आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिपी साहित्य महोत्सव : विश्वप्रकाशको प्रश्नमा विश्लेषकको जवाफ

आइतबार, २४ भदौ २०८०, १७ : ३८
आइतबार, २४ भदौ २०८०

काठमाडौँ। आइतबारदेखि ‘बिपी साहित्य महोत्सव –२०८०’ सुरु भएको छ। बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपामा आजबाट महोत्सव सुरु भएको हो । 

महोत्सवको पहिलो दिन ‘हाईज्याकिङ फर डेमोक्रेस’ डकुमेन्ट्री प्रस्तुत गरिएको छ। त्यस लगत्तै कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महोत्सवको उद्‍घाटन गरेका छन्। देउवाले गमलामा रोपिएको फुलमा जल चढाएर उद्घाटन गरेका थिए । 

बिपी कोइरालाको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरु हिँडेको उनको भनाइ थियो । बिपीकै चिन्तनले मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको पनि देउवाले बताए । 

‘हाम्रो पार्टी बिपीले देखाएकै बाटोमा हिँडिरहेको छ,’ उनले भने, ‘मुलुकमा विस्तार भइरहेको समाजवादी अवधारणा बिपीकै चिन्तनमा आधारित छ।’ 

महोत्सवको पहिलो दिन प्राडा अभि सुवेदीको ‘बिपी साहित्य सृजना र जीवन दर्शन’ विषयमा सम्भाषण प्रस्तुत भएको छ। त्यसपछिको सत्रमा ‘बिपीका दृष्टिमा बिपी’ विषयमा साहित्यकार भुवन ढुंगाना, प्राध्यापक कृष्ण खनाल, लेखक सीके लालको प्रस्तुति सकिएको छ । 

सेसन संयोजक तथा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बिपीलाई अहिलेको परिस्थितिसँग जोडेर गरेकाे प्रश्नमा विश्लेषक सीके लालले वर्तमान नेताहरूमा प्रश्न सामना गर्ने आत्मविश्वास र साहस नभएको बताएका थिए । ‘अहिलेको समसामयिक समाज र राजनीतिको चुनौती नै के हो भने प्रत्येक व्यक्तिभित्र डर र भय छ,’ उनले भने, ‘उसले प्रश्नको सामना गर्न सक्दैन।’

आत्मचिन्तनका ज्ञानले मात्र डर र भयलाई हटाउने भन्दै त्यसका लागि अध्ययन चाहिने उनको भनाइ थियो । उनले विश्वविद्यालय एकपक्षीय सोच निर्माण गर्ने ठाउँ भएको लालले बताए ।  काम गर, फलको आस नगर भन्ने बीपी कोइराला आफैं जटिल पात्रको रुपमा रहेको टिप्पणी उनको थियो।

लालले भने, ‘बीपी आफैंमा एक जटिल पात्र हुन्। उनले आफ्नो आत्मकथामा भनेका छन्, अध्यात्मवादमा म रहस्यवाद हुँ। साहित्यमा म छायावादी रोमान्टिक हुँ। राजनीतिमा गान्धीको म आनन्दवादी हुँ। उहाँको रहस्यवाद, रोमाञ्चकवाद र आनन्दवादले जीवनलाई तीन रुपमा बुझ्न सकिन्छ।’

यस्तै अर्का राजनीतिक विश्लेषक कृष्ण खनाल बिपीका विचारलाई पार्टीले अंगाल्न नसकेको बताउँछन् । खनालले बिपीको समयमा जस्तो चरित्र अहिले नभएको भन्दै अहिलेका पात्रहरूलाई बिपीसँग तुलना गर्नै नसकिने बताएका थिए। खनालले भने, ‘चरित्र गुमाएको राजनीतिका पात्रहरूमा बिपी खोज्न सकिँदैन।’

उनले बिपीसँग तुलना गर्न योग्य पात्र वर्तमान अवस्थामा नेपालको राजनीतिमा नरहेको बताए । उनले भने, ‘बीपीले भनेका कुरा के नेपाली कांग्रेसमा लागू हुन्छ? कांग्रेसका नेताहरु त्यसलाई सुन्न चाहन्छन्? मलाई लाग्दैन। कांग्रेस सहित राजनीति गर्नेहरुमा मैले जति कसैले जानेको छैन, तिमीले त मेरो फलो गर्ने हो, मैले भनेको नमान्ने? भन्ने जस्तो अहंकार छ।’

खनालले थपे, ‘आज मैले त्यो चेतना भएको मान्छे नेपालको राजनीतिमा देखेको छैन। म त प्रधानमन्त्री भएँ, पार्टीको सभापति भएँ, म ठूलो नेता भएँ, यत्रा मान्छे मेरो पछि आउँछन्, ताली पिट्छन् भन्ने दम्भ नेपालको राजनीति चलिरहेको छ।’

 साहित्यकार भुवन ढुंगानाले बीपी एक, प्रतिभा अनेक भएका व्यक्ति भएको उल्लेख गरिन्। बीपीको भनाइ उदृत गर्दै उनले भनिन्, ‘बीपीको साहित्यमा निकै लगाव थियो। उहाँ आफैंले राजनीतिबाट छुट्टी पाएँ भने साहित्यमा लाग्ने प्रण गर्नुभएको थियो।’ 

भोटो र कात्रोको विषय उठाउँदै लोकतन्त्रसँग यसको सम्बन्धका बारेमा प्रष्ट पारिन्। उनले भनिन्, ‘भोटो र कात्रोको विषय बीपीले आफ्नो आत्मकथामा उल्लेख गर्नुभएको छ। आफ्ना बुबा र महात्मा गान्धी बीपीका रोल मोडेल हुनुहुन्थ्यो। १२—१३ वर्षकै उमेरमा बीपीका बुबाले पठाएका लुगाहरुमध्ये भोटोको विषय बीपीको आत्मकथामा समेटिएको छ।’ 

बीपीले जेलमा लेखेका उपन्यासहरु सबै उहाँको स्मरण शक्तिमा आधारित रहेको टिप्पणी समेत ढुंगानाले गरिन्। उनले बीपी साहित्य र राजनीति दुवै पक्षमा उत्तिकै अब्बल रहेको बताइन्।  त्यस्तै आजकै अर्को सत्रमा साहित्यकारहरू राम लोहनी, कोमल फुयाल र साधना प्रतिक्षाले ‘बीपीका आख्यानमा मनोविश्लेषण’ विषयमा भनाइ राखिरहेका छन् ।  

यसपछि ‘साहित्यमा पर्यावरण’ विषयमा अम्मराज लोहनी, तीर्थबहादुर श्रेष्ठ र संगीता रायामाझीको प्रस्तुति हुनेछ। आइतबारको अन्तिम सत्रमा बमकुमार वुढामगर, अमृत योञ्जन र चन्द्र किशोरले ‘नेपालको मातृभाषा साहित्य’ विषयमा विचार राख्ने छन् ।

आज साँझ २० जना कवि र कवयित्रीले कविता वाचन गर्नेछन् । महोत्सवको पहिलो दिन कार्यक्रमको संचालन सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गरेका छन् ।

महोत्सवको दोस्रो दिन बिहान ९ बजे ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत गरिने भएको छ। त्यसपछि प्रख्यात प्राध्यापक आनन्दकुमारले ‘मार्क्स, गान्धी एण्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गर्नेछन्।

सोमबार नै हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झाले ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा मन्तव्य राख्ने छन्।  सोही दिन दिउँसो २ बजे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्री डा.नारायण खड्का, प्रदीप ज्ञवाली र ईन्द्र अधिकारीले ‘अन्तराष्ट्रिय राजनीति र कुटनीतिमा बीपी’ विषयमा मन्तव्य राख्ने कार्यक्रम छ । 

यस्तै साहित्यकारहरू बुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा, सुविन भट्टराईले ‘युवा स्रष्टामा बीपी पठन’ विषयमा प्रस्तुति रहनेछ भने साँझ ३० जना गजलकारहरूले गजल साँझमा प्रस्तुति दिनेछन्। 

महोत्सवको तेश्रो तथा अन्ति दिन बिहान ९ बजे ‘तीन घुम्ती’ चलचित्र प्रस्तुति गरिने भएको छ। तेस्रो दिनको पहिलो सत्रमा प्राडा केदारभक्त माथेमाले बीपीको समाजवादी परिकल्पनामा शिक्षा’ विषयमा सम्भाषण दिनेछन् । 

दिउँसो १२ बजे चित्रलेखा यादव, आहुति र मोहना अन्सारीले ‘समावेशिता, सामाजिक रुपान्तरण र बीपी’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्। ‘समय र सवाल्र्टन’ विषयमा शिव रिजाल, तारालाल श्रेष्ठ र धनकुमारी सुनारले मन्तव्य राख्ने कार्यक्रम छ। दिउँसो साढे २ बजे ‘बीपीका आख्यानमा नारी’ विषयमा नारायण चालिसे, रेणुका थापा, ज्ञानु अधिकारी र उमा सुवेदीले आफ्नो भनाई प्रस्तुत हुनेछ ।

महोत्सवको अन्तिम दिन ‘परिवारले बुझेका बीपी’ विषयमा डा.शेखर कोइराला, सुजाता कोइराला र डा.शशांक कोइरालाले भनाई राख्नेछन्। महोत्सवको अन्तिम दिन कुटुम्ब व्याण्डले सांगीतिक प्रस्तुति दिने भएको छ । 

महोत्सवको बीचमा मुकेश मल्ल, सुनिता राणा, प्रमिला परियार, भीषण राजभण्डारी, किरण सिगु, किरण मानन्धर, नगेनसिंह ठकुरी, विजय थापा, जजुकाजी श्रेष्ठ, रविन कोइराला, धनबहादुर याख्खा र महेश आचार्यले वक्ताहरूको लाइभ आर्ट गर्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप