आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विधेयकको विरोधमा बागमती प्रदेशसभा स्थगित

मङ्गलबार, १६ असोज २०८०, २० : ३८
मङ्गलबार, १६ असोज २०८०

मकवानपुर । बागमती प्रदेशसभा बैठक स्थगित गरिएको छ । विवादित विधेयक पेस गर्ने तयारी भएपछि मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो ।

प्रदेश सरकारले विवादित चिट्ठा विधेयक संसदमा पेस गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदनमा रोक्ने चेतावनी दिएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित गरेको हो ।

सचिवालयका अनुसार मंगलबार २ बजेका लागि बोलाइएको बैठकमा विवादित चिट्ठा विधेयक पेस गर्ने कार्यसूची रहेको र उक्त विधेयकमा दलहरु बिच विवाद रहेकाले संसद् बैठक सूचना टाँस गरेर बुधबार अपराह्न ४ बजे सम्मका लागि स्थगित गरिएको हो ।

संसदमा अन्य कुनै विधेयक नभएपछि मंगलबारको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालय हेटौंडाका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।

सो विधेयकमा विवाद हुँदा हालसम्म ३ पटक प्रदेशसभा बैठक प्रभावित बनेको छ । गत सोमबार २ बजेको बैठकमा उक्त विधेयक पेस गर्ने तयारी भएकोमा एमालेका सांसदहरुले विरोध जनाएका थिए । गत वैशाख १२ गते संसदमा पेस गरी छलफलबाट पारित भइसकेको उक्त विधेयक प्रदेश प्रमुख कार्यालयबाट फिर्ता भएको थियो । सोही विधेयक पुनः संसदमा पेस गर्ने तयारी सरकारले गरेपछि एमालेका सांसदहरु विरोधमा उत्रिएका थिए ।

सो विधेयक गत वैशाख १२ गते संसदमा पेस गरी नियम निलम्बन गर्दै सोही दिन पारित गरिएको थियो । विधेयकमा त्रुटि भेटिएकाले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पुनर्विचारका लागि विधेयक फिर्ता भएको थियो । प्रदेश प्रमुख शर्माले जेठ ७ मा सो विधेयक पुनर्विचारका लागि फिर्ता गरेका थिए ।

सोमबार बसेको प्रदेशसभा बैठकमा सो विधेयकलाई लिएर विरोधमा उत्रिएका एमालेका सांसद र मर्यादापालक बिच घम्साघम्सीको स्थिति बनेको थियो । प्रदेशसभाको स्थिति असहज बनेपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक त्यसयता बस्न सकेको छैन । 

एमालेले प्रक्रियागत रुपमा सो विधेयक ल्याउन माग गर्दै विरोध गरिरहेको छ भने सरकार संसदमा छलफल भइसकेकाले पुनः सोझै बैठकमा पेस गर्ने तयारीमा लागेको छ । एमालेले विधेयकमा भएका कमीकमजोरी सच्याउन प्रदेश प्रमुखले दिएका सुझावसहित विधेयक ल्याउन माग गरेको छ ।

प्रक्रिया मिचेर विधेयक ल्याएको खण्डमा प्रदेशसभा बैठकमा पेस गर्न नदिने एमालेको तयारी छ ।

बुधबारका लागि भने सचिवालयले सो विधेयक कार्यसूचीबाट हटाएको छ । बुधबार ४ बजे बस्ने बैठकमा प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरी समितिमा पठाउने कार्यसूची रहेको सचिवालयका प्रवक्ता गुप्ताले बताए । असोज १४ गते संसदमा पेस भइ सैद्धान्तिक छलफल भएको भएकाले उक्त विधेयकलाई समितिमा पठाउने तयारी रहेको उनले बताए ।

उनका अनुसार संसदमा पेस भइ छलफल भएको कुनै पनि विधेयक ७२ घण्टासम्म समितिमा पठाउन नपाइने व्यवस्था छ । सोही अनुसार बुधबार ४ बजेका लागि बैठक बोलाइएको हो ।

२ वटा संसदीय समितिको बैठक

प्रदेशसभा बैठक बस्न नसकेको अवस्थामा मंगलबार २ वटा समितिको बैठक सञ्चालन भएका छन् । प्रदेश मामिला समिति र शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठक मंगलबार सञ्चालन भएको हो ।

ज्येष्ठ सदस्य शिवराज अधिकारीको अध्यक्षतामा बसेको प्रदेश मामिला समितिको बैठकले समितिको कार्यविधिका विषयमा छलफल गरेको छ । समितिका सभापति अधिकारीले मंगलबारको बैठकमा समितिको कार्यविधिका सम्बन्धमा छलफल गरेको जानकारी दिए । उनले समितिको बैठक केही दिनमा पुनः बसेर कार्यविधि पास गर्ने बताए ।

यस्तै मंगलबार शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठक पनि बसेको छ । बैठक समितिकी ज्येष्ठ सदस्य मिना पराजुली पोखरेलको अध्यक्षतामा बसेको हो । बैठकले समितिको कार्यविधि पास गरेको अध्यक्ष पोखरेलले जानकारी दिइन् ।

समितिको बैठकमा प्रदेशसभाबाट दफावार छलफलका लागि समितिमा आएको प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सामान्य छलफल भएको अध्यक्ष पोखरेलले बताइन् । उक्त विधेयकमाथिको थप छलफल अर्को बैठकमा गर्ने र विधेयकमाथि परेका संशोधनहरुमा समेत छलफल गरी पारित गरिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप