आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
डाक्टर अलपत्र

रारा घुम्न गएका डाक्टरहरु ताल्चा विमानस्थलमा रोकिए, के हो वास्तविकता ?

डाक्टरहरुले अनावश्यक रुपमा बदनाम गर्न खोज्नुभयो : माओवादी नेताहरु
मङ्गलबार, ०९ असोज २०८०, १३ : ५१
मङ्गलबार, ०९ असोज २०८०

सुर्खेत । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज मातृका यादवसहितका नेताहरुका कारण मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज जान लागेका डाक्टरहरु त्यहीँ रोकिएको भन्दै यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

भीआइपीका लागि सिट जरुरी परेको र समिट एयरका म्यानेजरले नै आफूहरुलाई नलैजान भनेको डाक्टरहरुले बताइरहेका छन् ।

चिकित्सकको टोलीमा सहभागी डाक्टर गौरव ढकालका अनुसार डाक्टरको टोली जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्डसम्बन्धी गोष्ठी र अन्तर्क्रियाका लागि गत शुक्रबार जुम्ला पुगेको थियो ।

उक्त टोलीमा डाक्टर विमला पाण्डे, व्यापक पौडेल, सुरज बज्राचार्य, सन्दीप यादव, ज्ञानेन्द्र जोशी, विमला बानियाँ लगायत १६ जना थिए ।

डा. ढकालले रातोपाटीसँग भने, ‘हामी शनिवारको कार्यक्रमका लागि जुम्ला विमानस्थलमा ओर्लिएका थियौँ । मुगुको ताल्चाबाट नेपालगञ्ज, त्यहाँबाट काठमाडौँ जाने हाम्रो प्लान हो । हामीले ४/४ हप्ता अगाडि नै पैसा बुझाएर थियौँ ।’

आज प्लेनमा चढ्दा ‘चार जना पूर्वमन्त्री तथा सांसदहरुलाई लैजानुपर्ने भयो, तपाईंहरु जान पाउनुहुन्न’ भनेर आफूहरुलाई भनिएको उनको भनाइ छ ।

‘हाम्रो त भोलि बिहानै पुगेर बिरामी हेर्नुपर्छ, कि त पहिला नै मिलाउनुपर्थ्यो । हामीलाई प्लेनबाट निकालियो,’ उनले भने ।

शनिवार जुम्लामा कार्यक्रम गरेर डाक्टरहरु राराताल घुम्नका लागि मुगु पुगेका थिए । उक्त जहाजमा चढेर माओवादी केन्द्रका नेता मातृका यादव, कर्णाली सरकारका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, माओवादीका प्रदेश अध्यक्ष विमला केसी, प्रकाशबहादुर शाही, धर्मराज शाही नेपालगञ्ज आए ।

उक्त जहाजमा केही बिरामीसमेत सवार थिए । नेताहरुकै कारण डाक्टरहरु ताल्चामा अड्किएको भनेर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

तर, घटनाको वास्तविकता भने अलि फरक छ । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अनुसार मंगलबार बिहानको सेड्युल फ्लाइट त्यो होइन । माओवादीले थालेको तीन महिने रुपान्तरण अभियान अन्तर्गत माओवादी नेताहरु विगत केही दिनदेखि हिमाली जिल्लामा केन्द्रित थिए ।

शाहीले आफूहरु सोमबार (हिजो) नै नेपालगञ्ज ओर्लिने योजना भए पनि फ्लाइट क्यान्सिल भइसकेपछि समिट एयरको चेयरमेनसँग कुराकानी गरेर सोमबार नै नेपालगञ्ज लगिदिन आग्रह गरेको बताए ।

उनले रातोपाटीसँग भने, ‘तर, जहाज धनगढी गइसकेको थियो । धनगढीबाट ल्याउँदा समय सकिन्छ, मंगलबार बिहानै ७ बजे जसरी पनि नेपालगञ्ज झारिदिन्छु भनेर चेयरमेनले भन्नुभएको थियो ।’

त्यसपछि नेताहरु सोमबार त्यहीँ बसेको उनले सुनाए । सोही अनुसार मंगलबार बिहान ७ बजे जहाज ताल्चा पुग्यो ।

पूर्व मुख्यमन्त्री शाही भन्छन्, ‘डाक्टरहरुको पहिलादेखि नै टिकट काटेको रहेछ । तर, हामी आएको फ्लाइटको लागि होइन । तै पनि हामीले १६ जनामध्ये १५ जना तपाईँहरु आउनु, हामी तीन जना जान्छौँ भनेका थियौँ । तर, उहाँहरु मान्नुभएन, उहाँहरुमा निहुँ खोज्ने कुरा देखियो ।’

सोही क्रममा चिकित्सकहरुले विमानस्थलमै नारा लगाएको पनि उनले सुनाए ।

नेताहरु बसेकै होटलमा सोमबार डाक्टरहरुले कब्जा गरेर बसेको शाही बताउँछन् । ‘हिजै निहुँ खोज्नुभएको थियो उहाँहरुले,’ शाही भन्छन्, ‘हामी बस्ने थाहा पाएपछि त अर्को होटेलमा जानुपर्थ्यो, जानुभएन । हामी बस्ने होटलमै बस्नुभयो । हामीले पनि डाक्टरहरु हुन्, पाहुन हुन् भनेर अर्को होटेलमा बस्यौँ ।’

शाहीले जहाजको विषयमा के भएको थियो भन्नेबारे एयरलाइन्ससँग कुरा गर्नुको साटो आफूहरुको बदनाम गर्ने काम गरेको बताए । ‘हामीले त हिजोदेखि कुरा गरेर जहाज आएको थियो । जसका लागि गएको थियो, उसैलाई ल्याउँछ होला,’ उनले भने, ‘हामीले त्यसमा सुत्केरी महिलालाई समेत ल्याएका थियौँ । अरु बिरामी पनि थिए ।’

डाक्टरहरुले नियतबस आफूहरुको बदनाम गर्न खोजेकाे शाहीले बताए ।

ताल्चा विमानस्थलमा डाक्टरहरुले अभद्र व्यवहार गरेको पनि शाहीले बताए । ‘हामीले पीएसओ झार्ने भनेर १५ जना हिँड भन्दा पनि मानेनन्,’ उनले भने, ‘यतिसम्मकि हामीले तपाईंहरुका लागि अर्को जहाज पठाउँला भन्दा पनि उनीहरुले बदनाम गर्न खोजे ।’

डाक्टरहरुकै लागि भनेर पर्यटन मन्त्री सुदन किराँतीसँग कुराकानी गरेर अर्को जहाज पठाउँदा पनि डाक्टरहरुले पूर्वाग्राही तरिकाले बाहिर प्रचार गरेको माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसी बताउँछिन् ।

अहिले चिकित्सकहरुलाई लिनका लागि नेपाल वायु सेवा निगमको जहाज मुगु गइसकेको छ ।

नेताहरुकै पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले छुटेका डाक्टरहरुलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाएका छन् । तर, डाक्टरहरुले अनावश्यक रुपमा प्रचार गर्न लगाएको माओवादी नेताहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप