आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अनुसन्धान

सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन सीआईबीको राय

बुधबार, २७ भदौ २०८०, ११ : ३०
बुधबार, २७ भदौ २०८०

काठमाडौँ ।  केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी)ले ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ । सरकारी वकिलको कार्यालय काठमाडौँलाई बुझाउन लागिएको प्रतिवेदनमा ५० जनालाई प्रतिवादी बनाउन राय दिइएको सीआईबीका एसपी सञ्जयसिंह थापाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

जसमा ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सीआईबीको भनाइ छ । सीआईबीले हङकङबाट ल्याइएको उक्त अवैध सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो । 

सीआईबीकी प्रमुख किरण बज्राचार्यले सीआईबीका ४२ जनाको टोलीले ३५ दिन गलाएर सो अनुसन्धान गरेको जानकारी दिइन् । साथै उनले सीआईबीले तयार पारेको प्रतिवेदन आजै जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्ने जानकारी पनि दिइन् । 

तस्करीको सुन अनुसन्धानमा खासगरी तीन टोली बनाएर अधिकृतहरू खटिएको प्रहरीले जनाएको छ । जसमा फस्ट टेक्निकल टिम, एक्पोर्ट टिम र इन्गेष्टिभ टिम बनाइएको थियो । ती टोलीले दैनिक १८ घण्टासम्म काम गरेको पनि प्रमुख बज्राचार्यले जानकारी दिइन् ।

सुन तस्करी गर्न खडा गरिएका कम्पनीहरुले ६० किलो ७१६ ग्रामबाहेक थप ३०२.०६२ किलो सुन ल्याएको ब्युरोले जनाएको छ ।  सीआईबीले रेडी ट्रेडसहितका ७ कम्पनीविरुद्ध ३ अर्ब ५० करोड दुई लाख सोह हजार पाँच सय बाउन्न रुपैयाँ बिगो कायम गरेर अदालतमा मुद्दा दायर गर्न जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ ।

सीआईबीले भनेको छ, ‘हाल सम्मको अनुसन्धानको क्रममा जम्मा ३२ जना नेपाली तथा बिदेशी नागरिकहरू पक्राउ परेका र रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाई छिपाई अवैध पैठरी गरेको जम्मा वरामद ६०.७१६ किलो र सुन निकाली पुनः प्याकिङ गरिएको अवस्थामा वरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको ३०२।०६२ किलो गरी जम्मा ३६२.७७८ किलोग्राम सुनको हुन आउने मुल्य रू ३,५०,०२,१६,५५२ (तीन अर्ब पचास करोड, दुई लाख सोह हजार पाँच सय वाउन्न) बराबरको सनु अवैध पैठारी भएको पुष्टि हुन आएको छ।’

सीआईबीले सुन तस्करी प्रकरणमा संलग्नहरुविरुद्ध छु्ट्टाछुट्टै ४ वटा मुद्दा चलाउन पनि जिल्ला अदालत काठमाडौँलाई राय दिएको जनाएको छ ।  

थापाले भन्सार ऐन २०६४ को दफा ५७ (१) (३) को १ (ख), संगठित निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक २०५८ को दफा ९५ र मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा चलाउन राय दिइएको बताए । 

यो प्रकरणमा पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । 

विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो ।


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप