आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुलपति राईद्वारा एकल कविता वाचनसहित  प्राज्ञिक सत्ताबारे विमर्श

आइतबार, ३१ भदौ २०८०, ०९ : ४४
आइतबार, ३१ भदौ २०८०

भरतपुर । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रम शनिवार भरतपुरमा सम्पन्न भएको छ । भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको व्यवस्थापकीय सहयोगमा साहित्य सङ्गम चितवनले उक्त कार्यक्रम आयोजना गरेको हो । 

भरतपुर महानगरको हलमा आयोजित कार्यक्रममा कवि राईले अघिल्लो वर्ष प्रकाशित आफ्नो ‘यारी’ कविता सङ्ग्रहमा सङ्गृहीत करिब एक दर्जन कविता सुनाए । ‘सांस्कृतिक एवम्  प्राज्ञिक सत्ता र समताका लागि’ अभियानअन्तर्गत भरतपुरमा आएर एकल कविता वाचन कार्यक्रम गर्न पाउँदा खुसी लागेको कुलपति राईको भनाइ थियो ।   

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले नेपालमा प्राज्ञिक क्षेत्रलाई उपेक्षा गरिएकाले सांस्कृतिक सत्ता र समानताका लागि आवाज उठाउनुपर्ने अवस्था आएको बताए । कवि राईको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्दै कवि भूपिन खड्काले उहाँलाई पहिचानको आन्दोलनसँग जोडिएका विद्रोही चेतना भएका कवि भएको धारणा व्यक्त गरे ।

कवितामार्फत सीमान्तकृत समुदायको अधिकारका लागि प्रतिनिधि आवाज उठाउँदै आउनुभएका राईका सुम्निमाको तस्बिर (कवितासङ्ग्रह–२०५३), दाजै कविता गाउँमै छ (कवितासङ्ग्रह–२०५७), पहिलो हरफ शिरबन्दी (गीतसङ्ग्रह–२०५९), किराती सौन्दर्यशास्त्रको अवधारणा (सहलेखन–२०६६), सीमान्त सौन्दर्य (कवितासङ्ग्रह–२०६७), भूमिगत प्रश्नहरु (निबन्धसङ्ग्रह–२०६९), आगोले जन्मोत्सव मनाउँदैन (कवितासङ्ग्रह–२०७१), सेवान्ने जिन्दगी (गीतसङ्ग्रह–२०७६) लगायतका काव्य कृति यसअघि नै प्रकाशित भइसकेका छन् । 

आधुनिक नेपाली कविताका प्रतिनिधि  हस्ताक्षर  राई २०७९ फागुन ३ गते  नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिका रूपमा नियुक्त भएका थिए । 

साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा सम्पन्नता भएको सो कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य रामहरि श्रेष्ठ,भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष इन्द्र रेग्मी र साहित्य सङ्गम चितवनका सचिव विष्णु तिवारीले पनि बोलेका थिए ।
कुलपति राईका कविता सुन्न चितवन र आसपासका स्रष्टा तथा साहित्य अनुरागीहरू भरतपुर महानगरको हलमा उल्लेख्य रूपमा उपस्थित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप