आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

समाजवादी मोर्चाको सहमतिपत्रमा टेकेर माओवादी केन्द्रसँग पार्टी एकता गर्न चार दल सकारात्मक

सोमबार, ०१ असोज २०८०, २१ : ३६
सोमबार, ०१ असोज २०८०

काठमाडौं । समान कम्युनिस्ट विचारधाराबिच पार्टी एकता गरेर जाने विषयमा समाजवादी मोर्चामा आवद्ध दलहरू सकारात्मक देखिएका छन् । भविष्यमा एउटै समाजवादी केन्द्र बनाउने उद्देश्यसहित माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर असार ४ गते समाजवादी मोर्चा घोषणा भएको थियो ।

सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले भदौ २५ गते बसेको केन्द्रीय कार्यालय बैठकबाट अन्य कम्युनिस्ट घटकहरूबिच पार्टी एकता गर्नका लागि पार्टीको नामबाट ‘माओवादी केन्द्र’ हटाउन सकिने निर्णय गरेको हो । उक्त निर्णय समेटेर माओवादीले परिपत्र जारी गरेको छ ।

‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ’, परिपत्रमा उल्लेख छ ।

समान विचारधाराबिच पार्टी एकता गर्ने सवालमा माओवादीसहित एकीकृत समाजवादी, जसपा, नेकपा र नेसपाका नेताहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले पार्टी एकताका सन्दर्भमा पार्टीको नाममा नेकपा कायम राखेर माओवादी विचार हटाउन सकिने बताए । ‘पार्टी एकताका लागि समान विचारधारा भएका विभिन्न कम्युनिस्ट घटकहरूबिच छलफल भइरहेको छ । आवश्यकता अनुसार माओवादी केन्द्र हटाउन सकिन्छ’, उनले भने, ‘यसअघि पनि नेकपा चौम, मसाल, एकता केन्द्र हुँदै माओवादी केन्द्र बनेको हो ।’ तर पार्टी एकताका लागि भन्दैमा नामबाट ‘नेकपा’लाई हटाउन नसकिने उनले प्रस्ट पारे ।

पार्टी एकताको तिथिमिति दलहरूबिचको आपसी समझदारीमा निर्धारण हुने गुरुङले बताए । गत साउनको तेस्रो साता सकिएको केन्द्रीय समिति बैठकले समान विचारधारा भएका कम्युनिस्ट घटकहरूबिच पार्टी एकताको पहलका लागि उपाध्यक्ष कृष्णबहादुर महरालाई जिम्मा दिने निर्णय गरेको थियो । महरा वामपन्थी एकता वार्ता टोलीका संयोजकसमेत हुन् भने महासचिव गुरुङ, उपमहासचिव त्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् ।

यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले वामपन्थीबिच एकताका लागि  सकारात्मक रहेको प्रतिक्रिया दिए । एकताको आधार समाजवादी मोर्चाले घोषणा गरेको १५ बुँदे सहमति नै भएको उनको निष्कर्ष छ । विगतमा माओवादीसहित दलहरूसँग पार्टी एकता गर्न पहल भए पनि पछिल्लो समय कुनै प्रगति नभएको उनले बताए ।

‘वामपन्थीबिच एकता गर्ने विषय सकारात्मक छ । वार्ता टोलीमार्फत पार्टी एकताका लागि पटकपटक प्रयास भएका छन् । त्यसका लागि समाजवादी मोर्चाले अगाडि सारेको अवधारणा आत्मसात् गरे माओवादीमात्र होइन, एमालेसँग पनि एकता हुन्छ’, उनले भने ।

तर सबै पार्टीका आफ्ना नीति, सिद्धान्त, कार्यदिशा र कार्यक्रम भएकाले तत्काल पार्टी एकता हुने सम्भावना नरहेको पाण्डे बताउँछन् । उनले आफ्नो पार्टीको महाधिवेशनमा यसबारे ठोस निर्णय हुने पनि बताए ।

नेकपा एकीकृत समाजवादीले एउटै समाजवादी केन्द्र बनाउनका लागि पूर्वमहासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली बनाएको थियो । जसमा उपमहासचिव त्रय प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा. विजय पौडेल सदस्य छन् ।

यसअघि समाजवादी मोर्चा नबन्दै माओवादी केन्द्र, एकीकृत समाजवादीसँग पार्टी एकताका लागि पहल गरेको जनता समाजवादी पार्टीले पनि पार्टी एकताका बारे सकारात्मक प्रतिक्रिया दिएको छ । यद्यपि पार्टी एकता गर्ने गरी निर्णायक सहमति नभएको सो पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताए । अहिले चार दल मोर्चामा आवद्ध भइरहेको र सातै प्रदेशमा कार्यक्रम भइरहेकाले भविष्यमा एकताको आधार बन्न सक्ने उनको भनाइ छ ।

‘मोर्चा बन्नुअघि पार्टी एकताका लागि माओवादीसहित, एकीकृत समाजवादीसँग पटकपटक छलफल भएको हो । तर वैशाख यता कुनै छलफल भएको छैन । असारमा विप्लवसहितको मोर्चा बनिसकेपछि एकताको आधार थप फराकिलो बन्दै गएको छ । मोर्चालाई नै पार्टी बनाएर जान सक्छौँ । तर ठोस रूपमा पहल भएको छैन’, उनले भने ।

त्यतिबेला नयाँ विचार, चिह्न र झण्डा समेटेर पार्टी एकताका लागि छलफल भए पनि कुनै सहमति नभएको श्रेष्ठले बताए ।

‘पहिला मोर्चा बनाएर जाउँ भन्ने कुरा भयो । अहिले मोर्चाको अवधारणापत्र र कार्यविधि बनिसकेको छ । त्यसमा दलहरू सहमतिमा आएका छन्’, उनले भने, ‘अहिले त्यसमा प्रवेश गरेको छैन । मोर्चाको अवधारणापत्र अनुसार पार्टी एकता हुन सक्छ ।’

संसद बाहिर रहे पनि एउटै मोर्चामा रहेको विप्लव नेतृत्वको नेकपाले पार्टी एकताका लागि आवश्यक पहल भइरहेको बताएको छ । माओवादी केन्द्रले एकताका लागि पार्टीको नाम परिवर्तन गर्ने निर्णय गर्नु सकारात्मक भएको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले जनाए । तर त्यसका लागि पहिला समाजवादी मोर्चामार्फत गृहकार्य गरेरमात्र अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।  

‘अहिले हामी समाजवादी मोर्चामार्फत् अगाडि बढिरहेका छौँ । क्रान्तिकारी कम्युनिस्ट  आन्दोलनलाई एकीकृत गर्नु जरुरी छ । ती प्रयास जारी छन् । पहिला मोर्चामार्फत् सहकार्य गरौँ । देशको समस्या जे छ, त्यसलाई समाधान गरौँ भनेका छौँ । क्रान्तिकारीकरण गराउने पार्टीको नीति छ । पहल पनि गरिरहेका छौँ’, उनले भने ।  

यसैगरी संघ र प्रदेश निर्वाचनमा माओवादीको चिह्न लिएर चुनावमा भाग लिएको नेसपाले पनि पार्टी एकताका लागि सकारात्मक पहल भएको प्रतिक्रिया दिएको छ । पार्टी एकताको  आधार समेटेर माओवादी केन्द्रलाई पत्र पठाएको सो पार्टी माओवादी केन्द्रको आधिकारिक जवाफको पर्खाइमा छ ।

यसअघि एउटै समाजवादी केन्द्र बनाएर पार्टी एकता गर्न राजी भएको बेलामा पार्टीको नाममा नेकपा राख्ने वा नराख्ने भन्नेमा विवाद देखिएको तर ढिलै भए पनि माओवादी केन्द्रको निर्णय सकारात्मक रहेको नेसपाका नेता गंगानारायण श्रेष्ठले बताए । माओवादीले नाम परिवर्तन गरेको विषय यसअघि नै थाहा पाए पनि पढ्न नपाएको उनको भनाइ छ ।

‘एउटै पार्टी बनाएर जान हामी सकारात्मक छौँ । पार्टी एकताको आधार तय गर्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा हामीले पत्र पठाएका थियौँ । तर त्यसको आधिकारिक जवाफ माओवादीले पठाएको छैन । यद्यपि पदाधिकारी बैठकमा पार्टीको नाम फेर्ने निर्णय भएको थाहा भएको छ, त्यो सकारात्मक छ’, श्रेष्ठले भने । 

माओवादी केन्द्रले संघको निर्वाचन अघि नै पार्टी एकता गर्नका लागि एकीकृत समाजवादी, जनता समाजवादी, विप्लव नेतृत्वको नेकपा, बाबुराम नेतृत्वको नेपाल समाजवादी र वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसँग पटकपटक छलफल गरेको थियो । तर सांगठनिक, वैचारिक र सैद्धान्तिक विषयमा मत मिल्न नसकेपछि तत्कालका लागि पार्टी एकताको योजना अलपत्र परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप