मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एमालेको कोशी प्रदेश अधिवेशन आज उद्घाटन हुँदै

अध्यक्ष केपी शर्मा ओली विराटनगर आउने
शुक्रबार, १२ असोज २०८०, ०८ : २०
शुक्रबार, १२ असोज २०८०

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेशको पहिलो अधिवेशन आजदेखि विराटनगरमा सुरु हुँदैछ । दुईदिनसम्म चल्ने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । विराटनगरको होटल मनास्लुमा राखिएको अधिवेशनको लागि ९९७ जना प्रतिनिधि निर्वाचित भइसकेका छन् भने त्यसको ५ प्रतिशत अर्थात् ५० जना मनोनयन हुने बताइएको छ । यद्यपि मनोनयन भने अहिलेसम्म भएको छैन । 

अधिवेशनको सबै प्रक्रिया असोज १४ गतेसम्ममा सक्ने तयारी रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले जानकारी दिएका छन् । अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ४७  जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने बताइएको छ । 

यस्तै कोशी प्रदेशमा देखिरहेको पहिचानको मुद्दाको विषयमा पनि अधिवेशनमा छलफल हुने एमाले कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेको भनाइ छ । अधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति,  अनुगमन निर्देशन समिति र १२ वटा उपसमिति बनेका छन् । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्नेछ । 

एमालेले संघीयतापछि पहिलो पटक कोशी प्रदेशको अधिवेशन गर्न लागेको हो । यसलाई सबैले चासोपूर्वक हेरिरहेको प्रचार उपसमिति संयोजक शैलेश लामाले बताए । नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुबिर महासेठले सकेसम्म सर्वसहमत नेतृत्व चयन गर्ने अन्यथा निर्वाचन प्रक्रियाबाट उम्मेदवार चयन गरिने बताए । उनले पार्टी नेतृत्वले कसैलाई लाइन दिने र कसैलाईन नदिने भन्ने नहुने भन्दै उनले प्यानलसहित निर्वाचन लड्न बर्जित गरिएको पनि बताए । 

प्रदेश अध्यक्षका लागि हालसम्म नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल र नेता घनश्याम खतिवडाको प्रतिस्पर्धा हुने अनुमान छ । यद्यपि हालका अध्यक्ष तुलसीप्रसाद न्यौपाने र उपाध्यक्ष टिकाराम चेम्जोङको पनि अध्यक्षको आकांक्षीको नाम चर्चामा छ । यद्यपि अहिलेसम्म पार्टी अध्यक्ष ओलीले कसैलाई बचन नदिएका कारण आकांक्षी नेताहरु ढुक्क हुन सकेका छैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप