सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

श्रम तथा रोजगार मन्त्री भण्डारी भन्छन्–  ‘१ सय ७८ देशमा पुगे नेपाली’

बिहीबार, ०४ असोज २०८०, १६ : ५६
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीले नेपालीहरू १ सय ७८ देशमा पुगेको बताएका छन् । यस्तै श्रमिकको रूपमा १ सय ११ देशमा पुगेको र ती देशहरूमा उनीहरूको अवस्था बुझ्ने काम भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले श्रमिकका रूपमा नेपाली पुगेका देश र नेपाल सरकारबीच सम्बन्ध कायम गर्न सरकार प्रयासरत रहेको जानकारी गराए । 

द्विपक्षीय सम्झौता नभएका देशमा पनि नेपालीहरू विभिन्न बाटो हुँदै पुगिरहेको बताउँदै उनले उनीहरूको अवस्था कूटनीतिक नियोगबाट बुझिरहेको बताए ।  वैदेशिक रोजगारीका क्रममा धेरै नेपाली विदेशी जेलमा परेकोले उनीहरू भएको देशको कानुनी अवस्था अध्ययन गरेर छुटाउन पहल गर्ने काम भइरहेको बताए । 

वैदेशिक रोजगारीमा जाने श्रमिकको रेकर्ड राख्नका लागि ‘डाटाबेस’ प्रणाली राख्न लागिएको र संस्थागत माध्यमबाट को कहिले कुन देशमा गएको भन्ने रेकर्ड राखिने बताए । तर अवैध बाटो, भिजिट भिसा लगायतबाट जानेहरूको भने रेकर्ड राख्न नसकिने उनले बताए । 

नेपालीहरू श्रम सम्झौता नभएको देशमा भिजिट भिसामा जाने गरेको र त्यसलाई रोक्न खोज्दा ‘मेरो व्यक्तिगत पैसा खर्च गरेर विदेशमा घुम्न जान पाउनु हाम्रो मौलिक अधिकार हो’ भन्ने तर्क आउने गरेकोले कठिन भएको उदाहरण समेत दिए । 

मन्त्री भण्डारीले सरकारले राष्ट्रिय आप्रवासनको नीति बनाउन लागेको बताउँदै कुन देशमा नेपाली श्रमिक पठाउँदा नेपालीलाई श्रम, सीप र आर्थिक आर्जन राम्रो हुन्छ त्यसका लागि काम गर्ने बताए । उनले प्रतिवर्ष १५ हजार हाराहारी फ्री भिसामा वैदेशिक रोजगारीमा समेत गएको जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप