आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनएको लगानीमा २०.७३ मेगावाटको जल्दीगाड जलविद्युत आयोजनाको पीपीए सम्पन्न

मङ्गलबार, २६ भदौ २०८०, १९ : ३७
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । रुकुम पूर्वमा निर्माण हुने २०.७३ मेगावाट क्षमताको जल्दीगाड जलविद्युत आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) मंगलवार सम्पन्न भएको छ ।

आयोजनाको प्रवर्द्धक सांग्रिला हाईड्रोपावर प्राली र नेपाल विद्युत् प्राधिकरणबीच मंगलवार ६ महिना हिउँद-६ महिना वर्षायाम हुनेगरी टेक और पे मोडलमा पीपीए हस्ताक्षर भएको हो । आयोजनाले उत्पादन गरेको विद्युत् हिउँद याममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत् प्राधिकरणले खरिद गर्ने गरी सम्झौता भएको छ ।

आयोजनाका तर्फबाट सांग्रिला हाईड्रोपावर प्रालीका अध्यक्ष खगेन्द्र न्यौपाने र विद्युत् प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक प्रदिप कुमार थिकेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सांग्रिला हाइड्रोपावर प्रालीमा मलेसियामा बसेर विभिन्न क्षेत्रमा  व्यवसाय  गरेका सफल ब्यावसायी गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसिसि सचिव खगेन्द्र न्यौपाने अध्यक्ष र संचालकहरुमा एनआरएनए आईसिसि उपाध्यक्ष एवं सफल ब्यावसायी आरके शर्मा, एनआरएनए युवा उपाध्यक्ष एवं कतारका सफल युवा व्यावसायी राज रेग्मी, युवा ब्यावसायी नविन कँडेल, युवा व्यावसायी रविन गुरुङसहित व्यवसायी सरोज धिताल समेत रहेका छन् । यसलाई चुस्त र बलियो टिमवर्कसहित अघि बढ्ने न्यौपानेले बताए । उक्त हाईड्रोपावरमा ठुलो लगानी एनआरएनएहरुको रहनेछ भने नेपालमा रहेर  विभिन्न क्षेत्रमा अब्बलता कमाएका ब्याबसायीहरुको पनि लगानी रहने अध्यक्ष न्यौपानेले बताए । 

उक्त हाइड्रोको प्रमुख लगानीकर्ताहरूमा  एनआरएनए आईसिसि सचिव खगेन्द्र न्यौपाने, एनआरएनए आईसिसि उपाध्यक्ष आरके शर्मा, एनआरएनए युवा उपाध्यक्ष राज रेग्मी युवा व्यावसायी रविन गुरुङसहित रहने जनाइएको छ ।

रुकुम पश्चिम आठविसकोट  नगरपालिका वार्ड नम्बर ३ र ४ मा निर्माण हुने आयोजना जल्दीगाड खोलामा निर्माण हुनेछ । 

४२२ मिटर हेड रहेको आयोजनाको डिजाइन  क्यु ४२.५  रहेको छ । आयोजनामा २ हजार ५०० मिटर सुरुङमार्ग र ३५०० मिटर पेनस्टक पाइप प्रयोग गर्नेगरी बन्नेछ ।

आयोजनाले आयोजनाको विद्युतगृहदेखि नेपाल विद्युत् प्राधिकरणको बाफिकोट सबस्टेशनसम्म १३२ केभी क्षमताको सब स्टेसन वा ८ किमी नजिक रहेको ४०० केभीको जाजरकोट दानेपिपलमा रहेको सबस्टेशनमा जोडिनेछ ।आयोजनासम्म जाने पहुँचमार्ग खुलिसकेको र स्तरोन्नती गर्नुपर्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणको अनुमानित लागत ४ अर्ब रुपैयाँ रहेको छ ।

यसै वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन सकेर निर्माणमा जाने तयारी रहेको जल्दीगाड हाइड्रोका अध्यक्ष  न्यौपानेले  जानकारी दिए । आयोजनाको विद्युत् उत्पादन गर्नुपर्ने मिति २०८५ मंसिरभित्र रहेको छ । आयोजनाबाट वार्षिक रुपमा १२७.२९ गिगावाट आवर विद्युत् ऊर्जा उत्पादन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप