सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत पार्टीको चुनाव चिन्ह के ? यसरी फस्यो ‘पेच’

बुधबार, १४ चैत २०७४, १३ : ४३
बुधबार, १४ चैत २०७४

काठमाडौं– अब देशमा पाँच वर्षपछि चुनाव हुनेछ ।

तर एमाले र माओवादीबीच अबको चुनाव चिन्ह के हुने भन्नेमा विवाद छ ।

मङ्सिरको निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका एमाले–माओवादी नेताहरूको भनाइ सुन्दा आजभोलि नै एकता घोषणा भइहाल्छ कि जस्तो भान हुन्छ ।

तर, पाँच वर्षपछिको चुनावमा लड्ने चिन्हमा महाभारत परेको छ ।

कार्यदल स्तरमा विवाद भएपछि एकता प्रकृया लम्बिँदै गएको छ ।

चुनाव चिन्हमा चर्को विवाद
पार्टी एकतापछि एकीकृत पार्टीको चुनाव चिन्ह के राख्ने भन्ने विषयमा विधान मस्यौदा कार्यदलमा छलफल भएको लामो समय भैसक्यो । तर यो विषयमा कार्यदल सदस्यहरूबीच सहमति हुन सकेको छैन ।

‘कार्यदलका सदस्यहरू चुनाव चिन्हमा आ–आफ्नो अडानबाट टसको मस भएका छैनन् । जसका कारण यसअघिका छलफल विनानिष्कर्ष सकिँदै आएका छन्’ विधान मस्यौदा कार्यदलका एक सदस्यले भने– ‘मुख्य विवाद नै अहिले यसैमा छ ।’

यसअघिका कार्यदल बैठकमा आ–आफ्ना प्रस्ताव पेश गर्दा एमालेले एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य हुनुपर्ने प्रस्ताव पेश गरेको थियो भने माओवादी केन्द्रले सूर्यभित्र हसिया हथौडा राख्नुपर्ने प्रस्ताव गरेको थियो ।

तर, यसमा दुवै पक्ष आफ्नो अडानबाट पछि हटेका छैनन् । ‘अडानबाट कुनै पनि पक्षपछि नहट्नेभएपछि यसमा सहमति जुटाउन कठिन भएको हो’ ती नेताले भने– यस विषयमा प्रतिवेदनमा सहमति नजुट्दा अन्य धेरै विषयमा समेत छलफल हुन सकेको छैन । चुनाव चिन्हमा भोलिसम्ममा पनि सहमति नजुटे यसको जिम्मा शीर्ष नेतालाई नै दिइन्छ ।’

जनसङ्गठनमा पनि उस्तै
चुनाव चिन्हजस्तै कार्यदलमा जनसङ्गठन एकता प्रस्तावमा पनि सदस्यहरूबीच चर्को विवाद छ । एकीकृत पार्टी बनेपछि जनसङ्गठन कति सदस्यीय हुने, कसले नेतृत्व गर्ने र कुन कुन पद कुन पार्टीले पाउने भन्नेमा सहमति हुन सकेको छैन ।

जनसङ्गठनअन्र्तगत विद्यार्थी, युवा, महिला, शिक्षक, मजदुर, प्रवास, कर्मचारीलगायत पर्छन् । तर यी सबैजसो जनसङ्गठनको नेतृत्व एमालेले नै पाउनुपर्ने अडान एमाले नेताहरूले कार्यदलमा राख्दै आएका छन् । एमालेको यो प्रस्तावलाई माओवादीले कुनै हालतमा नमान्ने बताउँदै आएको छ ।

माओवादीका तर्फबाट कार्यदलमा रहेका एक सदस्यका अनुसार एकताका नाममा आफूहरूप्रति असमान व्यवहार देखाएकाले यसमा पनि सहमति जुट्न नसकेको हो ।

एकताको मिति सर्दै
यही कारण शीर्ष नेताहरूले आफ्नो बोली फेर्दै पार्टी एकता गर्ने मिति पछिपछि धकेल्दै आएका छन् ।

गत शनिबार प्रधानमन्त्री केपी अ‍ोलीको भारत भ्रमण अघि नै पार्टी एकता गर्ने भनेका शीर्ष नेताहरूले त्यसको दुई दिनपछि ओलीको भारत भ्रमणअघि एकता हुन नसक्ने बताएका थिए ।

सोमबार भातृ सङ्गठनको एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकतामा यसअघि भनिँदै आएको ७०÷३० को आधारमा नभएर ५०÷५० को आधारमा पार्टी एकता हुने बताएका थिए ।

एक महिनामा के गर्यो कार्यदलले ?

गत फागुन १० गते पार्टी एकताका लागि आधार तयार गर्न भन्दै दुवै दलका नेता सम्मिलित दुई कार्यदल गठन गरेर एकताका लागि प्रतिवेदन तयार गर्न जिम्मेवारी दिएका थिए ।

तर अहिलेसम्म दुवै कार्यदलका बैठक जम्माजम्मी ४–५ पटक मात्रै बसेका छन् । बैठक बसे पनि त्यहाँ कुनै ठोस सहमति हुने गरेको छैन ।

सुरुमा दुवै कार्यदललाई शीर्ष नेताले एकताका सबै प्रस्तावमा सहमति जुटाउन जिम्मेवारी दिए पनि पछिल्ला दिनमा शीर्ष नेताले नै हस्तक्षेप गर्न थलेका छन् ।

थापा संयोजक रहेको विधान मस्यौदा कार्यदलका एक सदस्यका अनुसार पार्टी एकीकरणका लागि जुटाउनुपर्ने धेरै न्यूनतम सहमति नै नजुटेकाले नेताहरूले भनेजस्तो तत्कालै पार्टी एकता घोषणा गर्न समस्या छ ।

के–केमा भयो सहमति ?
१. एमालेको जबज र माओवादी केन्द्रको माओवाद सिद्धान्तलाई महाधिवेशनसम्म थाँती राखेर तत्काल माक्र्सवाद–लेलिनवादलाई मूल सिद्धान्त मान्ने ।

२. पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नेपाल रहने ।

३. महाधिवेशनसम्म दुवै पार्टीका अध्यक्षले पालैपालो पार्टीको अध्यक्षता गर्ने ।

४. १० तहको कमिटी (जिल्लादेखि केन्द्रसम्म)

एमाले–माओवादी पार्टी एकताका लागि आधार तयार गर्न गठित दुवै पार्टीका नेताहरू सम्मिलित कार्यदलले आफ्नो प्रतिवेदनलाई बिहीबारसम्म अन्तिम रूप दिने बताएका छन् । 

माओवादी नेता रामबहादुर थापा नेतृत्वको विधान मस्यौदा कार्यदलको बैठक आज बेलुका बस्ने भएको छ भने माधव नेपाल नेतृत्वको राजनीतिक कार्यदलको बैठक बिहीबार बेलुका बस्ने कार्यदलका सदस्यहरूले बताएका छन् ।

विधान मस्यौदा कार्यदलका सदस्य बेदुराम भुसालका अनुसार विधान मस्यौदा कार्यदलको बैठक बुधबार तीन बजेपछि बस्नसक्ने बताए । ‘नमिलेका धेरै विषयहरूलाई अन्तिम रूप दिन छलफल बाँकी रहेकाले ती विषयहरूमा छलफलपछि सहमति जुटाउनुपर्नेछ र सकेसम्म चाँडै प्रतिवेदनलाई अन्तिम रूप दिइनेछ’, सदस्य बेदुराम भुसालले रातोपाटीलाई बताए । 

त्यस्तै राजनीतिक प्रतिवेदन कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले आफू सदस्य रहेको कार्यदलको बैठक बिहीबार बेलुका ५ बजेदेखि १० बजेसम्म बस्नेगरी मिति र समय निर्धारण भएको बताए । नेता नेम्वाङले गत आइतबारको छलफल अनुसार कार्यदलले बुधबारसम्म टुङ्ग्याउने सहमति भए पनि संयोजक माधवकुमार नेपालको व्यस्तताका कारण आजको बैठक भोलिका लागि सारिएको बताए । 

यसअघि पार्टी एकता आधार तयार गर्न माधवकुमार नेपाल र रामबहादुर थापा बादलको संयोजकत्वमा दुई छुट्टाछुटै कार्यदल गठन भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप