सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चीन र युरोपबीच कुनै स्वार्थको द्वन्द्व छैन : चिनियाँ प्रधानमन्त्री

आइतबार, २४ भदौ २०८०, २१ : २७
आइतबार, २४ भदौ २०८०

नयाँदिल्ली । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले युरेसियाको विपरीत छेउमा रहेको चीन र युरोपबीच कुनै भूराजनीतिक द्वन्द्व नरहेको बताएका छन् ।

युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग जी–२० शिखर सम्मेलनका क्रममा भएको भेटमा लीले द्विपक्षीय सम्बन्धको सुदृढ र स्थिर विकासका लागि चीन युरोपसँग मिलेर काम गर्न तयार रहेको बताए । 

उनले भने, “चीन र युरोप विश्वका दुई प्रमुख शक्ति, बजार र सभ्यता भएकाले चीन–युरोप सम्बन्धले युरेशियन महाद्वीपको विश्वव्यापी स्थिरता र समृद्धिलाई टेवा पुर्‍याउँछ ।” 

चिनियाँ प्रधानमन्त्री लीले भने, “चीन समृद्ध र स्थिर युरोप हेर्न चाहन्छ र आफ्नो साझेदारीमा प्रतिबद्ध रहन, संवाद र आदानप्रदानलाई थप मजबुत बनाउन, पारस्परिक लाभकारी सहयोगलाई प्रगाढ बनाउन चाहन्छ । संवेदनशील मुद्दाहरूको उचित व्यवस्थापन गर्न, चीन–युरोप सम्बन्धको दिगो, स्वस्थ र स्थिर विकासलाई बढवा दिन र यस अशान्त विश्वमा स्थिरता र सकारात्मक ऊर्जा प्रवाह गर्न युरोपेली पक्षसँग काम गर्न चीन सधैँ तयार छ ।”

उनले दुवै पक्षले रणनीतिक मार्गनिर्देशनलाई बलियो बनाउनुपर्ने बताए । 

यस वर्ष चीन–ईयू व्यापक रणनीतिक साझेदारीको २० औं वर्षगाँठको रूपमा, चिनियाँ प्रधानमन्त्रीले मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनसँग चीन–ईयू शिखर सम्मेलनको नयाँ चरणको सह–अध्यक्षता गर्न उत्सुक रहेको बताए । 

चीनको विकास युरोपका लागि जोखिम नभई अवसर हो र दुवै पक्षले पारस्परिक लाभका लागि खुलेर सहकार्य गरिरहनुपर्छ । अहिले वा भविष्यमा जस्तोसुकै भए पनि लीले चीन युरोपको भरपर्दो मित्र र साझेदार रहेको र रहिरहने प्रतिबद्धता व्यक्त गरे । 

चीन युरोपसँग संवाद र वार्ता बढाउन, चीन–युरोप आर्थिक र व्यापारिक सम्बन्धको विश्वसनीयता र स्थायित्व लाई बढवा दिन सान्दर्भिक संयन्त्रहरू स्थापना गर्न छलफल गर्न तयार रहेको बताउँदै उनले चीनमा लगानी र सञ्चाल गर्न थप युरोपेली व्यवसायहरूलाई स्वागत गरिने बताए । 

उक्त अवसरमा युरोपेली परिषद्का अध्यक्ष मिशेलले ईयूले पनि चीनलाई एक आर्थिक रूपमा सम्पन्न एक असल र सहयोगी मित्रका पमा हेर्ने गरेको बताए । 

उक्त अवसरमा युरोपेली परिषद्का अध्यक्ष मिशेलले भने, “ईयू एक चीन सिद्धान्तमा अडिग छ । सफल ईयू–चीन शिखर सम्मेलनको आयोजना गर्न, विभिन्न क्षेत्रमा संवाद र सहयोगलाई गहन बनाउन र जलवायु परिवर्तन, सार्वजनिक स्वास्थ्य, सुरक्षा र स्थिरताजस्ता विश्वव्यापी चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्न चीनसँग काम गर्न ईयू तयार रहेको छ ।”-(रासस/सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप