सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देही उद्योग संघको अधिवेशनको तयारी तीव्र

मङ्गलबार, ०९ असोज २०८०, १९ : ४१
मङ्गलबार, ०९ असोज २०८०

बुटवल । आगामी असोज २९ गते हुन गैरहेको रुपन्देही उद्योग संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशनको तयारी तीव्र रुपमा अगाडि बढिरहेको संघले जनाएको छ । संघको नयाँ नेतृत्वसमेत चयन गर्न निर्वाचन सहितको अधिवेशन भएका कारण आवश्यक तयारीका कामहरु चरणबद्ध रुपमा अगाडि बढाएको संघका महासचिव हरिबहादुर खत्रीले बताए ।

महासचिव खत्रीका अनुसार संघको कार्यसमितिको नियमित बैठकले निर्वाचन सम्पन्न गर्न संघका कानुनी सल्लाहकार यमलाल खनालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । जसको सदस्यमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल र संघका प्रेस सल्लाहकार सुमन अधिकारी रहेका छन् । 

त्यसैगरी, बैठकले अधिवेशन व्यवस्थित रुपमा सम्पन्न गर्न विभिन्न जिम्मेवारी बाँडफाँट गरेको छ । जसअनुसार संघका कार्यसमिति सदस्य कमल ज्ञवाली संयोजक रहेको खाद्यान्न व्यवस्थापन समिति, बल बहादुर गोदार संयोजक रहेको हल तथा मञ्च व्यवस्थापन समिति तथा लालप्रसाद बस्याल संयोजक रहेको किड व्याग व्यवस्थापन समिति गठन गरिएको छ ।

अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, महिला सचिव, सहकोषाध्यक्ष, एसोसिएट सदस्य, आजीवन, महिला र खुल्ला सदस्यसहित ३३ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्नेछ ।

अधिवेशनमा १ हजार १३ सदस्यले भाग लिनेछन् । संघमा हालसम्म नवीकरण भएका साधारण सदस्य ७९७, एसोसिएट सदस्य ६०, संंस्थागत सदस्य ७ र महिला सदस्य ११३ रहेका छन् भने आजीवन सदस्य ३६ रहेका छन् । 

४५ औ साधारणसभा तथा २३ औ अधिवेशन संघको आफ्नै सभाहलमा सम्पन्न हुने संघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप