आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सबैभन्दा लामो समयसम्म अन्तर्राष्ट्रिय फुटबल खेल्ने लिमाले लिए सन्न्यास

बुधबार, २७ भदौ २०८०, १७ : ५९
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । विश्व फुटबलमा खासै चर्चित नाम होइन, इडेफोन्स लिमा । तर, उनी विगत २६ वर्षदेखि निरन्तर फुटबल खेल्दै आइरहेका छन् । उनीसँगै फुटबल खेलेका थुप्रै खेलाडीले सक्रिय खेलजीवनबाट विदा लिएको पनि लामो समय बितिसकेको छ ।   तर, ४३ वर्षको उमेरमा पनि उनी मैदानमा उत्तिकै उत्साहका साथ सक्रिय थिए । खासमा लिमा एन्डोराको राष्ट्रिय फुटबल टोलीका कप्तान हुन् । उनले हालसम्म देशका लागि एक सय ३७ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । 

विश्वका चर्चित क्लबहरुबाट ब्यवसायीक फुटबल नखेलेकाले पनि उनको नाम खासै चर्चामा रहेन । निरन्तर २६ वर्ष फुटबल मैदानमा पसिना बगाएका उनै लिमाले अहिले आएर अन्तर्राष्ट्रिय खेलजीवनबाट विदा लिने निणर्य गरेका छन् ।  लिमाले केवल १७ वर्षको उमेरमा एन्डोराको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । सन् १९९७ मा उनले ‘डेब्यू’ गरेको खेलमा एन्डोरालाई इस्टोनियाले १—४ गोलले हराएको थियो । हरेक ठूला प्रतियोगितामा एन्डोराको जर्सी लगाएर मैदानमा देखिने लिमाले मंगलबार आफ्नो खेलजीवनमा अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता खेले ।

रमाइलो संयोग नै मान्नु पर्छ, उनले खेलेको ‘डेब्यू’ खेलमा एन्डोरा पराजित भएको थियो भने उनले देशका लागि खेलेको अन्तिम खेलमा पनि एन्डोरा पराजय भोग्न बाध्य भयो । मंगलबारको खेलमा स्विट्जरल्यान्डले एन्डोरालार्य ३—० गोलले हरायो ।  स्विट्जरल्यान्डविरुद्घ मंगलबार खेलिएको खेलको २३औं मिनेटमा उनी परिवर्तित खेलाडीका रुपमा मैदानबाट बाहिरिएका थिए । उनी मैदानबाट बाहिरिँदा एन्डोरा र स्विट्जरल्यान्डका खेलाडीले उनलाई थपडी बजाएर सम्मान ब्यक्त गरेका थिए ।

उनी मैदानबाट बाहिरिँदै गर्दा दुबै टोलीका समर्थकहरुले पनि आ—आफ्नो सिटबाट उठेर उनीप्रति सम्मान ब्यक्त गरेका थिए । २३औं मिनेटमा उनको ठाउँमा रिकार्ड फर्नान्डेज बेट्रिउ मैदानभित्र प्रवेश गरेका थिए । लिमाले अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ खेल खेलेको दुई वर्षपछि मात्र रिकार्ड फर्नान्डेजको जन्म भएको थियो । 

‘गिनिज वर्ल्ड रेकर्ड’ मा पनि लिमाको नाम लेखिएको छ । सबैभन्दा लामो समयसम्म अन्तर्राष्ट्रिय फुटबल खेल्ने खेलाडीको रुपमा सन् २०२१ मा उनको नाम ‘गिनिज वर्ल्ड रेकर्ड’ मा लेखिएको हो । खेल सकिएपछि पनि टोलीका साथीहरुले उनको ससम्मान विदाइ गरेका थिए ।

लिमा करिब एक दशकअघि केवल ७९ हजार जनसंख्या रहेको मुलुक एन्डोराको राष्ट्रिय टोलीको कप्तान बनेका थिए । उनले खेलेको एक सयभन्दा बढी खेलमा एन्डोरा पराजित भएको थियो । उनले खेलेको सातवटा खेलमा मात्र एन्डोरा विजयी भएको थियो । पछिल्लो पटक सन् २०२२ मा भएको नेसन्स लिगमा एन्डोराले लिचटेनस्टियनलाई २—० गोलले हराएको थियो । 

चारवटा फरक दशकमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने उनी युरोपकै तेस्रो खेलाडी हुन् । यसअघि वेल्सका बिली मेरेडिथ र फिनल्यान्डका जारी लिटम्याननले यस्तो उपलब्धि हासिल गरेका थिए । यसै वर्ष उनी सबैभन्दा बढी उमेरमा यूईएफए युरोपियन च्याम्पियनसिपको छनोट खेल्ने खेलाडी पनि बनेका थिए । लिमा एन्डोराको राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।

उनले हालसम्म एन्डोराका लागि ११ गोल गरेका छन् । उनले यसअघि नै अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्न्यास लिने योजना बनाएका थिए । तर, राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक र खेल पदाधिकारीहरुको अनुरोधका कारण उनले सन्न्यास लिएका थिएनन् । उनले स्पेनको स्पान्योल, लस पाल्मस, रायो भालेकानोजस्ता क्लबबाट ब्यवसायीक फुटबल खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप