमौसम

हाय रे, पहाडी भूभाग 

तेरो लीला पनि बुझि नसक्नु छ

नदीको उच्छृङ्खल बहावसँगै

ताछिँदै, 

खिइँदै 

हामी दुई किनारा पुगिसक्यौँ

तँ भने कहिले आकाशमाथि बाट खस्छस्

त कहिले घरी जमिन मुन्तिर भासिन्छस् ।

मान्छे मान्छेहरूको रस्साकस्सी चलिरहेकै थियो। हाटबजारमा लागेको मेला भन्दा कम्ती थिएन यो माहौल। सवारी साधनको बथान उस्तै छ। कोही रमितेहरू फोटो, भिडियो खिच्नमै तल्लीन रहेका । कोही भिडियो कल र लाइभमा बसी चिच्याउँदै थिए, ‘हेर्नुहोस् ल्यान्डस्लाईडको प्रत्यक्ष लाइभ’ । मसँग भने एक कल फोन गर्नसम्म साधन थिएन।

भूस्खलन जति नजिक नजिक सर्छ, उति भागदौड र ठेलमठेल हुन थाल्यो। ट्राफिक प्रहरी र जनपथ प्रहरीलाई ढुङ्गामुढाको वर्षादेखि सचेत गराउन र भिड नियन्त्रण गर्न हम्मे हम्मे पर्यो। 

त्यत्तिकैमा सडक किनारै किनार जोडिएको बिजुलीको तार अनि खम्बाहरूमा समेत ढुङ्गा बजारिन थाले। आगोको मुस्लो दन्कियो र तारहरू एक एक गरी चुँडिन थाले। झन् भागाभाग मच्चियो। मच्चिएँ म पनि, चितुवाले आफ्नो सिकार झम्टिन मच्चिए जसरी। अब भने त्यो रमाइलो दृश्य अलप भई डरले सीमा नाघ्न थाल्यो । र, म सरासर मुग्लिनतिर दौडिएँ।

यतिन्जेल कसरी भाइको नम्बर याद गर्ने होला ? भनी मनमनै सोच्दै बसिरहेको थिएँ। कसैको नम्बर याद गर्न सक्ने खुबी र आदत कहाँ छ र मेरो । झल्याँस्स सम्झिएँ, मेरो फोन पनि त उसैसँग छ। थुइक्क मेरो मन्द बुद्धि, अब बल्ल ऊसँग कुरा हुने पक्कापक्की भयो। 

चियाको चुस्कीसँगै एउटा होटेलको ल्यान्डलाइनबाट मेरै मोबाइल नम्बरमा घण्टी बजाएँ। उता भाइले फोन उठायो । अनि, के कसरी बसोबासको बन्दोबस्त गर्ने भनेर निक्र्यौल गर्यौँ। 

भाइ उता जलवीरेतिर र म यता मुग्लिनमा बास बस्ने र आवागमन नखुलेसम्म बाटो हेर्ने निश्चय भयो। उतापट्टि खासै होटेल लज नभएकोले बास बस्न अलि समस्या हुने भए पनि उसले कुनै न कुनै उपाय लगाउने बतायो । 

हे भगवान्, जे होस् यो कुराको चाहिँ टुङ्गो लाग्यो। मैले लामो सुस्केरा फेरेँ। अब पैसाको लागि के गर्ने ? काठमान्डुमा अर्को भाइलाई फोन गरेर ईसेवामार्फत् पैसा पठाउन लगाएँ र यताको पसलबाट निकालेँ।

सबै मान्छे वाक्क भैसकेका थिए। बाटोको नामनिसान मेटिने गरी सिङ्गै डाँडो लडेर लमतन्न पसारिएको जो थियो। एक दुई दिन बाटो खुल्ने कुनै छनक थिएन। 

यस्तोमा कोही गाडीमै रात कटाउने सोचमा थिए त कोही मुग्लिनका होटेलमा बास बस्न कोठा खोज्दै भौँतारिँदै थिए । म पनि त्यतै कतै कोठाको बन्दोबस्त गर्न लहडिएँ। मुस्किलले एउटा होटेलमा सानो कुचुक्क परेको कोठा फेला पारेँ र खाना खाई ओरी खाटमा पल्टिएँ। तर निदाउन भने सकिएन ।

आकाश झर्यो। पहाड झर्यो। पहिरो सँगसँगै हामी सबैका सपना झरे। हाम्रो खुसी झर्यो। जीवनको एउटा आशा झर्यो। हजारौँ मानिसका उद्देश्य र गन्तव्य पनि झरे। 

झरेन त केवल दिक्दारी, त्रास अनि बिस्मात झरेन। झर्नुपर्ने चिज कत्ति पनि झरेनन् । खस्नुपर्ने कुरा खस्दै खसेनन् । तर नखस्नुपर्ने कुरा जम्मै खसे। प्रकृतिको यो आफ्नै अनौठो नियम रहेछ ।

यति धेरै थोक गुम्दा पनि नेपालीले रमाउन त जानेकै हुन् । बेलुकीपख एकछिन पानी पर्न रोकिएको मौका छोपी कोही नाचगानमा तल्लीन देखिन्थे त कोही तासको बिटो फिट्दै रमाइरहेका देखिए। 

होटेल होटेलमा कोही बियर र ह्विस्कीको चुस्कीमा रमाइरहेका भेटिए। कसैलाई फगत एउटा समय कटाउनु थियो। कसैलाई भने एक एक मिनेट मूल्यवान् थियो। र, त ज्यानको जोखिम मोल्दै कति जना ठाडो भिर चढेर पहिरो खसिरहेको डाँडो उछिन्दै पारीपट्टि पुगेका थिए। कसरी हुन्छ उनीहरूलाई आज गन्तव्यमा पुग्नु नै थियो। कसैको लागि त आखिर प्राण भन्दा पनि समय नै बढ्ता श्रेष्ठ कहलियो।

रातको १० बजे भाइले फोन गरेको रहेछ। ‘तपाइको मान्छे अर्को बाटो भएर आउँदै हुनुन्छ रे’ भन्दै होटेलकी साहुनी आइपुगिन् । 

‘ल काइदा भैगो नि’, म केही फुरुङ्ग भएँ। उसले वैकल्पिक बाटो हुँदै निस्किने अरू मान्छे भेटेछ । त्रिशूलीको झोलुङ्गे पुल तरेर कष्टकर अफ रोडको बाटो लगभग ४ घण्टाको फन्को लगाउँदै भाइ तनहुँको दमौली पुगी पृथ्वी राजमार्ग पकडेर रातको १२ बजे मुग्लिन आइपुग्यो। मैले बल्ल ढुक्कको सास फेरेँ।

अगाडिको बाटो तताउने कि आज यतै आराम गर्ने दुई विकल्पका बीच हामीले पहिलो विकल्प रोज्यौँ। भोलिसम्म अझै जाम बढ्ने अनुमान लगाई राती नै मुग्लिनबाट अघि बढ्यौँ। जसोतसो जाम कटाउँदै रातभरि हिँडी नै रह्यौँ। 

मुसलधारे पानीले निथ्रुक्क पारिसकेको थियो। अब चिसोले जिउ काम्न लागेछ। थकित मुद्रामा हामी बिहान करिब ४ बजे बाटो छेउमा भेटिएको टिनको छानोमुनि ओत लाग्यौँ । लुगा फेर्यौँ र लगभग १ घण्टा आराम गर्यौँ। 

झिसमिसे उज्यालोसँगै पानी पर्न छोड्यो र फेरि हामीले यात्रालाई निरन्तरता दियौँ। धन्न यता त्यति गाडीको सारो जाम रहेनछ। बिहान करिब ७ बजेतिर बल्ल हामीले काठमाडौँमा पाइला टेक्यौँ। हाम्रो बेचैनी अब शान्त भयो। 

यो उदेकलाग्दो बाटो अब कहिले हिँड्न नपरोस् भनी मनमनै कामना गरेँ। हरेक वर्ष यसरी प्राकृतिक प्रकोपको बलमिचाइँ सहनुभन्दा यो सडकको वैकल्पिक मार्गहरूलाई तुरुन्तै स्तरोन्नति गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ। सरोकारवालाको ध्यान जाओस्।

भोलिपल्ट बेलुका खबर सुनियो। बल्लतल्ल घन्टौँ लगाएर पहिरो व्यवस्थापन गरेर सवारीसाधन पास गराइँदैछ। तर, ढुङ्गा खस्न चाहिँ रोकिएन अरे। ढुङ्गाको जोरले कतिवटा मोटरबाइक र ट्रक रन्थनिएर पछारिए रे। बाइकमा सवार कति जनाले धन्न भागेर ज्यान जोगाउन सफल भएछन्, ट्रक ड्राइभर चाहिँ घाइते। 

पर्सिपल्ट बिहान पत्रपत्रिकाले अर्को खबर निकाले, ‘तीन किलोमा फेरि खस्यो पहिरो, नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध’ उफ्, यो घामट पहिरोले कहिले नछोड्ने भयो ।

मुसिकोट–१, रुकुम पश्चिम 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एनसी ओली
एनसी ओली
लेखकबाट थप