आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोरक्को : विनाशकारी भूकम्पपछि कस्तो छ अवस्था, प्रत्यक्षदर्शी पत्रकारको बयान

आइतबार, २४ भदौ २०८०, १४ : १४
आइतबार, २४ भदौ २०८०

मोरक्कोमा भूकम्पपछि आज दोस्रो सूर्य उदाएको छ र देशभरिका मानिस ६.८ तीव्रताको विनाशकारी भूकम्पपछिको विनाशबाट बाहिर निस्कने कोसिस गरिरहेका छन् । 

यस भूकम्पमा हालसम्म दुई हजारभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ भने दुई हजारभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने सम्भावना छ ।

देशको गृह मन्त्रालयका अनुसार सबैभन्दा धेरै विनाश सांस्कृतिक तथा ऐतिहासिक सहर माराकेशको दक्षिणमा भएको छ ।

भूकम्पपछि परकम्पको डरले मानिसहरू घरबाहिर सडक र पार्कमा नै दोस्रो रात बिताएका छन् । 

morocco1यस भूकम्पको केन्द्रबिन्दु हाई एटलस हिमाली क्षेत्रमा रहेको र सबैभन्दा बढी प्रभावित क्षेत्रबाट आएका समाचार अनुसार भूकम्पपछि गाउँहरू ध्वस्त भएका छन् ।

तर, पूर्ण जानकारी अझै आउन सकेको छैन । धेरै ठाउँमा पुरै परिवार भग्नावशेषमुनि दबिएकाले राहत र उद्धारकर्मीलाई पुग्नै कठिन भइरहेको छ ।

सबैभन्दा बढी प्रभावित क्षेत्रमा राहतकर्मी र उपकरण ढुवानी गर्न नै चुनौती बनेको छ । भूकम्पपछि धेरै ठाउँमा भग्नावशेषका कारण सडक अवरुद्ध वा भत्किएका छन् ।

यी दुर्गम पहाडी इलाकामा धेरै गाउँहरू यस्ता छन् जहाँ ठुलो सङ्ख्यामा मानिसको मृत्यु भएको छ । लासेन नामका व्यक्तिकी श्रीमती र चार सन्तानको भूकम्पमा परी मृत्यु भएको छ । 

समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै उनले भने, ‘मैले सबै गुमाएँ । म अब केहि गर्न सक्दिनँ । म संसारबाट टाढा बस्न चाहन्छु र मेरा प्रियजनहरू गुमाएकोमा शोक गर्न चाहन्छु ।’

गाउँमा मारिएकाहरूलाई गाड्न चिहान खन्न थालिएको छ । स्थानीय बासिन्दा हसनाले भनिन्, ‘बालबालिकाका लागि सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।’

भूकम्पको केन्द्रबिन्दु माराकेशबाट ७५ किलोमिटर दक्षिणमा रहेको र पहाडमा धेरै साना गाउँहरू छन् ।

morocco2पहाडी गाउँमा ठुलो विनाश

मोरक्कोका राजा मोहम्मद चौथोले देशको सेनालाई राहत र उद्धार कार्यमा संलग्न हुन आदेश दिएका छन् ।

फ्रान्स, अल्जेरिया र टर्की लगायत विश्वका धेरै देशले मोरक्कोलाई सहयोगको प्रस्ताव गरेका छन् । यस वर्ष टर्कीमा गएको विनाशकारी भूकम्पमा परी कम्तीमा ५० हजार जनाको मृत्यु भएको छ ।

बीबीसी संवाददाता निक बेकेका अनुसार धेरै ठाउँमा पूरै परिवार भग्नावशेषमुनि फसेका छन् । उनको एउटा रिपोर्ट अनुसार दुर्गम गाउँमा एकै परिवारका १८ जनाको मृत्यु भएको छ । यहाँ उनले शवको छेउमा एक वृद्ध महिला रोइरहेको भेट्टाए ।

पहाडी क्षेत्रको एउटा गाउँमा पुगेका निक बेकेका अनुसार चारैतिर विनाशको दृश्य छ ।

पालमा बनेको अस्थायी अस्पतालमा मानिसहरूको उपचार भइरहेको छ । यहाँ बीबीसी संवाददाताले भूकम्पमा घाइते भएका परिवारका सदस्यहरूलाई भेटे ।

morocco3भूकम्पपछि यो दुर्गम क्षेत्रमा खानेपानी र विद्युतको सङ्कट छ । एम्बुलेन्सलाई पनि त्यहाँ पुग्न समस्या भइरहेको छ ।

मौले ब्राहिमको पहाडी गाउँमा पुगेका बीबीसी संवाददाता निक बेकेलाई एक स्थानीयले भने, ‘धेरै मानिस मारिएका छन् । मेरा एक साथी पुरिएर मरे, हामीले आजै उनलाई गाडेका छौँ । ऊ जवान थियो ।’

मोहम्मद नामका एक व्यक्तिले बीबीसी संवाददातासँगको कुराकानीमा उक्त गाउँमा हालसम्म १६ जनालाई गाडिएको बताए । 

मोहम्मदले राहत कार्यमा सहयोग गरिरहेका छन् । उनी भन्छन्, ‘भूकम्प गएदेखि हामी हरेक मिनेट काम गरिरहेका छौँ । राहत कार्यका लागि यहाँ १० जना मात्रै उपस्थित छन्, भग्नावशेषमा पुरिएका मानिसलाई उद्धार गर्ने प्रयास गरिरहेका छौँ । अवस्था धेरै गाह्रो छ । ’

स्थानीय मोरक्कन रिपोर्टर हसन अलाउई एक भग्नावशेष गाउँमा पुगे । त्यहाँ उनले  एउटी महिला भेट्टाए जसलाई छिमेकीहरूले भग्नावशेषबाट निकालेका थिए ।

अलाउईले बीबीसीलाई भने, ‘यी महिलाको घर भूकम्पले पूर्ण रूपमा ध्वस्त भएको थियो । उनी रोइरहेकी थिइन्, छिमेकीहरूले उनको चिच्याहट सुने र उनलाई भग्नावशेषबाट जिउँदै निकालियो ।’

morocco4माराकेशमा मानिसहरू घर फर्कन डराउँछन्

माराकेशमा बीबीसी संवाददाता अन्ना हलिगनका अनुसार मानिसहरू अझै डरमा छन् र घर फर्कन कहिले सुरक्षित होला भन्ने कुरा पनि उनीहरूलाई थाहा छैन । 

माराकेशको मध्य क्षेत्रमा रहेको ऐतिहासिक जेमा–अल–फना मस्जिद अहिले भग्नावशेषको थुप्रो बनेको छ ।

मस्जिदको मिनार खसेको छ, केही भग्नावशेष नजिकैका गाडीहरूमा परेकाले सवारी साधनमा क्षति पुगेको छ ।

बीबीसी संवाददाता अन्ना हलिगनका अनुसार यहाँ पातलो, कमजोर बिरालाहरू घुमिरहेका छन् । यहाँबाट केही मिटर टाढा पसलले धुलो र फोहोर हटाउने प्रयास गरिरहेका छन् । घाम लागेसँगै घरबाहिर सुत्न आएका परिवारले ओछ्यान बटुलिरहेका छन् । 

राहत कार्यमा संलग्न टोलीसँग मानिसलाई जिउँदै निकाल्नका लागि पनि समय सिमित हुँदै गइरहेको छ । 

अन्ना हलिगनका अनुसार माराकेशका धेरै क्षेत्रमा मानिसहरू अस्थायी पालमा बसिरहेका छन् ।

हजारौँ परिवार पालमा बसेका छन् । प्रसिद्ध विश्व सम्पदा स्थल मदिनाको ऐतिहासिक मस्जिद नजिकै पङ्क्तिमा पाल टाँगिएका छन् ।

परिवारसँग ओछ्यान मात्र छन् र अधिकांश अत्यावश्यक वस्तुहरू घरमै छन् । जनताको मनबाट भूकम्पको डर अझै हटेको छैन ।

स्थानीय समय अनुसार शुक्रवार राति ११ बजेर ११ मिनेटमा यो भूकम्प गएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप