आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१६ वर्षे फुटबलरमा युरोपियन महारथीहरुको आँखा, टोट्टनहामले मार्ला त बाजी ?

सोमबार, २५ भदौ २०८०, ११ : ५५
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । युरोपियन फुटबलका महारथी क्लबहरुले यतिबेला एक किशोरमाथि आँखा लगाएका छन् । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले यी १६ वर्षे किशोरलाई क्लबमा भित्र्याउन ठुलै कसरत गरिरहेका छन् । 

स्पेनिस ‘पावर हाउस’ बार्सिलोना र रियल म्याड्रिड तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले पनि उनलाई क्लबमा आबद्ध गर्न चाहेका छन् । तर, यी सबै युरोपियन हस्ती क्लबहरुलाई इङ्लिस क्लब टोट्टनहामले पछि पार्ने सम्भावना बढेको छ । 

टोट्टनहामले १६ वर्षीय क्रोएसियन डिफेन्डर लुका भुस्कोभिचलाई भित्र्याउने प्रक्रियासमेत अगाडि बढाइसकेको समाचारमा जनाइएको छ । उनी गत फेब्रुअरीमा मात्र १६ वर्ष पुगेका हुन् । उनी हाल क्रोएसियन क्लब हाजदुक स्प्लिटमा आबद्ध छन् । 

हाजदुक स्प्लिटलाई क्रोएसियन कपको उपाधि चुमाउन लुका भुस्कोभिचले महत्वपूर्ण योगदान गरेका थिए । आफ्नो १६ औं वार्षिकोत्सव मनाएको पाँच दिनपछि नै उनी हाजदुकका लागि गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए । 

लुका भुस्कोभिचलाई भित्र्याउन विभिन्न चरणमा वार्ता गरेको र प्रक्रिया अन्तिम चरणमा पुगेको टोट्टनहामले जनाएको छ । लुका भुस्कोभिच पनि टोट्टनहाममा आबद्ध हुन सहमत भएको समाचारमा जनाइएको छ ।

टोट्टनहामले लुका भुस्कोभिचलाई भित्राउने सम्झौता गरेपनि उनी अझै केही समय क्रोएसियन क्लबमै रहने छन् ।  लुका भुस्कोभिच क्रोएसियन क्लब हाजदुककै उत्पादन हुन् । त्यसैले १८ वर्ष उमेर नपुगेसम्म उनी हाजदुकमै रहने छन् । त्यसपछि मात्र उनी टोट्टनहाम आउने छन् ।

यसको अर्थ लुका भुस्कोभिच सन् २०२५ मा टोट्टनहाममा आबद्ध हुनेछन् ।   टोट्टनहामले लुका भुस्कोभिचका लागि कति रकम खर्च गर्दैछ भन्ने कुरा समाचारमा खुलाइएको छैन ।

एक अपुष्ट समाचारका अनुसार, टोट्टनहामले उनका लागि एक करोड २० लाख ब्रिटिस पाउन्ड खर्च गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप