आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशद्वारा विश्वविद्यालय स्थापनाका लागि आवेदन माग

सोमबार, ०८ असोज २०८०, १७ : ४९
सोमबार, ०८ असोज २०८०

मकवानपुर । बागमती प्रदेशले विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको छ । बागमती प्रदेश सरकार मातहत रहने गरी प्रदेश सरकारले विश्व विद्यालय स्थापनाका लागि आवेदन माग गरेको हो ।

प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ कार्यान्वयन गर्दै प्रदेश विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरी आइतबार सूचना जारी गरेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि मापदण्ड पुगेका शैक्षिक संस्थाहरुबाट आवेदन पेश गर्न सूचना जारी गरेको हो ।

प्रदेश उच्च शिक्षा ऐन २०७८ ऐनअनुसार विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना प्रक्रिया अगाडि बढाएको हो । ऐन जारी भएको डेढ वर्षपछि सरकारले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउँदै आवेदन माग गरेको हो ।

मन्त्रालय मातहत रहेको प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय, हेटौंडाको निर्णयअनुसार विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवश्यक पर्ने मापदण्ड तथा पूर्वाधार पुगेका इच्छुक क्याम्पस तथा शैक्षिक संस्थालाई आवेदन माग गरिएको छ ।

सूचनाअनुसार प्रदेश उच्च शिक्षा परिषद्को सचिवालयले सूचना जारी भएको मितिले ३० दिन भित्रमा विश्वविद्यालय स्थापनाको लागि १ लाख रुपैयाँ राजस्वसहित आवेदन पेश गर्न भनिएको छ ।

सार्वजनिक विश्वविद्यालय, सामुदायिक विश्वविद्यालय, मानित विश्वविद्यालय र स्वायत्त प्रतिष्ठानले १ लाख रुपैयाँ निवेदन दस्तुर र स्वीकृति दस्तुर ५ लाख रुपैयाँ बुझाउनुपर्ने हुन्छ भने उच्च शिक्षण संस्थाले निवेदन दस्तुरबापत ७५ हजार रुपैयाँ र स्वीकृत दस्तुरबापत ३ लाख रुपैयाँ बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

मन्त्रालयका सचिव भीष्मकुमार भुषालका अनुसार ऐनको कार्यान्वयन गर्दै विश्वविद्यालयका लागि आवेदन माग भएको र सो विषयमा सार्वजनिक, निजी जुनसुकै प्रकृतिका शैक्षिक संस्थाहरुले निवेदन दिन सक्नेछन् । 

प्राविधिक विषय अध्यापन गराइने

यसअघि प्रदेश सरकारले हेटौंडामा नै प्रादेशिक विश्वविद्यालय स्थापनाको तयारी थालेको छ । सरकारले हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल अघि बढाएको हो ।

सोहीअनुसार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले केही दिनअघि क्याम्पस व्यवस्थापन समिति, प्रशासन, राजनीतिक दल र सरोकारवालासँग छलफल गरेका थिए । सो छलफलमा क्यापसलाई विश्वविद्यालय बनाउने सहमतिसमेत बनेको थियो । 

उक्त सहमतिअनुसार मकवानपुर क्याम्पसलाई विश्वविद्यालय स्थापना गर्न क्यापसले आवेदन पेश गर्ने र मापदण्ड पुगेको खण्डमा सो क्याम्पस विश्व विद्यालय कायम हुनेछ ।

मुख्यमन्त्री जम्कट्टेलले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको केन्द्रीय विश्वविद्यालयका रुपमा स्थापना गरी शिक्षा क्षेत्रको विकासमा अग्रसर गराउने तयारी गरिएको बताए । उनले प्रदेशको विश्वविद्यालयमा प्राविधिक विषयहरु अध्यापन गराइने योजना रहेको जनाए ।

प्रदेश सरकारको बजेट भौतिक संरचनामा खर्च नगर्ने र बनेकै संरचनाबाट काम सुरु गर्ने तयारीअनुसार क्याम्पस छनोट गरी विश्वविद्यालयमा बनाइने तथा सुरुवाती चरणमा सो विश्वविद्यालयले कृषि, स्वास्थ्य तथा अन्य प्राविधिक विषय अध्ययन गराउने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप