आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साउदी अरब पुगेका म्यानपावर सञ्चालक सम्पर्कविहीन

सोमबार, १५ असोज २०८०, ११ : ३४
सोमबार, १५ असोज २०८०

काठमाडौँ । नेपालीहरूले भोग्दै आएको समस्या समाधान गर्न साउदी पुगेका एक म्यानपावर व्यवसायी सम्पर्कविहीन बनेका छन् । सेप्टेम्बर १९ मा साउदी पुगेका फ्रेन्डशिप इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिसेसका सञ्चालक वीरेन्द्र शाह सम्पर्कविहीन बनेका हुन् । 

साउदीको  रियादस्थित फारिस अल रीम कम्पनीमा काम गर्न भनी गएका नेपालीहरूले तलब तथा खान बस्न समेत नदिएको भन्दै गुनासो गरेका थिए । त्यसपछि समस्या समाधानका लागि सञ्चालक शाह आफैँ साउदी पुगेका थिए । तर, हालसम्म सम्पर्कमा नआएका हुन् । 

यो विषयमा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मन्चले सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चका महासचिव कुन्छा दोर्जे डिम्दोङ्गले प्रधानमन्त्री कार्यालयमा उनको खोजीका लागि पहल गरिदिनु अनुरोध गरिएको बताए । 

यो विषयमा साउदीस्थित नेपाली दूतावाससँग समेत सम्पर्क गरिएको छ । तर, दूतावासले समेत ठोस जवाफ दिन नसकेको उनको भनाई छ ।

उनको कम्पनीमा मार्फत कामका लागि गएका नेपालीहरूलाई एउटै कोठामा बन्द गरेर राखेको थियो । त्यही क्रममा उनीहरूले भिडियो बनाएर आफूहरू समस्या समाधान गर्न आएका शाहलाई ४÷५ जनाको समूहमा आएका व्यक्तिहरूले हातपात गरेर लगेको बताएका थिए ।  

‘वीरेन्द्र सर हाम्रो कोठामा आउनुभयो । हामीले भोगिरहेको समस्या समाधान गर्नको लागि यता आउनुभयो । केही व्यक्ति आएर हातपात गरेर लगेर गए । कहाँ लगे ? किन लगे हामीलाई केही जानकारी भएन ?’ भिडियोमा बोल्ने नेपाली कामदारहरूले भनेका छन् । 

दूतावासका अनुसार आवश्यक सोधपुछको लागि भन्दै साउदी प्रहरीले नियन्त्रणमा लिएको छ । यो विषयमा दूतावासले थप बुझ्ने काम गरिरहेको छ । 

शाहका परिवारले भने विभिन्न केस लगाएर शाहलाई फसाउने भन्दै साउदीको कम्पनी नै लागेको आरोप लगाएका छन् । त्यसैले उनीहरूले सरकारसँग उनको खोजी कार्य गरी नेपाल फर्काइदिन अनुरोध गर्दै आएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप