आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस र एमाले वर्ग–शत्रु बन्दा जन्मेको माओवादी सत्ता

सोमबार, १५ असोज २०८०, ०९ : २४
सोमबार, १५ असोज २०८०

नेपालको राजनीतिक इतिहासमा एउटै कालखण्डमा अस्तित्वमा आएका पार्टी हुन् कांग्रेस र एमाले । २००७ सालमा आन्दोलनमार्फत राणा शासनको अन्त्य गर्न, पञ्चायतविरुद्ध अथक् आन्दोलन र २०३६ सालको जनमत सङ्ग्रह गराउन यी दुई पार्टीले महत्त्वपूर्ण योगदान दिए । त्यस्तै पञ्चायतविरुद्ध २०४६ सालमा आन्दोलन गरी प्रजातन्त्रको पुनस्र्थापना गर्न सफल भए । उनीहरूले नै दसवर्षे माओवादी युद्धलाई शान्तिपूर्ण तवरले अवतरण गराए । त्यतिमात्र होइन राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना र जनताको संविधान तर्जुमा गर्नसमेत कांग्रेस र नेकपा एमालेले खेलेको भूमिका महत्त्वपूर्ण र ऐतिहासिक छन् । 

यस्तो गौरवपूर्ण इतिहास बोकेका राजनीतिक पार्टीले पछिल्लो समय भने आफ्नो गौरवपूर्ण इतिहासलाई नै धुलिसात् हुने गरी काम गरिरहेको छन् । यो आश्चर्यजनक मात्र नभई नेपाल र नेपालीका लागि घातक सिद्ध हुँदै गएको छ । कांग्रेस र एमालेले गरेका गल्तीको सन्दर्भमा दुईवटा कुरा चर्चा विशेष गरी आउँछन् । 

पहिलो गल्ती नेपाली कांग्रेस र नेकपा एमालेले एकअर्कालाई परम वर्ग–शत्रु ठान्नु हो । दोस्रो गल्ती उदण्ड र विषाक्त चरित्र बोकेको माओवादीलाई परम मित्र ठान्नु हो । 

२०७४ को निर्वाचनलाई लक्षित गरेर एमालेको नेतृत्वले माओवादीसँग गठबन्धन गरेपछि यो गल्तीको शृङ्खला सुरु भएको थियो । शक्तिशाली सरकारको आशामा एमाले नेतृत्वले सर्पलाई विष पिलाउने कार्य गरेको थियो । त्यसको परिणाम नेकपा एमाले त तीन वर्षमा नै प्राप्त गर्‍यो । एकातिर करिब दुई तिहाईको सरकारले अदालतको परमादेशबाट सत्ताच्युत हुनुपर्‍यो भने । साङ्गठानिक रूपमा बलियो भनिएको पार्टी नै विभाजित हुन पुग्यो । यति हुँदा हुँदै पनि एमाले नेतृत्वको चेत खुलेको रहेनछ । २०७९ को चुनावी परिणाम पछि संसद्को तेस्रो तर निकै कम (आफ्नोभन्दा करिब एकतिहाइ मात्र सांसद सङ्ख्या) भएको माओवादीलाई काँध हाली पुन सत्तामा पुर्‍यायो । एमालेले प्रचण्ड जत्थालाई यसरी काँध हाल्नुको पछाडि केवल सत्ता स्वार्थभन्दा केही थिएन । देशको हित गौण थियो भन्ने कुरा पुष्टि भइसकेको छ । यो सत्ता स्वार्थको परिणाम पूर्णत घातक सिद्ध भएको महसुस एमालेले पनि गरेको नै हुनु पर्छ ।

त्यसैगरी नेपाली कांग्रेसले पनि सत्ता स्वार्थ र एमालेलाई ठेगान लगाउने रणनीति अनुरूप प्रचण्ड जत्थालाई काँध हालि नै रहेको छ । सिद्धान्त र वैचारिक दृटिकोणबाट पनि यो गठबन्धन अप्राकृतिक हो । यसले देशमा शान्ति, स्थिरता र समृद्धि हासिल हुन सक्दैन भन्नेमा आम राजनीतिक विश्लेषक एक मत छन् । पछिल्लो समयमा प्रचण्डले सुरुवात गरेको कांग्रेसको माओवादीकरणले त झन् कांग्रेसको आजसम्मको ऐतिहासिक छविलाई नै धुमिल बनाउने निश्चित छ । प्रचण्डले पछिल्लो समयमा सार्वजनिक मञ्चबाट ‘युद्ध कालमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पनि ब्यारेक आक्रमणका लागि अनुरोध गर्ने गरेको’ भनी नेपाली कांग्रेसको संलग्नता रहेको भ्रम सिर्जना गर्न खोजेका छन् । उनले मृत्यु भइसकेको नेताको नाम लिएर आफूले गरेको युद्ध अपराधको भारी कांग्रेसलाई पनि बोकाउन खोजेका छन् । तर प्रचण्डको यो कुटिल चाललाई स्वयं कांग्रेसले नै समर्थन गरेको जस्तो देखिन्छ । किनभने कसैले खण्डन गरेको देखिँदैन । केवल सरकारमा रहनका लागि माओवादीले गरेका यी तमाम अपराधको भारी बोक्न कांग्रेसलाई केले बाध्य बनाएको हो ? केवल सत्ता स्वार्थ र एमालेलाई ठेगान लगाउनका लागि मात्र यो भारी कांग्रेसले बोकेको हो भने ठूलो गल्ती हो । यसलाई कांग्रेसले बेलैमा सच्याउनु आवश्यक छ । 

अतः कांग्रेस र नेकपा एमालेले एकअर्कालाई परम शत्रु ठान्ने गल्तीलाई सच्च्याएर नयाँ ढङ्गबाट संवाद गरी नवीन सहकार्यका थालनी गर्नु आजको आवश्यकता हो । यसबाट देशले तत्काल कम्तीमा पनि दुईवटा लाभ प्राप्त गर्दछ । एउटा आगामी चार वर्षका लागि स्थिर र मजबुत सरकार प्राप्त हुन्छ । अर्काे राजनीतिक अस्थिरताको जगमा च्याउ जस्तै उम्रिएका र उम्रिन लागेका पपुलिस्टहरूको चुरिफुरीमा कमी आउँछ । 

प्रचण्ड किन सच्चिन सक्दैनन् ?

कांग्रेस र एमालेलाई सच्चिन आग्रह गर्दै गर्दा प्रचण्ड पनि सच्चिए त हुन्छ नि भन्ने लाग्न सक्छ । तर खराब चरित्रका कारण उनी सच्चिनेभन्दा अरूलाई पनि आफूजस्तै बनाउन उद्यत छन् । उनी आफैँले ‘आफूले जहाँ हात हाल्यो त्यहाँ फुट र विध्वंस भइहाल्ने’ भनी दिएको अभिव्यक्ति आज पनि मिडियामा सुनिन्छ । अब त प्रचण्ड समय सीमाका कारण पनि सच्चिन सक्दैनन् । किनभने आजसम्मको अभ्यासबाट उनको मानसिक अवस्था जुन रूपमा तयार भएको छ त्यो परिवर्तन हुन सम्भव छैन । तसर्थ उनको जीवनकालमा उनी सच्चिने आधार छैन नै । 

कांग्रेस र एमाले कसरी सच्चिने ?

कांग्रेस र एमालेका नेताहरूले आजसम्मका राजनीतिक परिवर्तनमा एकअर्काको भूमिकालाई इमानदार समीक्षा गरे भने मात्र पनि आधा काम सप्रिन्छ । त्यसपछिको मुख्य काम कांग्रेस र एमालेको राजनीतिक सहकार्य हो, तत्काल देशलाई स्थिर र बलियो सरकार दिनु हो । कतिलाई कांग्रेस र एमालेको साझा सरकार बन्नु अनौठो लाग्न सक्छ । तर अहिले चलिरहेको कमजोर र बेकामे सरकारभन्दा धेरै हदसम्म नेपाली कांग्रेस र नेकपा एमालेको साझा सरकार ठीक हो । तर साझा सरकार बनाउने सन्दर्भमा एउटा साझा धारणा निर्माण गरी देशमा शान्ति, स्थिरता र समृद्धिलाई पहिलो प्राथमिकतामा राखी राजनीतिक प्रतिष्पर्धालाई गौण बनाइनु आवश्यक छ । 

कांग्रेस र एमालेको राजनीतिक सहकार्य किन पनि आवश्यक छ भने यसले केन्द्रमा मात्र नभई प्रदेशमा पनि बाँकी चार वर्षका लागि बलियो र स्थायी सरकार दिन्छ । यसरी कांग्रेस र एमालेको राजनीतिक सहकार्य हुँदै गर्दा निम्न कुरालाई प्राथमिकतामा राख्नु जरुरी छ ।

–संविधान कार्यान्वयनका लागि आवश्यक कानुन तर्जुमाका लागि प्रतिपक्ष, नागरिक समाज र आम जनतालाई समेत विश्वासमा लिएर आवश्यक कदम चाल्ने ।

–स्थानीय र प्रदेश सरकारलाई मजबुत र अधिकार सम्पन्न बनाउँदै केन्द्रीय हस्तक्षेपलाई हटाउने ।

–अर्थतन्त्रको संरचनात्मक सुधारका लागि विज्ञ समूह तयारी गरी नेपालको सर्वाङ्गीण विकासका लागि मौलिक मोडल तयार गर्ने र कार्यान्वयनका लागि इमानदार प्रयास गर्ने ।

यसरी देशको सर्वाङ्गीण हितलाई प्राथमिकतामा राखी कांग्रेस र एमाले सच्चिएर राजनीतिक सहकार्य गर्न तयार हुनुलाई कसैले पनि अचम्म मान्नुपर्दैन । किनभने यो सहकार्यले नेपालको अस्तित्व रक्षा गर्दै विकासको लक्ष्य हासिल गर्न भूमिका खेल्दा आम नेपालीलाई फाइदा पुग्छ । हुन सक्छ यस प्रक्रियामा कांग्रेस र एमाले भित्रै र बाहिरका केही राजनीतिक व्यक्तिलाई अपेक्षित लाभ नहुन सक्छ । तर समग्र देशले दीर्घकालीन लाभ प्राप्त गर्ने अवस्था रहन्छ ।

हुन त पुराना राजनीतिक दलका कारण सिर्जना भएको वितृष्णा स्वरूप रविको घण्टी पनि बजिरहेकै छ । धेरैलाई अबको विकल्प भनेको रविको घण्टी मात्र हो भन्ने पनि लागेको छ । तर रवि स्वयं नै राजनीतिमा नयाँ भएकाले सिक्दै गर्दै जाने रणनीतिमा छन् । यसरी रविले सिक्दै जाँदा देशले परिवर्तनको महसुस गर्न धेरै समय लाग्ने देखिन्छ । 

आजको युगमा समय नै सम्पत्ति हो । यहाँ कांग्रेस र एमाले सच्चिँदा मात्र नेपालले ठोस परिवर्तनको महसुस गर्न खासै समय लाग्दैन । तसर्थ पनि कांग्रेस र नेकपा एमाले सच्चिनै पर्दछ । यो तथ्यलाई सम्बद्ध नेताहरूले आफ्नो अहम्को परिधिभन्दा बाहिर निस्केर जति छिटो महसुस गर्दछन् त्यति नै छिटो नेपालमा नवीन परिवर्तनको युग सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरिहर बजगाईं
हरिहर बजगाईं
लेखकबाट थप