आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा सूचना टाँस गरेर स्थगित

सोमबार, १५ असोज २०८०, १९ : १७
सोमबार, १५ असोज २०८०

हेटौंडा । बागमती प्रदेशसभाको बैठक मंगलबार २ बजेसम्मका लागि स्थगित गरिएको छ । बागमती प्रदेशसभा सचिवालय हेटौंडाले सूचना टाँस गरेर मंगलबार २ बजेसम्मका लागि संसद् स्थगित गरिएको हो ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा सरकारले ल्याएको प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध जनाएसँगै प्रदेशसभा बैठक स्थगित गरिएको थियो । एमालेको विरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः बस्न सकेन । बैठक बस्न सक्ने अवस्था नबनेपछि सभामुख भुवनकुमार पाठकले मंगलबार २ बजेसम्मका लागि बैठक सार्ने निर्णय गरेका थिए ।

उनको निर्देशन अनुसार सचिवालयले सूचना टाँस गरी मंगलबार २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए । उनका अनुसार मंगलबारको बैठकमा पनि सोही विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

सोमबार दिउँसो बसेको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा एमालेका सांसदहरुले विरोध गरेका थिए । उनीहरुले तत्काल सो विधेयक अघि बढाउन प्रक्रियागत रुपमा विधेयक संसदमा ल्याउनु पर्ने भन्दै विरोध गरेका थिए ।

एमालेको विरोधका बीच मन्त्री लामाले सो विधेयक पेश गरेपछि सांसद र मर्यादापालकहरु बीच घम्साघम्सीको स्थिति बनेको थियो । संसदको अवस्था असहज बनेपछि सभामुख पाठकले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । बैठक स्थगित भएपछि संसद् बैठक सञ्चालन गर्ने अवस्था बन्न सकेन र मंगलबार २ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

गत वैशाख १२ गते संसदबाट पास गरिएको उक्त विधेयक प्रदेश प्रमुख कार्यालयबाट फिर्ता भएको थियो । संसदबाट पारित भइ प्रमाणीकरणका लागि प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष पेश भएको उक्त विधेयक जेठ ७ गते पुनः संसदमा फिर्ता भएको थियो । प्रदेश प्रमुख शर्माले विधेयकमा भएका त्रुटिहरू सच्याउन सुझाव सहित पुनः छलफलका लागि संसदमा फिर्ता पठाएका थिए ।

सोही फिर्ता भएको चिठ्ठा विधेयक सरकारले एकाएक सोमबारको बैठकमा पेश गर्ने तयारी गरेको थियो । सो विषयमा एमालेले विरोध गर्दै प्रक्रियागत रुपमा प्रदेश प्रमुखको सुझाव सहित विधेयक संसदमा पेश गर्न आग्रह गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप