आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झुटो नाम राखेर ‘एमेच्योर लिग’ खेलेपछि व्यावसायिक खेलाडीको बिचल्ली

मङ्गलबार, ०२ असोज २०८०, १० : २३
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । मेजर लिग सकर (एमएलएस)ले सीएफ मोन्ट्रियलका मिडफिल्डर माट्को मिलजेभिचको सम्झौता रद्द गरिदिएको छ । एमएलएस खेल्न मोन्ट्रियलमा आबद्ध भए पनि झुटो नाम राखेर ‘एमेच्योर’ टिमबाट खेलेको आरोप लगेपछि उनको सम्झौता रद्द  गरिएको समाचारमा जनाइएको छ । 

सीएफ मोन्ट्रियल व्यावसायिक लिग खेल्ने क्यानेडियन क्लब हो । क्यानेडियन क्लबलाई पनि अमेरिकाको व्यावसायिक लिग एमएलएसमा समावेश गरिएको छ । २२ वर्षीय अमेरिकी खेलाडी माट्कोले यसअघि क्यानडामा पनि एक खेलका क्रममा विपक्षी टोलीका खेलाडीको अनुहारमा मुक्का प्रहार गरेका थिए ।

सोही कारणले माट्कोमाथि प्रतिबन्ध समेत लगाइएको थियो । अहिले आएर उनीमाथि अर्को गम्भीर आरोप लागेको हो । ‘लिगको गम्भीर नियम उल्लङ्घन गरेकाले उनको सम्झौता रद्द गरिएको हो । उनले क्लबसँग गरेको सम्झौता पनि उल्लङ्घन गरेका छन्,’ एमएलएसले भनेको छ । 

माट्को अमेरिकाको यू—२० राष्ट्रिय टोलीका सदस्य पनि हुन् । मान्ट्रियलले पनि माट्कोसँगको सम्झौता रद्द गरिएको बताएको छ । उनले झुटो नामले ‘एमेच्योर’ टिमबाट खेलेको आरोप लागेपछि क्लबले पनि छानबिन अगाडि बढाएको थियो । 

मोन्ट्रियका प्रमुख प्रशिक्षक हर्नान लोसाडाले पनि गम्भीर छानबिनपछि उनको सम्झौता रद्द गरिएको बताएका छन् । उनले क्वेबेक एमेच्योर लिगमा फ्रेन्ड्स टिमको तर्फबाट झुटो नामले तीनवटा खेल खेलेको समाचारमा जनाइएको छ । उक्त एमेच्योर लिगमा उनले ६ गोल पनि गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप