आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशमा नयाँ समीकरण निर्माणका लागि निर्णायक वार्ता गर्नुपर्छ : भीम पराजुली

आइतबार, ०७ असोज २०८०, १२ : १३
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले कोशी प्रदेशमा सरकारको स्थिरताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्णायक वार्ता गरी नयाँ समीकरण निर्माण गर्नुपर्ने बताएका छन् ।

आइतबारको केन्द्रीय समिति बैठकमा उनले राप्रपासँग तालमेल नगरीकन अघि बढ्दा पटक पटक अस्थिरता दोहोरिएको बताए । ‘कोशी प्रदेशको सरकार गठन सन्दर्भमा राप्रपा सँग तालमेल नगरीकन अघि बढ्दा पटक पटक अस्थिरता दोहोरिएको छ,’ उनले भने, ‘कोशी प्रदेशमा सरकारको स्थिरता खोज्ने हो भने राप्रपासँग निर्णायक वार्ताअघि बढाएर नयाँ समीकरण निर्माण गर्नुपर्दछ ।’

पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहारबारे सरकारमा सम्मिलित नेताहरूको धारणा के हो भन्दै प्रश्न गरे ।

कांग्रेसलाई छानिछानी दुःख दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको नियत रहेको भन्दै पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ । ‘सुन प्रकरणमा नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम सबै समाचार माध्यममा आएका छन् । उनलाई न पक्राउ गरिन्छ न कुनै मुद्दा चल्छ,’ उनले भने, ‘तर, हाम्रा नेताहरूमाथि पूर्वाग्रही ढङ्गबाट टुंगिसकेको मुद्दालाई कहिले नेता विजय गच्छदारलाई पक्राउ पुर्जी जारी गरिन्छ त कहिले सांसद सुनिल शर्मालाई हिरासतमा राखिन्छ । कांग्रेसलाई छानिछानी दुःख दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको नियत देखियो । यसको समीक्षा हुनुपर्छ ।’

यस्तै उनले वैदिक सनातन हिन्दु राष्ट्रको पक्षमा कांग्रेस उभिनुपर्ने बताए । ‘यसले मात्र देश र कांग्रेसको कल्याण हुन्छ भन्नेमा म विश्वास राख्दछु र यसलाई लिएर कांग्रेस अगाडि बढ्नुपर्दछ भन्ने विचार राख्दछु,’ उनले भने ।

सरकारलाई महँगी नियन्त्रणमा यथोचित कदम चाल्न उनको आग्रह छ । गत साता मात्र भारतमा सम्पन्न टी टु सम्मेलनमा नेपालको किन उपस्थिति हुन सकेन भन्दै प्रश्न गरेका थिए । ‘हामीले समयमै सुझबुझपूर्ण तयारी गरेको भए बङ्गलादेशले जस्तै अवर प्राप्त गर्न सक्थ्यौँ । हाम्रो कूटनीति कहाँ चुक्यो हामीले गम्भीर ढङ्गले यस विषयबारे आत्मसमीक्षा गर्नुपर्दछ,’ उनले भने ।

देशमा भ्रष्ट्राचार र अनियमितता विकराल स्वरूपमा पुग्दा पनि कांग्रेस मौन बसेको उनको गुनासो थियो । 

यस्तै उनले देशमा युवा पलायन एवं बौद्धिकता र सीपको पलायन भएको बताए । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी लगायतका विषयमा कांग्रेसको नीति जनताले जान्न चाहेको पराजुलीको भनाइ छ । ‘कांग्रेसले कसरी सम्बोधन गर्छ  ? जनताले हेरिरहेका छन्, यसमा गम्भीर समीक्षा गरी आवश्यक कदम चाल्न अनुरोध गर्दछु,’ उनले भने ।

कोशी प्रदेशमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्मण गर्न आवश्यक पहलकदमी लिन पनि उनले आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप