आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठकमा उठ्यो मूल्यवृद्धिको विरोधदेखि डाक्टरमाथिको आक्रमणसम्मका विषय

आइतबार, १४ असोज २०८०, १५ : ४७
आइतबार, १४ असोज २०८०

मकवानपुर । बागमती प्रदेशसभाको आइतबार बसेको बैठकमा सांसदहरुले पछिल्लो समय भएको मूल्यवृद्धिको विरोध जनाएका छन् । आइतबार दिउँसो १ः३० बजे बसेको बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै सांसदहरुले बढ्दो मूल्यवृद्धिका विषयमा विरोध जनाएका हुन् ।

प्रदेशसभा बैठकको शून्य समयमा १५ जना सांसदले आफ्नो धारणा राखेका थिए । शून्य समयमा बोल्ने अधिकांश सांसदले सरकारले मूल्यवृद्धि नियन्त्रणमा ध्यान दिन नसकेको बताएका थिए ।

राप्रपाकी सांसद आशा लामाले सरकारले चाडपर्वको समयमा नागरिकहरुलाई मूल्यवृद्धि उपहार दिएको बताइन् । उनले मूल्यवृद्धिको मारमा जनता परेको विषयमा सरकारलाई जानकारी छ कि छैन भन्दै प्रश्नसमेत गरिन् ।

त्यस्तै राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकारले जनताका समस्या देख्न नसकेको बताए । नागरिकका समस्यालाई उपेक्षा गर्दै सरकार सीमित व्यक्तिको स्वार्थपूर्तिमा लागेको उनको आरोप छ ।

उनले देश अस्तव्यस्त भएको भन्दै अपराधी र भ्रष्टाचारी जोगाउनेतर्फ सरकार अग्रसर रहेको बताए । राष्ट्रपतिले जन्मकैद सजाय भोगिरहेका अपराधीलाई आममाफी दिएको भन्दै उनले विरोध जनाए ।

नेकपा एकीकृत समाजवादीका सांसद वसन्त मानन्धरले पछिल्लो समयमा भएका सबै प्रकारका मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गरे । उनले आयल निगमलाई घाटा पूर्तिमा समस्या भएको भए जनप्रतिनिधिहरुको सेवा सुविधा कटौती गरी सोधभर्ना गरिदिन समेत आग्रह गरे ।

एमालेका सांसद केशव प्रसाद पोखरेलले सरकार नागरिकमैत्री नभएको बताए । उनले सरकार कसको लागि काम गरिरहेको छ भन्दै प्रश्नसमेत गरे । लगातार मूल्यवृद्धि गराएर नागरिकहरुबाट सरकार कमिसन उठाउने धन्दामा लागिरहेको उनको भनाइ छ ।

नेपाली कांग्रेसका सांसद मदुकुमार श्रेष्ठले हालै भएको मूल्यवृद्धि जायज नभएको भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताए । नागरिकहरुको जीविकोपार्जनमा समेत समस्या हुने गरी भएको मूल्यवृद्धि खारेज गर्नुपर्ने उनको भनाइ छ ।

नेमकिपाका सांसद सुरन्द्रराज गोसाईंले सरकारका कारण शिक्षा क्षेत्र अस्तव्यस्त बनेको बताए । शिक्षकहरुलाई आन्दोलनमा उत्रिन बाध्य पार्ने सरकारको काम गलत भएको उनको भनाइ छ । उनले गुणस्तरीय, व्यावहारिक र उन्नत शिक्षाको लागि प्रदेश सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

एमालेका सांसद एकालाल श्रेष्ठले तत्काल संसदीय समितिको सभापतिको निर्वाचन गराउन सरकारसँग माग गरे । उनले प्रदेशसभाको काम कारबाहीलाई व्यवस्थित गर्न संसदीय समितिहरुलाई जिम्मेवार र सक्रिय बनाउन आवश्यक रहेको भन्दै समितिका सभापतिको निर्वाचन गराउन माग गरे ।

बैठकमा एकीकृत समाजवादी पार्टीकी सांसद ओमकुमारी श्रेष्ठले चिकित्सकहरुमाथि भइरहेको सांघातिक आक्रमणको विरोध गरिन् । उनले उपचार गर्ने डाक्टर नै सुरक्षित हुन नसकेको भन्दै सरकारले गम्भीरताका साथ यो विषयलाई अघि बढाउनुपर्ने बताइन् ।

बैठकमा सांसदहरु गीता काफ्ले, भारती पाठक, लक्ष्मी घिमिरे, शकुन्तला देवी श्रेष्ठ, ठुला थामी, रामकुमार पहाडी, शान्ता ढकाल लगायतले धारणा राखेका थिए ।

बैठकमा प्रदेश कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप