आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओस्कर जित्ने पहिलो न्यून श्रवणशक्ति भएकी नायिका मार्ली, शिक्षकले गरे यौन हिंसा : ओस्कर जित्दा प्रेमीले कुटे

शनिबार, ०६ असोज २०८०, १५ : ४०
शनिबार, ०६ असोज २०८०

यो कहानी हो विश्वकी पहिलो न्यून श्रवणशक्ति भएकी नायिका मार्ली मेटलिनको । आफ्नो फरक क्षमताका बाबजुद ओस्कर, गोल्डन ग्लोबजस्ता ठुला अवार्ड जितिन् । मार्लीले १८ महिनाको उमेरदेखि नै आफ्नो श्रवणशक्ति गुमाइन् । कुनै बेला बेबी सिटरले शोषण गरे त कुनै बेला को–स्टार र प्रेमीले बलात्कार गरे । 

यति हुँदा हुँदै मार्लीले आफ्नो क्षमताले ओस्कर जितिन् । ओस्कर जित्दा स्टेजमा उनको नाम साङ्केतिक भाषामा लिइयो जुन आज पनि इतिहास हो । सुरुवातमा त उनले यो कुरा विश्वास गर्न सकिनन् तर जब मानिसले उनलाई हेरेर ताली बजाइरहे तब मात्रै उनले विश्वास गरिन् । आफ्नो भाषण पनि मार्लीले साङ्केतिक भाषामा दिएकी थिइन् । 

मार्लीले आफ्नो सीपले फिल्ममा नाम मात्र कमाइनन्, आफूजस्तै मानिसका लागि ठुलो मात्रामा दान पनि गरिन् । उनले एक रियालिटी शोबाट कमाएको १२ करोड रुपैयाँ दान दिएकी थिइन् तर सोही रियालिटी शोमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई मन्द बुद्धि भनेका थिए ।

आज हामी पहिलो न्यून श्रवणशक्ति भएकी कलाकार मार्ली म्याटलिनको सङ्घर्षले भरिएका उपलब्धिको कथाबारे पढौँ ।

मार्ली म्याटलिनको जन्म अगस्त २४, सन् १९६५ मा अमेरिकाको इलिनोइसमा भएको थियो । उनका बुबा अटोमोबाइल व्यापारी थिए । उनी १८ महिनाको हुँदा उनलाई उच्च ज्वरो आयो त्यसपछि दाहिने कानको श्रवणशक्ति पूरै हराएको थियो भने देब्रे कानको ८० प्रतिशत सुन्ने क्षमता गुमेको थियो । मार्लीका दुई दाजुहरू पनि छन् ।

मार्ली परिवारको एक मात्र व्यक्ति हुन् जो सुन्दिनन् । मानिसहरूले अक्सर उनको न्यून श्रवणशक्तिको मजाक उडाउँथे, तर मार्लीले ती हास्यहरूको आनन्द उठाइन् । उनी हुर्किँदै गएपछि उनलाई विशेष विद्यालयमा पठाइयो, जहाँ उनले हार्बु र साङ्केतिक भाषा सिकिन् । ७ वर्षको उमेरमा, मार्लीलाई आईसीओडीए (इन्टरनेशनल सेन्टर अफ डेफनेस एन्ड द आर्ट्स) मा पठाइयो, जहाँ उनी नाटकको हिस्सा बन्ने गर्थिन् ।

Marlee Matlin1११ वर्षको उमेरमा बेबी सिटरले गरेका थिए शोषण

उनका आमाबाबुले मार्लीको लागि एकजना महिला बेबी सिटर (सहयोगी) राखेका थिए । केही दिन पछि, बेबी सिटरको मार्लीप्रतिको व्यवहार बिग्रन थाल्यो । एक दिन मार्लीको परिवार बाहिर गएका बेला बेबी सिटरले एक्लोपनको फाइदा उठाउँदै मार्लीमाथि दुर्व्यवहार गरिन् । मार्लीलाई यो घटनाले विक्षिप्त बनायो तर उनले कसैसँग यसबारे कुरा गरिनन् । यो आघातबाट बाहिर आउन मार्लीले ड्रग्सको सहारा लिइन् । उनले सानै उमेरमा कोकिन र गाँजा प्रयोग गर्न थालिन् ।

विद्यालयका शिक्षकले पनि गरे शोषण 

मार्ली आफ्नो बेबी सिटरबाट भोगेको दुर्व्यवहारबाट कसैगरी बाहिर निस्किइन् तर उनलाई हाई स्कुलका शिक्षकले आफ्नो सिकार बनाए ।  मार्ली त्यतिबेला १४ वर्षकी मात्र थिइन् । उनको शिक्षकले उनलाई राम्रो अङ्क दिने भन्दै आफ्नो घरमा बोलाउँथे । मार्लीलाई फेल हुने डर थियो त्यसैले उनी बाध्य भएर शिक्षकको घर जान्थिन् जहाँ उनले उनको शोषण गर्दथे । त्यसपछि मार्ली लगातार ड्रग्स लिन थालिन् । केही समय पछि, मार्लीले उनको स्कुलका अन्य विद्यार्थीमाथि पनि यस्तै भइरहेको छ भनेर थाहा भयो । 

आफूमाथि भएको बारम्बारको शोषणका बाबजुद मार्लीले नाटकमा भने आफ्नो पूर्ण ध्यान लगाइन् ।  एकदिन, उनी नाटक गरिरहेकी थिइन् र उनीमाथि चर्चित अभिनेता तथा फिल्म निर्माता हेनरी विंकलरको नजर पर्‍यो । उनलाई मार्लीको अभिनय मनपर्यो । त्यसको केही समयपछि हेनरीले मार्लीलाई फिल्म चिल्ड्रेन अफ ए लेसर गड (१९८६) को लागि अडिसनका लागि बोलाए । स्क्रिन टेस्ट दिने क्रममा, मार्लीले सह–स्टार विलियम हर्टलाई भेटिन्, जसलाई उनले बाल्यकालदेखि नै प्रशंसा गर्ने गर्थिन् । उनी फिल्मको मुख्य नायक थिए । यी दुईबिच केही भेटघाट भए र केही समयपछि उनीहरू सम्बन्धमा भए । स्क्रिनटेस्टमार्फत् मार्लीले बधिर सारा नोरम्यानको भूमिका हासिल गरिन् जसलाई फिल्ममा एक युवकसँग प्रेम बस्छ । 

Marlee-Matlinप्रेमीले गर्दथे कुटपिट

केही समयपछि फिल्मको सुटिङ सुरु भयो, यतिबेला मार्ली र विलियम हर्ट नजिकिए । सम्बन्धको सुरुका केही दिन राम्रा थिए, तर केही समयपछि विलियमको मार्लीप्रतिको व्यवहार बिग्रन थाल्यो । उनले अक्सर मार्लीलाई दुर्व्यवहार गर्दथे, कुटपिट गर्दथे ।  मार्ली १९ वर्ष मात्रै पुगेकी थिइन् र विलियम उनीभन्दा दोब्बर बढी उमेरमा थिए । उनी ३५ वर्षका थिए ।  सुटिङकै क्रममा यी दुई लिभ इन पार्टनर बने । विलियमसँग बस्दा मार्ली ड्रग एडिक्ट बनिसकेकी थिइन् । 

३ अक्टोबर सन् १९८६ मा फिल्म चिल्ड्रेन अफ ए लेसर गड रिलिज हुँदा, मार्ले रातारात चर्चित अनुहार बनिन् । फिल्म रिलिजका बेला टाइम म्यागेजिनका रिचर्ड सिक्केलले लेखेका थिए, ‘मार्लीसँग आफ्नो र दर्शकहरूको भावनामाथि ध्यान दिने एक असामान्य कौशल छ । ’ यस्तै, वासिङ्टन पोस्टले लेख्यो, ‘अभिनयको सबैभन्दा कठिन पक्ष भनेको केही नबोली कुरा गर्नु हो । मार्लीले मौन युगका मानिसहरूले गरे जस्तै गरिन् । उनले आफ्नो आँखा र हाउभाउले कुरा गरिन् ।’

ओस्कार जित्ने विश्वको पहिलो न्यून श्रवणशक्ति भएकी अभिनेत्री हुन्

फिल्म चिल्ड्रेन अफ ए लेसर गडका लागि मार्ली उत्कृष्ट अभिनेत्रीको विधामा र विलियमलाई उत्कृष्ट अभिनेताको विधामा मनोनयन गरिएको थियो । मार्ली बैजनी पोसाकमा समारोहमा उपस्थित थिइन् । अभिनेता विलियम हर्ट उत्कृष्ट अभिनेत्री विधाको विजेताको नाम घोषणा गर्न स्टेजमा पुगे ।

उनले पहिले मार्लीको नाम घोषणा गरे र त्यसपछि साङ्केतिक भाषा मार्फत नाम बोलाए । मार्लीले सोचे कि विलियम हर्टले मजाक गरिरहेका छन्, तर जब केहि मिनेट पछि सबैले उसलाई हेरेर ताली बजाए, मार्लीले बुझिन् कि उनले यति ठुलो स्टेजमा यति भीडमा यस्तो मजाक गर्न सक्दैनन् । उनी रसाएका आँखा र कुनै तयारी बिना नै अवार्ड लिन पुगिन् ।

स्टेजमा जाने बित्तिकै उनले सुरुमा विलियम हर्टलाई चुम्बन गरिन् र आफ्नो ओस्कर विनिङ स्पिचमा मार्लीले साङ्केतिक भाषामा भनिन्, ‘म धेरै मानिसहरूलाई धन्यवाद दिन चाहन्छु । यसका लागि मैले कुनै तयारी गरेको छैन, तर म एकेडेमी र यसका सदस्यहरूलाई धन्यवाद दिन्छु । म विशेष गरी विलियम हर्टलाई उनको ठुलो समर्थन र मायाको लागि धन्यवाद दिन चाहन्छु । म सबैप्रति कृतज्ञ छु । आई लभ यु ।’

Marlee-Matlin1ओस्कर अवार्ड जित्दा प्रेमीले पिटे

मार्लीले त ओस्करमा उत्कृष्ट अभिनेत्रीको उपाधि जितिन् तर विलियम हर्ट भने यसमा चुके  उनको सट्टा मार्लीले ओस्कर जितेकोमा उनी निकै रिसाए । सुरुमा त दुवै जना ओस्कर समारोहपछि खुसीसाथ तस्बिर खिचाएर बाहिर निस्किए तर घर पुग्ने बित्तिकै विलियमले मार्लीमाथि कुटपिट सुरु गरे ।

नशामा प्रेमीले गरे बलात्कार 

आत्मकथा ‘आइ विल स्क्रिम लेटर’ अनुसार विलियम हर्टले मार्लीलाई नशाले मातेका बेला बलात्कार गरेका थिए । यसका बाबजुद, मार्ली उनीसँग सम्बन्धमा रहिन्, किनभने उनी न्युयोर्कमा अरू कुनै मानिसलाई चिन्दिन थिन् । विलियमसँग रहँदा उनले हलिउडको कुनै पनि फिल्ममा काम गरिनन् । उनी विलियमसँग २ वर्षसम्म अपमानजनक सम्बन्धमा थिइन्, तर एक दिन उनी दिक्क भइन् र उनको साथ छोडिन्।

MarleeMatlin-1पुनर्स्थापना केन्द्रको सहयोगमा लागु औषध दुर्व्यसनबाट मुक्ति 

विलियम हर्टबाट अलग भएपछि, मार्लीले आफ्नो करियरलाई ट्र्याकमा फर्काउनका लागि पहिलो कुरा ड्रग्सबाट बच्नु थियो । उनलाई त्यसो गर्न गाह्रो भएपछि उनी रिह्याब सेन्टर गएर मद्दत लिइन् । यसपछि उनले बाल टिभी सिरिज सेसमे स्ट्रिटमा सानो भूमिका खेलेर कम ब्याक गरिन् । ब्रिज टु साइलेन्समा विधवाको भूमिका निर्वाह गरेर मार्ले फेरि चर्चामा आइन् ।

फिल्मको सेटमा बस्यो पुलिस अधिकारीसँग प्रेम

सन् १९९१ मा, मार्ले टिभी शृङ्खला रिजनेबल डाउटको सुटिङ गर्न पुगेकी थिइन् । त्यहाँ सुरक्षा र ट्राफिक नियन्त्रणका लागि प्रहरी अधिकारी केभिन ग्रान्डाल्स्कीलाई खटाइएको थियो । यी दुईबिच सेटमा कुराकानी भयो र उनीहरू साथी बने । समयसँगै उनीहरूको मित्रता प्रेममा परिणत भयो र २ वर्ष सँगै बसेपछि उनीहरुले २९ अगस्ट १९९३ मा विवाह गरे । यस विवाहबाट मार्लेका ४ सन्तान छन् ।

मार्ली आफ्नो करियरमा २२ वटा चलचित्र र ५४ वटा टिभी कार्यक्रमको हिस्सा भइन् । मार्लीलाई प्रायः न्यून श्रवण शक्ति भएको महिलाको भूमिका दिने गरिन्थ्यो । यद्यपि सन् १९९४ मा मार्लीले टिभी चलचित्र अगेन्स्ट हर विलः द क्यारी बक स्टोरीमा एक सामान्य युवतीको भूमिका निर्वाह गरिन् ।

marleeमार्ली एक दिनमा सबैभन्दा बढी रकम जम्मा गर्ने अभिनेत्री 

सन् २०११ मा, मार्लीले न्यून श्रवणशक्ति भएकाहरूका लागि कोष जुटाउन तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको सेलिब्रेटी अप्रेन्टिस शोमा भाग लिइन् । मार्लीले शोमा दोस्रो स्थान हासिल गर्दै ९ लाख ८६ हजार डलरको कोष सङ्कलन गरिन् । एउटै एपिसोडमा यति धेरै रकम जम्मा गर्ने मार्ली विश्वकै एक्ली अभिनेत्री हुन् । यो कोष १ मिलियन बनाउन डोनाल्ड ट्रम्पले आफ्नो तर्फबाट १४ हजार डलर दिएका छन् ।

डोनाल्ड ट्रम्पले सेटमा उडाएका थिए मजाक 

द डेली बिस्टको रिपोर्टले सेटमा उपस्थित मानिसहरूलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार डोनाल्ड ट्रम्पले शोको सुटिङको क्रममा मार्लीको सार्वजनिक रूपमा खिल्ली उडाउने गर्थे । धेरै पटक डोनाल्डले उनको सुन्ने र बोल्ने क्षमताको मजाक बनाएर उनीसँग दुर्व्यवहार गर्थे । डोनाल्ड ट्रम्पले उनलाई रिटार्डेड पनि भनेका थिए । यो समाचारमा स्रोतले आफ्नो परिचय गोप्य राख्ने वाचा गर्दै खुलासा गरेका थिए ।

३६ वर्षपछि तोडिएको थियो कीर्तिमान

मार्लीले सन् १९८६ मा सर्वोत्कृष्ट अभिनेत्रीको ओस्कार जितिन् । योसँगै उनी ओस्कार जित्ने विश्वकै पहिलो न्यून श्रवण शक्ति भएकी कलाकार थिइन् । मार्लीले पुरस्कार जितेको ३६ वर्षपछि सन् २०२२ मा, न्यून श्रवणशक्ति भएका अभिनेता तथा फिल्म निर्माता ट्रोय कोत्सुरले सीओडीएका लागि उत्कृष्ट सहायक अभिनेताको ओस्कार जितेर उनको बराबरी गरे । यद्यपि, आज पनि मार्ली ओस्कार जित्ने विश्वको एक मात्र न्यून श्रवणशक्ति भएकी अभिनेत्री हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप