जारी भएका ४९८ वटा रातो पासपोर्टमध्ये १३० अझै भएनन् फिर्ता
काठमाडौँ । विगत आठ बर्षमा सरकारका उच्च अधिकारीहरुले विदेश भ्रमणका लागि लगेका ४९८ वटा रातो पासपोर्ट मध्ये झण्डै एक तिहाइले अझै फिर्ता नगरेको पाइएको छ । राहदानी विभागका अनुसार यसअघि रातो पासपोर्ट लिएका ४९८ सांसद र मन्त्रीहरुमध्ये ३६८ जनाले मात्रै फिर्ता गरेका हुन् ।
‘बाँकीले पनि फिर्ता गर्ने तयारी गरेको जानकारी आएको छ, दुरुपयोग भएको छैन भन्नेमा हामी विश्वस्त छौ’ राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले रातोपाटीलाई बताए । राष्ट्रपतिदेखि प्रधानमन्त्री, सांसदलगायतका उच्चपदस्थहरुले रातो पासपोर्ट प्रयोग गर्दै आएका छन् ।
सरकारले सन् २०१० पछि नेपालमा मेसिन रिडेवल (एमआरपी ) लागु गरेको छ । राहदानी विभागका अनुसार विभागबाट हालसम्म ५२ लाख बढीले विभिन्न किसिमका राहदानी लिइसकेका छन् ।
जुन नेपालको जनसंख्याको १९ प्रतिशत रहेको राहदानी विभागका महानिर्देशक खड्काले जनाए ।
यसैवीच अवदेखि संघीय संरचनाका सवै प्रमुखहरुले कुटनीतिक राहदानी प्रयोग गर्न पाउने भएका छन् । तर, उनीहरुले पाउने राहदानीको किसिम भने फरक फरक हुनेछ ।
मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार सबै गाउँपालिका प्रमुखले कुटनीतिक राहदानी प्रयोग गर्न पाउने भएका हुन् । यसअघि जिल्ला समन्यसमितिका संयोजकसम्मले मात्रै कुटनीतिक राहदानी पाउने व्यवस्था थियो । तर, उनीहरुले प्रयोग गर्ने राहदानी रातो नभएर निलो रंगको हुनेछ । जसलाई ‘अफिसियल’ राहादानी भनेर चिनिन्छ ।
निलो पासपोर्ट गाउँपालिका प्रमुख, नगरपालिका प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिका संयोजकले प्रयोग गर्न पाउनेछन् । यसअघि जिसस र नगरपालिका प्रमुखले यो पासपोर्ट प्रयोग गर्न पाउने व्यवस्था थियो । सरकारको पछिल्लो निर्णयमा गाउँपालिका प्रमुख पनि थपिएका हुन् ।
सरकारले तीन किसिमका राहदानी प्रयोगमा ल्याएको छ ।
जसमा रातो, निलो र हरियो रहेका छन् ।
रातो पासपोर्ट राष्ट्रपतिदेखि, प्रधानमन्त्री, मन्त्री, सांसदलगायत विशिष्ट व्यक्तिहरुले प्रयोग गर्न पाउनेछन् भने दोस्रो तहको पार्सपोर्ट भनेर चिनिने निलो रंगको राहदानीलाई विशेष राहदानी भनेर चिनिन्छ ।
जुन कर्मचारीले विदेश जान प्रयोग गर्ने गर्छन् ।
साधारण राहदानी भने सवै सर्वसाधारणले प्रयोग गर्न सक्नेछन् । जसको रंग हरियो हुन्छ ।