आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
दुर्घटना

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि तनाव, प्रहरीद्वारा हवाई फायर

शुक्रबार, २९ भदौ २०८०, १७ : २५
शुक्रबार, २९ भदौ २०८०

रौतहट । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट  मोटरसाइकल चालकको मृत्यु भएको हो । 

कोपवा बजारमा सिमेन्ट पुर्याएर निजगढतर्फ जाँदै गरेको ना ५ ख ३४५१ नम्बरको ट्रकले  ना५१ पा ४९४१ को मोटरसाइकललाई ठककर दिदाँ चालक फतुवा बिजयपुर १ का ३५ वर्षीय उमेश यादवको घटनास्थलमै मृत्यु भएको हो। 

तीव्र गतिमा रहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीले ट्रकले ब्याक गरेर किच्दा मोटरसाइकल चालकको ज्यान गएको आरोप समेत लगाएका छन् ।

ट्रकको ठक्करबाट यादवको टाउको क्षतविक्षत भएको छ भने मोटराइकल पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

घटनालगतै ट्रक चालक बारा निजगढ ६ का  मुकुन्द पोखरेल माथि स्थानीवासीले हातपात गरेका थिए ।  पोखरेललाई इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट गएको टोलीले सुरक्षा दिँदा स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो ।

झडपमा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर विजय कार्कीले बताए। 

झडपमा प्रहरी कार्यालय को झ्यालको सिसा फुटेका छन् भने केही प्रहरी घाइते भएका छन् । ट्रक चालक पोखरेललाई उपचारका लागि वीरगंज अस्पताल पठाइएको प्रहरीले बताएको छ।

घटना भएलगत्तै  अपरान्ह ३ बजेदेखि नै मृतकका आफन्तले बन्कुल निजगढ सडकखण्ड अन्तर्गत सन्तपुर दोस्तिया चोकमा शव तेर्साएर बाटो अवरुद्ध गरेका छन्।

उनीहरुले दोषीमाथि कारबाही र क्षतिपूर्तिको मागसहित नारबाजी गरेका छन् । अहिले जिल्ला प्रहरी कार्यालय गौर र सशस्त्र प्रहरी बेस क्याम्पबाट दर्जनौं प्रहरी घटनस्थलमा पुगेका छन् ।

इन्स्पेक्टर कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। अहिले पीडित पक्ष र प्रहरी बीच वार्ता भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप