आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

होटल व्यवसायलाई उद्योगको सुविधा दिन माग

आइतबार, १४ असोज २०८०, १७ : ३५
आइतबार, १४ असोज २०८०

काठमाडौँ । पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिन माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको उक्त समितिले महासंघका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु बस्नेत लगायतका उद्योगी व्यवसायीहरूले उद्योग मन्त्री रमेश रिजाललाई भेटेर होटल व्यवसायलाई उद्योग सरह सुविधा दिनमा माग गरेको हो ।

‘व्यवसायीले होटल क्षेत्रमा ठुलो पुँजी गानी गरी लाखौँलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यमा ठुलो परिमाणमा विदेशी मुद्रा आर्जन गरी मुलुकको कूल गार्हस्थ्य उत्पादनमा समेत टेवा पुर्‍याएको छ,’ मन्त्री रिजाललाई ज्ञापन पत्र बुझाउँदै समितिका सभापति बस्नेतले भने, ‘तसर्थ यस क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उत्पादनमूलक उद्योग सरह मान्यता दिन आग्रह गरेको छ ।’

यस क्षेत्रलाई औद्योगिक व्यवसाय ऐन २०७६ मा पर्यटनमा मात्र वर्गीकरण नगरी राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गरी उत्पादनमूलक उद्योग सरहको सुविधा दिन उक्त समितिको माग छ । साथै होटल क्षेत्रले पर्यटकिय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै दिगो पर्यटन र हरित पर्यटन सम्बन्धमा होटलको विशेष योगदान हुने बस्नेतले जानकारी दिए ।

साथै सोका लागि होटल व्यवसायका लागि विद्युत्को सहुलियत दर रेट करमा विशेष छुट सहित उद्योग सरहको सुविधा उपलब्ध गराउन उक्त समितिले आग्रह गरेको छ । समितिले होटल व्यवसायमा विदेशी लगानी भित्र्याउन हाल भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ परिमार्जन गर्नुपर्ने माग अघि सारेको छ ।

अहिले ऐनमा व्यवस्था भए अनुसार कूल बिक्रीको ५ प्रतिशत भन्दा बढी रोयल्टी सुल्क बढी नहुने गरी पठाउन पर्ने प्रावधान छ । ‘यो प्रावधानले अन्तर्राष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन देखिन्छ,’ समितिले मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ,‘अन्तर्राष्ट्रिय ब्राण्डका होटलहरुले ५ प्रतिशत भन्दा कम मूल्यमा सञ्चालन नगर्ने भएकाले सो क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिँदैन ।’

होटल व्यवसायमा विदेशी ब्रान्ड र लगानी बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन ऐनमा भएको उक्त प्रावधान तत्काल हटाउनुपर्ने बस्नेतले बताए । उद्योग मन्त्री रमेश रिजालले प्रतिनिधिमण्डलको ज्ञापन पत्रको अध्ययन गर्ने र समस्या समाधानका लागि महत्त्वपूर्ण भूमिका खेल्ने गरी प्रतिवेदन तयार गर्न सचिव र महानिर्देशकलाई अनुरोध पनि गरेका छन् । मन्त्री रिजालसँगको भेटमा पर्यटन तथा हवाई समितिका सल्लाकार तथा सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप