आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

शनिबार, ३० भदौ २०८०, १७ : २८
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका-२ आपकोरूख दुल्लुस्थित भित्री सडकमा लु.३ त ९६९४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ पाली बस्ने २५ वर्षीय धर्म महतको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ ।

यता रौतहटको फतुवा विजयपुर नगरपालिका-५ सन्तपुर चोकमा ना.५ ख ३४५१ नम्बरको ट्रकले ना.५१ प ४९४१ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ घुसुकपुर बस्ने ३५ वर्षीय उमेश राय यादवको घटनास्थलमै मृत्यु भएको छ । सोही विषयलाई लिएर स्थानीय बासिन्दाले ढुङ्गामुढा गर्दा घाइते भएका ट्रक चालकको विजयपुरस्थित नेशनल हस्पिटल हुँदै नेशनल मेडिकल कलेज वीरगंजमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । 

त्यस्तै धनुषाको धनुषाधाम नगरपालिका-६ मालटोलस्थित सडकमा बागमती प्रदेश ०१-०२७ च ०३८९ नम्बरको पिकअप गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर गाइते भएक उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । 

उता कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ निगाली चोकमा लु.२७ प २९०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ रामापुर बस्ने ५० वर्षीय कन्हैया यादवको शुक्रबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ घुमाउने डाँडास्थित सडकमा ना.८ ख ३७६ नम्बरको ट्याङकरले बा.प्र.०२-०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बासखर्क बस्ने २७ वर्षीय समिर तामाङ र मोटरसाइकलमा सवार मेलम्ची नगरपालिका-११ जरायोटार पाण्डेगाउँ बस्ने २७ वर्षीय नबिन पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप