मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोशी ग्याँस उद्योगको लापर्बाही, सिल प्याक सिलिन्डर नै खाली

आइतबार, ०७ असोज २०८०, २० : ०४
आइतबार, ०७ असोज २०८०

विराटनगर । कोशी ग्याँस उद्योगको सिल प्याक सिलिन्डर रित्तो पाइएको छ । मोरङको बुढिगंगास्थित कोशी ग्याँस उद्योगबाट बजारमा बिक्रीका लागि लगिएको सिलप्याक सिलिण्डरमा ग्यास नै नभएको पाइएपछि उक्त उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

सो उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको हो । बूढीगंगा गाउँपालिका–४, नेमुवास्थित कोशी ग्याँस उद्योगले बिक्रीका लागि लगेको ग्याँस विराटनगर–९ ट्राफिक चोक घर भएकी अञ्जना सिंहले खरिद गरेकी थिइन् ।

सिलप्याक सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्याँस हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको सिलिण्डरमा ग्याँस नै नभरेको भेटिएको वाणिज्य कार्यालयले जनाएको छ ।

उपभोक्ता सिंहले विराटनगरस्थित कोशी ग्याँसको डिलर न्यू हिमाल मार्केटिङ्गबाट ग्याँस खरिद गरेको हो । डिलरबाट ग्याँस डुलाउने चौधरीसँग आफूले ग्याँस लिएकी सिंहले सिलिण्डर जोड्न खोज्दा ग्याँस नभएपछि अचम्मित भएको बताइन् ।

सिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले उद्योग निरीक्षण गरेको थियो । कार्यालयका प्रमुख हितेश बस्नेतसहितको टोलीले आइतबार उद्योगको निरीक्षण गर्दा कैफियत भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन अनुसार कोशी ग्याँस उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गराएको बस्नेतले बताए । ग्याँसमा उपभोक्तामाथि ठगी भइरहेको देखिएको वाणिज्य कार्यालयले जनाएको छ ।

उपभोक्ता सिंहले कोशी ग्याँसबाट आफूजस्ता धेरै उपभोक्ता ठगिएको हुनसक्ने बताइन् ।

डिलर सञ्चालक केशव श्रेष्ठले उद्योगबाट आएको सिलप्याक ग्याँस आफूले बिक्री गरेको बताएका छन् । कोशी ग्याँस उद्योगका प्रबन्धक सचितकुमार उपाध्यायले उद्योगबाट सही तरिकाले सिलिण्डर पठाइएको दाबी गर्दै डिलरमा गइसकेपछि जिम्मा लिन नसक्ने बताए ।

उद्योगमा भएका सिलिण्डर सही अवस्थामा रहनु र बाहिर पठाइएकोमा ग्याँस नभएको कुरा आउनुले आफूहरु पनि अचम्ममा परेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप