मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘कोशीमा सहमतीय सरकार निर्माणको प्रयास भइरहेको छ’

बिहीबार, ०४ असोज २०८०, १६ : ३०
बिहीबार, ०४ असोज २०८०

खोटाङ ।  कोशी प्रदेशका खानेपानी, सिञ्चाइँ, उर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बोले प्रदेश सरकारमा राजनीतिक दलबीच सहमतिको प्रयास भइरहेको बताएका छन् । 

प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा मन्त्री मेन्याङ्बोले कोशी प्रदेशमा कुनै पनि राजनीतिक दलको बहुमत नपुग्ने भएकाले प्रदेश सरकारलाई स्थायित्व दिन सहमतीय सरकार निर्माणको प्रयास भइरहेको बताए ।  

“जनताले सबै दल मिलेर सरकार बनाऊ भन्ने सन्देशसहित जनमत दिएका छन् । कोशी प्रदेशमा सबै दल मिलेर सरकारलाई स्थायित्व दिनुको विकल्प छैन”, प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री मेन्याङ्बोले भने । 

उनले प्रदेश सरकार अस्थिर हुँदा जनतामा सङ्घीयताप्रति नै वितृष्णा सिर्जना हुने अवस्था आएको समेत बताए । अहिलेकै अवस्थामा मध्यावधि निर्वाचनमा जाने स्थिति पनि नभएको उनको भनाइ छ । निर्वाचनमा जाँदा राज्यको ठूलो खर्च हुने भएकाले प्रदेश सरकारलाई स्थायित्व दिन सहमतिको विकल्प नभएको उनको भनाइ छ । 

नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका मन्त्री मेन्याङ्बोले प्रदेश नामकरणका विषयमा असतुष्ट पहिचान पक्षलाई वार्तामा आउन आह्वान गरे । “प्रदेशको नाम सबै दलको समर्थनमा नामकरण भएको हो”, प्रदेश सरकारको तर्फबाट गठित वार्ता समितिका संयोजक मेन्याङ्बोले भने, “असहमति राख्ने छुट सबैलाई छ, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो ।”

मन्त्री मेन्याङ्बोले प्रदेश सरकारबाट सञ्चालित योजनाका बारेमा प्रचारप्रसार गर्न आग्रह पनि गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप