चिकित्सक कुटपिट प्रकरण : माओवादी केन्द्र स्वास्थ्य विभाग सदस्य डा. कोइरालाले दिए राजीनामा
मङ्गलबार, ०९ असोज २०८०, १६ : २५
काठमाडौँ । डाक्टर कुटपिटको विषयमा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका केन्द्रीय स्वास्थ्य विभाग सदस्य रहेका डा.दीपक कोइरालाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन् ।
मङ्गलवार एक विज्ञप्ति जारी गर्दै उनले जबसम्म कडा कानुन बन्दैन तबसम्म पार्टीको काममा नफर्किने घोषणा गरेका हुन् ।
डा.कोइरालाले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदासमेत चिकित्सकले पिटाइ खानुपरेको, प्रहरी प्रशासनले उल्टै गुण्डागर्दीमा उत्रिएकालाई जोगाउन खोजेको आरोप लगाएका छन् ।
सोमबार बिना आरोप नेपाल प्रगतिशील चिकित्सक सङ्घ गण्डकीका अध्यक्षलाई एक दिन हिरासतमा राख्नु लज्जास्पद भएको समेत उनको भनाइ छ । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत बिरामीको मृत्यु भएपछि देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।