आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले सांसद थपलियाले तेर्स्याए मुख्यमन्त्री जम्कट्टेललाई प्रश्नको चाङ

सोमबार, १५ असोज २०८०, १९ : ११
सोमबार, १५ असोज २०८०

हेटौंडा । बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता सांसद जगन्नाथ थपलियाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विदेश भ्रमणमा परराष्ट्र सम्बन्ध र नेपाली स्वाभिमान उच्च राख्न नसकेको बताएका छन् । 

सोमबार बसेको प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै नेता थपलियाले प्रधानमन्त्री प्रचण्डले देश र नागरिकको शिर उच्च राख्ने गरी काम कारबाही गर्न नसकेको आरोप लगाए । 

यसैबीच, प्रदेशसभा बैठकमा सांसद थपलियाले मुख्यमन्त्री शालिकराम जम्कट्टेल र विभागीय मन्त्रीहरुलाई प्रश्नको चाङ तेर्स्याएका छन् ।

नेता थपलियाका प्रश्नका चाङ

–सरकारले भाषणमा चालु खर्च घटाउने भन्ने तर तलब, भत्ता, गाडीको इन्धन, क्वार्टर, घर भाडामा मात्र किन बढी बजेट खर्च भयो ? विकास निर्माणमा किन भएन ?

–चालु आर्थिक वर्ष २०८०/०८१  को पहिलो त्रैमासिकमा सरकारको पुँजीगत खर्च जम्मा बजेटको ०.७७ प्रतिशत र जम्मा कुल खर्च १.२२ प्रतिशत मात्र छ । यो भन्दा शर्मनाक विषय के हुन सक्दछ ?

–नयाँ फुटाएर बनाइएका मन्त्रालयमा ७/७ जना सहयोगी कर्मचारी र ड्राईभरको करारबाट भर्ना गर्ने गरी कर्मचारी थपिएको छ । प्राविधिक कर्मचारीको संख्या कटौती गर्ने मुख्यमन्त्रीज्यूले आफ्ना सबै कार्यकर्तालाई सहयोगी कर्मचारी र ड्राईभर बनाउन लाग्नु भएको हो ?

–२ अर्ब रुपैयाँ बजेट राखिएको पर्यटन मन्त्रालयमा गेम चेन्जिङ प्रदेश महत्वको एउटा पनि आयोजना छैनन् । प्रदेश राजधानीमा पर्यटक घुम्ने ठाउँ कहाँ हो ? सरकारको योजना के छ ? 

–परम्परागत जात्रा, पूजा काठमाडौँ उपत्यकामा मात्र किन मनाइन्छ ? बागमती प्रदेशमा काठमाडौँ उपत्यका बाहिर रहेका तामाङ, नेवार, चेपाङ, थारू, मगर, गुरुङ, जिरेल, क्षेत्री, ब्राह्मण थामी आदि समुदायमा हुने जात्रा पूजाको लागि के व्यवस्था छ ?

–सरकारले बनाएका पर्यटकीय पार्कहरुमा झार उम्रिएर पार्क जंगलमा रुपान्तरण भएका छन् । पार्कहरुको व्यवस्थापन कसले गर्छ ? 

–नयाँ उद्यमी, रोजगारीको सिर्जना, नवप्रवर्द्धनको कार्यक्रम कहाँ छ ? के के गरिदैछ ?

–सरकारले अध्यादेशहरु फटाफट ल्याउन सक्ने तर संसद्ले बनाएका ऐनको पूर्ण कार्यान्वयनको लागि नियमावलीहरु किन आएनन् ? संसदमा विधेयकहरु खोइ, संसदलाई विजनेश खोइ ?

–एक स्थानीय तह, एक उद्योग ग्राम कहाँ कहाँ बन्यो ? कति वटा उद्योग स्थापना भए ?

–समस्याग्रस्त सहकारीहरुको व्यवस्थापनको लागि प्रदेश सरकारले समिति बनाउने भन्ने सुनिएको थियो, के भयो ?

–चाडबाड नजिकिँदै जाँदा हुने कालाबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको तयारी के छ ? सरकारले मूल्य नियन्त्रणको लागि के योजना बनाएको छ ?

–वन मन्त्रालयको काम कर्मचारीलाई तलब भत्ता खुवाउने मात्र हो कि काठ उत्पादन गरी बजारमा ल्याउने पनि हो ? बजारमा स्वदेशी काठ खोइ ? बजारमा किन आयातित फर्निचर मात्र छ ?

–गृहिणी महिला कार्यक्रम भनेर बजेट विनियोजन भएको थियो, त्यसको कार्यान्वयन कार्यविधि खोइ ?

–अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा पुनःस्थापना कार्यक्रमबाट हेटौंडा उपमहानगरपालिका–६ मा बनाइएको भवनमा प्रदेशको शिक्षा निर्देशनालयको कार्यालय राखिएको रहेछ । किन त्यसो गरियो ? उद्देश्यअनुरुप किन गरिएन ? 

–काभ्रेमा बनेको दीर्घकालीन बाल संरक्षण गृह कहिलेदेखि संचालनमा आउने हो । या त्यहाँ पनि कुन कार्यालय राख्ने तयारी छ ?

–कृषि मन्त्रालयमार्फत् वितरण गर्ने अनुदानहरुको कार्यविधि र अनुदान वितरणको आवेदन गर्ने सूचना किन प्रकाशित भएको छैन ?

–स्वास्थ्य मन्त्रालय अन्तरगत कार्यरत करारका स्वास्थ्य प्राविधिक कर्मचारी हटाई पुनः सोही संख्यामा करारमा कर्मचारी राख्न सूचना जारी भयो । यो बीचमा स्वास्थ्य जस्तो जनताको स्वास्थ्यसँग सम्बन्धित संवेदनशील क्षेत्रमा कसरी काम भयो ? किन लापरबाही गरियो ?

–प्रदेश सभाको समिति भनेको मिनी संसद् हो । तदर्थरुपमा समिति कहिलेसम्म चलाउने ?

संघीय सरकारका कर्मचारीलाई काजमा काम गर्न ल्याएर कार्यालय प्रमुख दिइएको छ । तर, प्रदेशका कर्मचारीलाई जिम्मेवारीविहीन बनाइएको छ । सरकारलाई आफ्नै कर्मचारीको कार्यक्षमता र विश्वसनीयता कम भएको हो ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप