सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लगातार दुई खेल जितेपछि माइकल नासिरलाई टोलीमा बोलायो अस्ट्रेलियाले

आइतबार, २४ भदौ २०८०, ११ : ११
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा लगातार दुई खेल जितेपछि अस्ट्रेलियाले माइकल नासिरलाई पनि टोलीमा समावेश गरेको छ । राष्ट्रिय टोलीबाट निकै कम एक दिवसीय प्रतियोगिता खेलेका ३३ वर्षीय नासिर तीव्र गतिका बलर हुन् ।

अस्ट्रेलियाले शनिवार राति सम्पन्न दोस्रो एक दिवसीय खेलमा पनि दक्षिण अफ्रिकालाई एक सय २३ रनको फराकिलो अन्तरले हराएको थियो । अस्ट्रेलियाले लगातार दुई खेल जित्दै पाँच खेलको शृङ्खलामा २—० को अग्रता लिएको छ । त्यसअघि पहिलो एक दिवसीय खेलमा अस्ट्रेलिया तीन विकेटले विजयी भएको थियो ।

आगामी एक दिवसीय विश्वकपको तयारीका क्रममा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक दिवसीय शृङ्खला खेलेका हुन् । शृङ्खलाको तेस्रो खेल मङ्गलवार खेलिने छ । अस्ट्रेलिया उक्त खेलमा पनि सफलता हात पार्दै दुई खेल अगावै शृङ्खला जित्ने धुनमा छ ।

त्यसैले अस्ट्रेलियाले तीव्र गतिका बलर नासिरलाई टोलीमा समावेश गरेको हो । नासिरले हालसम्म अस्ट्रेलियाका लागि दुईवटा एक दिवसीय मात्र खेलेका छन् । उनले सन् २०१८ मा इङ्ल्यान्ड भ्रमणका क्रममा ती दुई एक दिवसीय खेलेका थिए । 

दोस्रो एक दिवसीय खेलमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको भ्रमणकारी टोली अस्ट्रेलियाले निर्धारित ओभरमा आठ विकेट गुमाएर तीन सय ९२ रन बनाएको थियो । अस्ट्रेलियाका दुई ब्याट्सम्यानले शतक र दुई ब्याट्सम्यान अर्धशतक प्रहार गरेका थिए । 

ओपनर डेभिड वार्नरले एक सय ६ रन बनाएका थिए । उनले केवल ९३ बलको सामना गरी तीन छक्का र १२ चौका हिर्काएका थिए । मार्नस लाबुसचाग्नेले पनि टोलीका लागि एक सय २४ रनको योगदान गरे । उनले केवल ९९ बलको सामना गरी एक छक्का र १९ चौका हिर्काएका थिए । उनी प्लेयर अफ दी म्याच पनि घोषित भए । 

यसैगरी ओपनर ट्राभिस हेडले ६४ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका हेडले केवल ३६ बलको सामना गरी तीन छक्का र नौ चौका हिर्काए । जस इनग्लिसले पनि ५० रन बनाए । उनले ३७ बलको सामना गरी एक छक्का र सात चौका हिर्काएका थिए । 

दक्षिण अफ्रिकाका बलर टाबरिज सामसीले चार विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली दक्षिण अफ्रिकाका कुनै पनि ब्याट्सम्यानले अर्ध शतकसम्म बनाउन सकेनन् । हेनरिच क्लासेन र डेभिड मिल्लर ४९—४९ रनमा आउट भए । अस्ट्रेलियन बलर एडम जाम्पाले चार विकेट लिए । सिन एबोट, नाथन एलिस र एरोन हार्डीले दुई—दुई विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप