आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु

शनिबार, २३ भदौ २०८०, १६ : ३९
शनिबार, २३ भदौ २०८०

काठमाडौँ । पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका-८ सम्शेरगंजस्थित सडकमा बिग्रिएर रोकि राखेको ना.८ ख ६४०५ नम्बरको ट्रकमा दाङबाट कोहलपुरतर्फ जाँदै गरेको ना.७ ख २३२१ नम्बरको बस ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा बसमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका-९ बस्ने ५० वर्षीय काशिराम थारू समेत ७ जनाको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर गाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । साथै दुर्घटनामा घाइते भएका अन्य ३३ जनालाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाएकोमा ४ जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको छ भने २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यता सिन्धुलीको दुधौली नगरपालिका-१० रातमाटास्थित सडकमा जल्किनेबाट दुधौलीतर्फ जाँदै गरेको बा.४ ख ५१३० नम्बरको कमलामाई बोर्डिङ स्कुलको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१३ बस्ने ५२ वर्षीय समर बहादुर तामाङको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । उक्त बसले प्रदेश १-०५-००१ ह ०१८३ नम्बरको अटोलाई ठक्कर दिँदा अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका अटोमा सवार २ जना दुधौली प्रयाग हस्पिटलमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै चितवनको राप्ती नगरपालिका-३ झुरझुरेस्थित सडकमा प्र.२-३-००२ ख ५६०९ नम्बरको ट्रक र ना.३ ख ५४८८ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा ना.३ ख ५४८८ नम्बरको ट्रक चालक नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१ बस्ने ४३ वर्षीय प्रकाश कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र.२-३-००२ ख ५६०९ नम्बरका चालक र सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उता भक्तपुरको सूर्यविनायक नगरपालिका-८ स्थित सडकमा प्रदेश ३-०२-००२ प ६९३ नम्बरको मोटरसाइकल बागमती प्रदेश ०३-००१ ख २४११  नम्बरको टेलर गाडीमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काभ्रेपलान्चोक बनेपा नगरपालिका-२ घिमिरेगाउँ बस्ने २५ वर्षीया नविना काफ्ले घिमिरेको घटनास्थलमै मृत्यु भएको छ । उक्त मोटरसाइकल बाग्मती प्रदेश ०२-०२३ प २८५९ नम्बरको मोटरसाइकलमा ठक्कर खाई अनियन्त्रित भई टेलर गाडीमासमेत ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकल चालकको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ । टेलर गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-१३ जिरोप्वाइन्टस्थित सडकमा वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको को.१ क ११५९ नम्बरको स्कुल बस र प्र.१-०२-०५२ प १९५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार सोही प्रतिष्ठानमा कार्यरत पर्सा घर भएकी २६ वर्षीया अम्बिका माखिमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस्तै झापाको कमल गाउँपालिका-३ बोहरा टोलस्थित सडकमा मे.११ प ९२०३ नम्बरको मोटरसाइकल र मे.२ प ५९२३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मे.२ प ५९२३ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका-३ बस्ने ३० वर्षीय वीरेन्द्र सहनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।  मे.११ प ९२०३ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप