आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा तीन वर्षमा ५५ वटा झोलुङ्गे र २२ वटा पक्की पुल निर्माण

आइतबार, ३१ भदौ २०८०, २१ : ०९
आइतबार, ३१ भदौ २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारले तीन वर्षमा ५५ वटा झोलुङ्गे पुल र २२ वटा पक्की पुल निर्माण गरेको छ । आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म प्रदेशका १० जिल्लामा ५५ वटा झोलुङ्गे पुल र २२ वटा पक्की पुल निर्माण गरिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सूचना अधिकारी रमेश सुवेदीका अनुसार तीन आर्थिक वर्षमा जनता आवास कार्यक्रमअन्तर्गत दुई हजार सात सय ८० घर निर्माण भएका छन् । सोअन्तर्गत सङ्घ सरकारबाट दुई हजार चार सय ८९ वटा घर निर्माण भएका छन् भने प्रदेशबाट जनता आवास कार्यक्रममार्फत दुई सय ९१ वटा घर निर्माण गरिएको छ । 

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट प्रदेशभर एक सय ७९ भवन, ९९  सडक, सात विद्युतीय संरचना, ३९ तटबन्ध र बाँध, ६८ सिँचाइ आयोजना र ४१ खानेपानी योजना निर्माण भएको मन्त्रालयका सूचना अधिकारी सुवेदीले बताए । 

तीन वर्षमा करिब ७९ किलोमिटर सडक कालोपत्र 

तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले करिब ७९ किलोमिटर सडक कालोपत्र गरेको छ । तीन वर्षमा भएको सडक कालोपत्रको तथ्याङ्कलाई हेर्दा ७८ किलोमिटर ९५ मिटर सडक कालोपत्र भएको हो । आव २०७७/७८ मा ३३ दशमलव ०२ किलोमिटर, २०७८/७९ मा १५ दशमलव ९० किलोमिटर र २०७९/८० मा ३० दशमलव ०३ सडक कालोपत्र भएको सूचना अधिकारी सुवेदीको भनाइ छ । 

चालु आर्थिक वर्षमा मुगु, हुम्ला र डोल्पामा सडक कालोपत्र गरिएको छैन । सुर्खेतमा १५ दशमलव ९५ किलोमिटर सडक कालोपत्र भएको छ । दैलेखमा पाँच दशमलव ९९ किलोमिटर सडक कालोपत्र गरेको मन्त्रालयले जनाएको छ । जुम्लामा दुई किलोमिटर, सल्यानमा दुई किलोमिटर, रुकुम पश्चिममा तीन किलोमिटर सडक कालोपत्र गरिएको छ । 

त्यस्तै १० जिल्लामा मन्त्रालयले चार सय ३४ दशमलव ०१ किलोमिटर सडक ग्राभेल गरिएको जनाएको छ । त्यस्तै दुई हजार चार सय २४ दशमलव ११ किलोमिटर कच्ची सडक कटान गरिएको भन्दै सुवेदीले सडकको स्तरोन्नति र नाला निर्माणको कामसमेत भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप