आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक अभाव, शल्यक्रिया सेवा बन्द

सोमबार, २५ भदौ २०८०, २२ : ३०
सोमबार, २५ भदौ २०८०

म्याग्दी । जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक अभावका कारण शल्यक्रिया सेवा बन्द भएको छ । शल्यक्रिया सेवा दिँदै आएका चिकित्सकको अन्यत्र सरुवा भएर गएका र अर्का चिकित्सक नआएकाले एक हप्तायता जोमसोम अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको हो । 

जटिल अवस्थाका गर्भवतीलाई बेनी, बागलुुङ र पोखरा पुुग्नुुपर्ने अवस्था सिर्जना भएको हो । अस्पतालमा आठ महिनादेखि कार्यरत चिकित्सक डा मुुखिया घले सरुवा भएर गएपछि चिकित्सक अभावमा शल्यक्रिया सेवा उपलब्ध गराउन नसकिएको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले बताए ।  

“भौगोलिक विकटताका कारण मुस्ताङमा दक्ष र अनुभव प्राप्त चिकित्सक आउनै नमान्ने र आएपछि छिट्टै सरुवा भएर अन्य जाने समस्याले सेवा प्रभावित भएको छ,” उनले भने, “शल्यक्रिया सेवाको निरन्तरताका लागि जनशक्तिको स्थिरता आवश्यक छ ।” 

स्थापनाको ४८ वर्षपछि शल्यक्रिया सेवा सुरु गरेको मुस्ताङ अस्पतालले गत वर्ष छ जनालाई शल्यक्रियामार्फत प्रसूति सेवा दिएको थियो । यसैगरी बिग्रिएको उपकरण मर्मत नहुँदा २५ शय्या क्षमताको मुस्ताङ अस्पतालको भिडियो एक्स–रे सेवा पनि बन्द भएको छ ।

जनशक्ति र पूर्वाधार भने १५ शय्या बराबरको रहेको छ । मुुस्ताङ अस्पतालमा नवौँ तहका एकजना चिकित्सकको नेतृत्वमा विभिन्न तहका १८ जना जनशक्तिको दरबन्दी छ । एक चिकित्सक, एक अनमी र ६ जना कार्यालय सहयोगीको पदपूर्ति भएको छैन । 

जनशक्ति अभावमा प्रयोगशाला, भिडियो एक्स–रे, आकस्मिक, फार्मेसी सेवा प्रभावित बनेको छ । सूचना अधिकारी बस्नेतका अनुसार सबै सेवालाई नियमित सञ्चालन गर्न न्यूनतम २० जना जनशक्ति आवश्यक छ ।

चिकित्सक र अन्य जनशक्ति जति सक्दो छिटो पठाउनका लागि गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालयमा अनुुरोध गरिएको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप