मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
एमाले प्रदेश अधिवेशन

कोशी प्रदेश एमालेको खातामा कति बचत ?

आर्थिक वर्ष ०७८/७९ मा नाफामा गएको एमाले गत आर्थिक वर्षमा भने घाटामा
शनिबार, १३ असोज २०८०, १२ : ४२
शनिबार, १३ असोज २०८०

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले आर्थिक वर्ष ०७८/०७९ मा नाफामा गए पनि आर्थिक वर्ष २०७९/०८० मा भने ११ लाख घाटामा गएको छ । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा प्रस्तुत २०८० भदौ २३ गते सम्पन्न लेखापरीक्षण प्रतिवेदनमा गत आर्थिक वर्षमा ११ लाख १६ हजार ६७४ रुपैयाँ घाटामा रहेको उल्लेख छ । 

यद्यपि एमालेको बैंक खातामा अहिले २१ लाख २१ हजार ७९६ रुपैयाँ मौज्दात रहेको छ । आर्थिक वर्ष ०७८/०७९ मा एमालेको आम्दानी ७२ लाख १५ हजार ३११ रुपैयाँ गरेको थियो भने खर्च ३७ लाख २९ हजार ९६२ रुपैयाँ गरेर ३४ लाख ८५ हजार बचत गरेको थियो । आर्थिक वर्ष २०७९/०८० मा भने एमालेको आम्दानी जम्मा ३५ लाख ५० हजार ४५८ रुपैयाँ भयो र खर्च ४६ लाख ६७ हजार १३२ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ । सो आर्थिक वर्षमा आम निर्वाचन भएको थियो । 

लेखापरीक्षण प्रतिवेदनमा एमालेले खर्च बैंकबाटै गरिए पनि कमिटीबाट निर्णय गरेर, कमिटी प्रमुखले भुक्तानी आदेश गरेर वा बैठकबाट खर्च अनुमोदन भने नगरिएको पाइएको उल्लेख छ । एमालेको प्रदेशमा ९५ लाख ४३९ सदस्य रहेको जनाएको छ । एमालेले सदस्यता शुल्कबाट भने जम्मा ८ लाख ३४ हजार ४५८ रुपैयाँ आम्दानी गरेको छ । यस्तै जनप्रतिनिधिबाट लेवीवापत २४ लाख २ हजार, अन्य लेवीबाट ३ लाख १४ हजार आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा चालू आर्थिक वर्षमा एमालेले खर्चतर्फ पारिश्रमिक ६ लाख ५० हजार, स्वदेश तथा स्थानीय भ्रमणमा ६ लाख ३३ हजार, बैठक खर्चमा १ लाख ४१ हजार, अतिथि सत्कारमा १ लाख ९२ हजार, भेला तथा प्रशिक्षणमा ५ लाख २५ हजार खर्च गरेको छ ।

प्रतिवेदनमा भ्रमणको नाममा हवाई भाडामा ठुलो रकम खर्च भएको देखिएकोले को कसलाई के प्रयोजनका लागि हवाई सुविधा उपलब्ध गराउने हो सो सम्बन्धी नीतिगत निर्णय गरेको नदेखिएको उल्लेख छ । यस्तै कमिटीको निर्णय बमोजिम उठ्नुपर्ने कमिटी लेबी, सांसद लेवी, राजनीतिक नियुक्ति लेबी, पार्टी सदस्य लेब उठ्न बाँकी देखिएको प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप